• १४ वैशाख २०८१, शुक्रबार

करण र सुवास गृह जिल्ला बागलुङमा सम्मानित

blog

क्रिकेट खेलाडी करण केसी र सुवास भण्डारीलाई सम्मान गर्दै बागलुङ नगरपालिका । नवीन शिशिर विक

नवीन शिशिर विक

बागलुङ, चैत्र ८ गते । क्रिकेटर करण केसी र सुवास भण्डारी गृह जिल्ला बागलुङमा सम्मानित हुनुभएका छन् । बागलुङ नगरपालिकाले बुधबार राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण र यू–१९ टोलीका सदस्य सुवासलाई सम्मानित गरेको हो ।

नगरपालिकाले नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने करणलाई १ लाख रुपियाँ नगद र यू–१९ टोलीलाई विश्वकपमा पुर्‍याउने सुवासलाई ५० हजार रुपियाँ नगदसहित सम्मानित गरेको हो  । 

खेलाडीलाई सम्मान गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले खेलकुदको विकासमा नगरपालिका सधैँ लाग्ने बताउनुभयो । उहाँले नयाँ खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने र पूर्वाधार बनाउन प्रतिबद्ध रहेको बताउनुभयो । 

यस्तै, खेलाडी सम्मान कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी सांसद दिलमाया पौबीले खेलाडी राष्ट्रका गहना भएकाले उनीहरूको जीवन निर्वाहका लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

सम्मानित भएपछि बोल्दै क्रिकेट खेलाडी करणले गृह जिल्लामा सम्मानित हुँदा थप हौसला बढेको बताउनुभयो । उहाँले सम्मानले जिम्मेवारी थप बढेको बताउँदै त्यसलाई खेलकुदमा रूपान्तरण गर्ने बताउनुभयो । उहाँले आफूमाथि दर्शक र शुभचिन्तकले गरेको आशा र भरोसा तोड्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

करणको घर बागलुङ नगरपालिका–८ सिगाना हो भने सुवासको काठेखोला गाउँपालिका–१ पाला हो ।