• १४ वैशाख २०८१, शुक्रबार

राष्ट्रपति उम्मेदवार सुवासचन्द्र नेम्वाङ र महन्थ ठाकुरबीच भेटवार्ता

blog

एमालेबाट राष्ट्रपति पदको उम्मेदवार बन्नुभएका सुवासचन्द्र नेम्वाङ र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर । फाइल तस्बिर

काठमाडौं, फागुन १९ गते । नेकपा (एमाले)बाट राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गर्नुभएको छ।

राष्ट्रपति निर्वाचन नजिकिएसँगै उम्मेदवार नेम्वाङले आफूलाई राष्ट्रपतिमा सहयोग गर्न अध्यक्ष ठाकुरलाई आग्रह गर्नुभएको हो । भेटका क्रममा उम्मेदवार नेम्वाङले आफूलाई राष्ट्रपतिमा मतदान गर्न आग्रह गर्नुभएको र अध्यक्ष ठाकुरले पार्टीको बैठकबाट निर्णय गर्ने बताउनुभएको लोसपा नेता राजेन्द्र महतोले बताउनुभयो । 

उहाँले आफू आठदलीय गठबन्धनमा सहभागी रहेकाले पार्टीको बैठकबाट नै यसबारेमा निर्णय गर्ने जवाफ दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी आठदलीय गठबन्धनमा सहभागी छौँ । उहाँले  आग्रह गर्नुभएको छ । हाम्रो अध्यक्षले पार्टीको बैठकमा आग्रह गर्छौं, कुरा गर्छौं भन्नुभएको छ ।’

त्यस्तै भेटपछि नेकपा (एमाले) सचिव योगेशकुमार भट्टराईले अहिलेको राष्ट्रपति निर्वाचनमा सुवासचन्द्र नेम्वाङको उम्मेदवारी न्यायोचित उम्मेदवारी भएकाले लोसपा पनि सकारात्मक रहेको बताउनुभयो । उहाँले राष्ट्रपति जस्तो पदमा गठबन्धन बनाएर देशलाई विभाजित गर्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको राष्ट्रपति निर्वाचनमा सुवासचन्द्र नेम्वाङको उम्मेदवारी न्यायोचित उम्मेदवारी हो । संविधान, कानुन बुझेको, संविधान निर्माणमा नै अग्रसर रहेकाले उहाँ नै उपयुक्त हुनुहुन्छ । बैठक बसेर निर्णय गर्ने कुरा गर्नुभएको छ तर उहाँहरुको प्रतिक्रिया सकारात्मक पाएका छौँ ।’