• १४ वैशाख २०८१, शुक्रबार

केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड वैशाखमा

blog

काठमाडौं, चैत ८ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा केन्द्रस्तरीय १३औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता वैशाख ७ देखि ९ गतेसम्म हुने भएको छ ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुको प्रतिस्पर्धा हुनेछ । सातै प्रदेशबाट जम्मा ६ सय ५८ खेलाडीको सहभागिता रहने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले जानकारी दिनुभयो ।  

एथलेटिक्समा १ सय ५४, भलिबल र कबड्डीमा समान १ सय २६ तथा कराते, तेक्वान्दो र उसुमा समान ८४ खेलाडीले भाग लिनेछन् । प्रतियोगितामा जम्मा ५२ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

एथलेटिक्समा २६, भलिबल र कबड्डीमा २, कराते र तेक्वान्दोमा ८ तथा उसुमा ६ स्वर्णका लागि भिडन्त हुनेछ । व्यक्तिगत, समूहगत, शीर्ष तीन स्थान हात पार्ने टिम र राष्ट्रिय कीर्तिमान गरी प्रतियोगिताको कुल पुरस्कार राशि ९ लाख ८५ हजार रुपियाँ रहेको छ ।

एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला, भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, कराते सातदोबाटोस्थित कराते हल, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा खेलाइने छ । ७ सय ५३ स्थानीय तह, जिल्ला र प्रदेश हुँदै केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड हुनेछ ।

प्रतियोगिताको हरेक खेलबाट उत्कृष्ट खेलाडी छनोट गरी विशेष प्रशिक्षणमा राखिने प्रमुख शर्माले जानकारी दिनुभयो । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न राखेपका सदस्य सचिव टंकलाल घिसिङको संयोजकत्वमा ११ सदस्यीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना तथा व्यवस्थापन समिति गठन गरिएको छ ।