• १४ वैशाख २०८१, शुक्रबार

व्यवस्थित बन्दै नारायणी नदी किनार

blog

निर्माणस्थल अवलोकन गदै महानगर प्रमुख रेनु दाहाल । तस्विर : शान्ता अधिकारी

शान्ता अधिकारी 

चितवन, फागुन १७ गते । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी भरतपुर महानगरपालिकाको मात्र नभएर देशकै एउटा गहना भएको बताउनुभएको छ ।

नदी किनारामा बन्न लागेको नदी संरक्षण पूर्वाधार र सोही स्थानमा निर्माणाधीन आरती स्थलको बुधबार बिहान विधिवत शिलान्यास गर्दै महानगर प्रमुख दाहालले सो कुरा बताउनुभएको हो ।

नारायणी नदी व्यवस्थापन आयोजना र सघन सहरी तथा भवन आयोजनाले संयुक्त रुपमा नारायणी नदी किनारमा आयोजना गरेको कार्यक्रममा उहाँले महानगर क्षेत्रमा एकपछि अर्को परियोजनाको लागि बजेट सुनिश्चित हुँदै आएको बताउनुभयो ।

पहिलो चरणमा ६५ किलोमिटर सडक, देवघाटको शवदाह गृह, केन्द्रीय बस टर्मिनलको व्यवस्थापनलगायत २ अर्बको परियोजना सञ्चालन भइरहँदा दोस्रो चरणमा झण्डै ५० करोड रुपियाँ बराबरको १८ किलोमिटर सडकसहित सम्भावना बोकेको नदी किनारमा ‘रिभर विच प्रोटेक्सन’समेतको काम अगाडि बढेको उहाँले जानकारी दिनुभयो ।

नदी किनारको संरचना निर्माणको कामलाई प्राथमिकतामा राख्दै असार मसान्त अगाबै काम सक्न उहाँले निर्माण कम्पनीलाई अनुरोध गर्नुभयो ।

शिलान्यास कार्यक्रममा नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख गणेश मरासिनी र सघन सहरी तथा भवन आयोजनाका डिभिजनल प्रमुख प्रकाश अर्यालले आयोजनाको बारेमा जानकारी गराउनुभएको थियो ।

भरतपुर १ वडा कार्यालयदेखि नारायणी नदी पुलसम्मको ६५० मिटर नदी किनारमा निर्माण शुरु गरिएको कामको पनि महानगर प्रमुखले निरीक्षण गर्नु 

भएको थियो । उक्त क्षेत्रमा शेरवालसहितको मस्याङ्दी नदीबाट ल्याइएका बोल्डर ढुंगाको वाल लगाउन लागिएको छ । १५ करोड ९२ लाख ९४ हजार रुपियाँमा डाइनामिक कन्ट्रक्सन प्रालिले २०७९ पुस ५ गते सम्झौता गरेको उक्त काम २०८१ असार ५ गते सक्ने गरी सम्झौता भएको छ । 

महानर भित्रका सडक सञ्जाल निर्माण, देवघाट बसपार्क निर्माण लगायतको काम समेत गरि ४१ करोड १९ लाख आठ हजार २७१ रुपिंयाँमा महालक्ष्मी/ओम सत्य साई जेभीले नै महाआरती स्थल निर्माणको जिम्मेवारी लिएको छ । उक्त महाआरती स्थल निर्माणको लागि एक करोड ७५ लाख रुपियाँ खर्च लाग्ने अनुमान छ ।