• १५ वैशाख २०८१, शनिबार

लोकतन्त्रको दीर्घजीवनप्रति भरोसा

blog

घटना १८ असोज २०५८ को हो। तत्कालीन राजा ज्ञानेन्द्रले तत्कालीन निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन गराउन नसकेको बहानामा अपदस्थ गर्ने निर्णय गरेका थिए। पङ्क्तिकार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा कार्यरत थियो। त्यो दिन सम्पादकसमेत नभएकाले समाचारको अन्तिम निर्णयकर्ताका हैसियतले जिम्मेवार भएर समाचार लेख्नुपर्ने र छनोट गर्नुपर्ने दायित्व पनि थियो। राजाले निर्वाचित प्रधानमन्त्रीलाई संविधानविपरीत अपदस्थ गरेका कारण प्रजातन्त्रमाथि नै आक्रमण भएकाले प्रेस स्वतन्त्रतासमेत हनन् हुनेमा पङ्क्तिकारलाई कुनै सन्देह थिएन। त्यही भएर सबै सहकर्मीलाई जम्मा गराएर परिस्थितिबारे अवगत गराउँंदै कडा समाचार लेखेर भोलिपल्ट पक्राउ हुनुपरे पनि तयार रहन परामर्श गरियो। यो अवस्थामा नेताहरूसँगको सम्बन्धमा पत्रकारको व्यावसायिकता खोज्नुभन्दा प्रजातन्त्र प्रजातन्त्रवादी नेता र पत्रकारको समान स्वार्थको विषय भएकाले उनीहरूसँंग पनि परामर्श गर्नु कर्तव्य ठानेर नेपाली कांग्रेस र एमालेका अधिकांश शीर्ष नेतासँग सम्पर्क गरेको थिएँ– अब कसरी अगाडि बढ्ने भनेर। सबैको निष्कर्ष राजाले आफूमध्येको दलबाटै प्रधानमन्त्री बनाउने भएकाले अत्तालिनुपर्ने अवस्था नभएको बताएका थिए। रामचन्द्र पौडेलमात्र एउटा यस्ता नेता हुनुहुन्थ्यो, जसले राजाको उक्त कदमको सबैभन्दा कडा शब्दमा निन्दा गर्नुभयो। 

उहाँले भन्नुभएको थियो, “निर्वाचित प्रधानमन्त्री अपदस्थ गर्ने राजाको यो निर्णय प्रजातन्त्रमाथिको ‘कु’ हो। राजाले संविधान मिचेर प्रजातन्त्रमाथि प्रहार गरेका छन्। म यसको कडा निन्दा गर्दछु।” उहाँको राजाप्रतिको त्यसबेलाको यो आक्रोशपूर्ण प्रतिक्रियापछि पङ्क्तिकारले अन्य नेताको धारणाबारे बुझाउने प्रयत्न गरेको थियो। पौडेलले नेताहरूले राजाको खेल नबुझेको र सत्ताको मोहमा अलमलिएको टिप्पणी गर्दै भन्नुभएको थियो, “यो शेरबहादुरलाई हटाएको होइन। उहाँहरू शेरबहादुरलाई हटाएको भन्नेमा भ्रममा हुनुहुन्छ तर राजाले शेरबहादुर होइन जनताले निर्वाचित गरेको प्रधानमन्त्री हटाएको हो।” नेपाली कांग्रेस विभाजित भएर नेपाली कांग्रेस प्रजातान्त्रिक गठनका बेला पौडेल प्रजातान्त्रिकमा नगएका कारण सम्भवतः सबैभन्दा बढी तिक्तता देउवा र पौडेलबीच थियो। देउवालाई अपदस्थ गर्ने निर्णयको विरुद्ध सबैभन्दा कडा आवाज बुलन्द गर्ने तीनै पौडेल आज देउवा पार्टीको नेतृत्वमा भएका बेला मुलुकको राष्ट्र प्रमुखको जिम्मेवारीमा पुग्नुभएको छ। पौडेल अत्यधिक बहुमतसहित तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ। निरङ्कुश पञ्चायतविरुद्ध र लोकतन्त्रका लागि वर्षौं जेल जीवन, सङ्घर्ष र यातना सहने पौडेल मात्र होइन अन्य नेता पनि छन्। तर तीमध्ये धेरै नेता सत्ताको फोहरी खेलमा कहीँ न कहीँ दुषित भएको तितो यथार्थ छ। सत्ता राजनीतिको फोहोरी खेलबाट जोगिएर लोकतन्त्रका पक्षमा आफूलाई निष्कन्टक रूपमा सग्लो उभ्याउने थोरै नेतामध्ये एक हुनुहुन्छ पौडेल। देउवालाई राजाले अपदस्थ गर्दा सबै नेता अलमलिएका बेला प्रजातन्त्रका लागि स्पष्ट दृष्टिकोणसहित खरो उत्रने पौडेलको यही दृढताका कारण पनि होला। उहाँकी समवयी योद्धा शैलजा आचार्य त्यसबेला सत्ताको फोहोरी खेलमा प्रजातन्त्र कमजोर बनाउन नेताहरूले खेलको भूमिकाप्रति टिप्पणी गर्दै पौडेलका बारे पङ्क्तिकारसँग सधैँ यस्तो भन्ने गर्नुहुन्थ्यो, “मेरा, रामचन्द्रजीका पनि कतिपय कमीकमजोरी होलान् तर प्रजातन्त्रप्रति उहाँको कमिट्मेन्टमा कुनै प्रश्न कहिले थिएन र हुँदैन पनि।” 

त्यही भएर पनि हो–उहाँको शीतल निवास प्रवेशमा सबै लोकतन्त्रवादी आश्वस्त भएका छन्। राजनीतिक दलका नेताको भूमिका र वर्तमान राष्ट्रपतिका कतिपय विवादास्पद निर्णयले कतै लोकतन्त्रमाथि नै सङ्कट आउने त होइन भन्ने संशय र चिन्ता प्रकट भइरहेका बेला पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि कम्तीमा यो सङ्कट टरेको अनुभूत सबैले गरेका छन्। अर्थात् लोकतन्त्रको दीर्घ जीवनप्रति जनतामा भरोसा जागृत भएको छ। जनताको यो भरोसा पौडेलका लागि राष्ट्रको अविभावकका रूपमा लोकतन्त्रको पहरेदारी गर्न आगामी दिनका लागि ठूलो शक्ति हो। 

लोकतन्त्र सङ्कटमा परेका बेला आफ्नो निजी नाफा, नोक्सानलाई नहेरी त्यसैका विरुद्धमा प्रतिकार गर्ने थोरै नेतामध्ये उहाँ पर्नुहुन्छ। संसद्को चुनावमा पराजित पौडेलले लोकतन्त्रलाई सङ्कटमै छोडेर चुनावतिर जाने ‘लाइन’ का विपक्षमा उभिएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनले सङ्कटमा परेको लोकतन्त्र जोगाउने आन्दोलनमा पार्टीलाई ल्याउने जुन नेतृत्व गर्नुभयो त्यो पौडेलको लोकतन्त्रप्रतिको अटुट प्रतिबद्धताको अर्को उदाहरण थियो। अर्थात् लोकतन्त्रलाई अँध्यारो सुरुङमा धकेलेर संविधान धुजाधुजा बनाउने ओलीको खेलविरुद्ध संविधान र लोकतन्त्रको संरक्षण गर्ने आन्दोलन र वर्तमान गठबन्धनका सूत्राधार पौडललाई संविधान संरक्षण गर्ने जिम्मेवारीमा पु-याउन योगदान गर्ने कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो समयवी साथीमाथि ठूलो ‘न्याय’ पनि गर्नुभयो। गठबन्धन टुटेपछि निराश कांग्रेस कार्यकर्तामा सभापति देउवाले न्याय गर्नुहँुदोरहेछ भन्ने आशा जगाएको छ। आफ्ना प्रतिस्पर्धीलाई यसरी न्याय गरेर देउवाले उहाँको धुमिलिन थालेको ‘उदार नेता’ को छवि पुनः उजिल्याउने कोसिस गर्नुभएको छ। सत्ता राजनीतिमा पदार्पणपछि सधैँ तिखो आलोचना गर्ने शैलजासमेतले उहाँको उदारताबारे कुरा गर्दै यस्तो टिप्पणी गर्नुहुन्थ्यो, “शेरबहादुरजीका धेरै कमजोरी छन् तर उहाँं साथीका रूपमा त्यतिको उदार साथी अरू कोही छैन।” शैलजाले भनेझैँ देउवाले देखाएको यो उदारता पार्टीभित्रका अन्य नेता, कार्यकर्ताप्रति पनि प्रकट हुने अपेक्षा गरिएको छ। पार्टी सभापतिका रूपमा अन्तिम पटकको यो समय उहाँका लागि विगतका सबै कमजोरी हटाएर छवि उजिल्याउने एउटा ठूलो अवसर पनि हो। सत्ता राजनीतिको प्रारम्भमा सर्वाधिक विवादास्पद भनिए पनि नेता गिरिजाप्रसाद कोइरालाले सबै कमजोरी सुधार गरेर जीवनको उत्तराद्र्धमा आफूलाई सर्वाधिक लोकप्रिय बनाउनुभयो। घटनाक्रमअनुसार त्यत्तिकै समय र अवसर अब देउवालाई प्राप्त छैन तर उहाँका विगत सुल्झाएर एउटा परिपक्व र उदार नेताको छवि बनाउने समय बाँकी नै छ। 

सर्वोच्च नेता गणेशमान सिंह कांग्रेसको संस्थापकमध्ये एक हुनुहुन्थ्यो। जनताको अधिकारका लागि राणा शासनविरुद्ध उहाँले देखाएको अदम्य साहसका विवरण सुन्दा जोसुकैको आङ सिरिङ्ग हुन्छ। ज्यानको बाजी लगाएर राणा र पञ्चायतविरुद्ध सङ्घर्ष गरेका गणेशमानकै नेतृत्वमा नेपालमा बहुदलीय व्यवस्था पुनस्र्थापना भयो। निष्ठा, बलिदान र साहसका प्रतिमूर्ति गणेशमान संसारका बिरलै त्यागी नेतामध्येमा पर्नुहुन्छ। प्रधानमन्त्रीजस्तो मुलुकको कार्यकारी प्रमुखको पदसमेत त्याग गर्ने त्यस्ता नेता नेपालमा अर्को जन्मिएको छैन। कांग्रेस सत्ता राजनीतिको दलदलमा परेपछि यस्ता नेताले पनि जीवनको आखिरीमा गएर आफैँले निर्माण गरेको कांग्रेस छोड्नुपरेको थियो।

जनअधिकारका लागि घरबारसमेत नगरेर प्रजातन्त्रका लागि आफ्नो जीवन समर्पण गर्ने सन्त नेता कृष्णप्रसाद भट्टराई पनि कांग्रेसका अर्का संस्थापक नेता हुनुहुन्छ। उहाँ नेपालमा अहिलेसम्म भएका प्रधानमन्त्रीमध्ये सर्वाधिक निष्कलङ्क नेता हुनुहुन्थ्यो। प्रधानमन्त्री पद छोडेपछि सरकारी निवासबाट एउटा कन्तुर, सुराही र छाता मात्र लिएर बाहिरिने यस्ता नेता पनि संसारमा बिरलै भेटिन्छन्। सत्ता राजनीतिले दूषित बनेको कांग्रेसले सिद्धान्त, आदर्श र निष्ठाको राजनीतिका पर्याय भट्टराईलाई पनि उहाँको जीवन पर्यन्त आफूसँगै राख्न सकेन। सत्ताको उन्मादले थिलथिलिएको कांग्रेसले भट्टराईलाई अपमान ग-यो। त्यस्तो अपमान सहन नसकी उहाँ पनि 

 जीवनको उत्तराद्र्धमा कांग्रेस छोड्ने अवस्थामा पुग्नुभयो। संसारमा बिरलै पाइने कांग्रेसका यी दुई राजनेतालाई सत्ता राजनीतिले अपमानित गरेर पार्टी नै छोड्नु परेको घट्ना हरेक लोकतन्त्रवादीका लागि कति पीडादायी होला ?

यहाँ गणेशमान र किसुनजीको प्रसङ्ग उल्लेख गर्नुका कारण हो नेता पौडेल पनि उहाँहरूकै आदर्श पच्छ्याएर राजनीतिमा क्रियाशील हुनुभयो, जसको परिणाम आज राष्ट्रप्रमुखको गरिमामय पदमा पुग्न सफल हुनुभयो।  हो, पौडेलले पनि सिद्धान्त र आदर्श राजनीतिका लागि कसैसँग सम्झौता गर्नुभएन। कांग्रेसमा सिद्धान्तमा कसैसँग सम्झौता नगर्ने धेरै नेता, कार्यकर्ता पाखा परेका छन्। सत्ताको फोहोरी खेलमा यिनीहरू ओझेलमा परेका छन्। अब त्यस्तो हुने छैन भन्ने विश्वास बढाउँदै लैजानुपर्ने दायित्व कांग्रेस नेतृत्वको काँधमा आएको छ।  बहुदलीय व्यवस्था पुनस्र्थापनापछिको सत्ताको यस्तो फोहोरी खेलभित्र पनि सिद्धान्त र विचारको राजनीतिलाई स्थापित गरेर त्यसलाई सफा गर्न सकिन्छ कि भनेर सङ्घर्ष गरिरहेका थोरै नेतामध्ये एक हुनुहुन्छ, रामचन्द्र पौडेल। सङ्घीय लोकतान्त्रिक गणतन्त्र कांग्रेसकै नेतृत्वमा स्थापित भएको पुष्टि गराउन उहाँ सधैँ क्रियाशील हुनुभयो। 

निरङ्कुश पञ्चायतको पतन र बहुदलीय व्यवस्था स्थापनापछिको सत्ता राजनीतिमा उहाँ पटक, पटक पदमा नपुगेका होइनन्। सत्तामा पटक, पटक पुगेर पनि उहाँमाथि अनियमितताको अहिलेसम्म कुनै प्रश्न उठेको छैन। आफ्नो स्वच्छ छविलाई उहाँले सत्तामा रहँदा पनि जोगाउन सफल हुनुभयो। कांग्रेसभित्रका थोरै वैचारिक नेतामध्ये उहाँ अग्रस्थानमा हुनुहुन्छ। बीपी कोइरालाको समाजवादलाई कांग्रेसले पूरै बेवास्ता गरिरहेका बेला पौडेलले आफ्नो बर्कतले भ्याएसम्म त्यही समाजवादको सान्दर्भिकताको व्याख्या गरेर आफूलाई व्यस्त राख्नुभयो। उहाँले पार्टीको सभापति र प्रधानमन्त्री बन्ने अवसर भने पाउनुभएन। पार्टीको सभापति भएर देशभर समाजवादको आधुनिक र नेपाल सुहाँउँदो व्याख्या गर्दै त्यसैमा कार्यकर्तालाई प्रशिक्षित गर्ने र कार्यकारी प्रमुखका रूपमा प्रधानमन्त्री भएर देशमा केही गर्ने उहाँको ठूलो इच्छा थियो। उहाँको त्यो इच्छा अधुरै रहे पनि संविधान र लोकतन्त्रमाथि सङ्कटका बादल मडारिरहेका बेला त्यसको रक्षा गर्ने जिम्मेवारी ती दुवैभन्दा ‘विशाल’ छ। नेपाली उखानका रूपमा एउटा कुरा भन्ने गरिन्छ कि ‘भगवान्ले जे गर्छन् ठीकै गर्छन्।’ यस अर्थमा पौडलले अहिले पाएको जिम्मेवारी उहाँका लागि प्रधानमन्त्री पदभन्दा उपयुक्त छ। सत्ताका लागि जे पनि गर्ने अहिलेका राजनीतिक दल र तिनका नेताहरूको स्वाभाविक वा अस्वाभाविक गठजोडबाट पौडेल प्रधानमन्त्री बनेको भए सम्भवतः उहाँको अहिलेसम्मको स्वच्छ छवि र राजनीतिक निष्ठालाई अनावश्यक रूपमा विवादमा पार्ने प्रयत्न हुँदैनथ्यो भन्न सकिन्न। राष्ट्रपति पदमा पदार्पणमात्रैबाट पनि लोकतन्त्रमाथिको सङ्कट टरेको भरोसा जागृत गराउने स्वच्छ छविका पौडेलको राजनीतिक विश्राम पनि स्वच्छ भएर टुङ्गिनेतर्फ अघि बढेको छ। उहाँलाई हार्दिक शुभकामना। 

लेखक राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त हुनुहुन्छ।