• ८ वैशाख २०८१, शनिबार

बागलुङको कालिका मन्दिर जीर्णोद्धार

blog

जीर्णोद्धार पछिको कालिका मन्दिर । नवीन शिशिर विक ।

नवीन शिशिर विक

बागलुङ, फागुन १४ गते । धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित बागलुङको कालिका मन्दिर जीर्णोद्धार गरिएको छ । ताम्रपत्रले मन्दिर छाइएको छ भने कलात्मक इँटाको प्रयोग गरेर मन्दिरलाई थप आकर्षक बनाइएको छ ।

मुख्य मन्दिरलाई पुरानै शैलीमा आकर्षक ढङ्गबाट निर्माण गरेको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खडकाले जानकारी दिनुभयो । मन्दिर परिसरका अन्य संरचना आधुनिक ढङ्गबाट निर्माण गरिएको छ । मन्दिरमा सत्तल, हवन कुण्ड लगायतका संरचना निर्माणाधीन अवस्थामा छन् । 

गुठी व्यवस्थापन समितिको पञ्चवर्षीय रणनीतिक सुधार कार्यक्रम अनुसार मन्दिरको स्वरूप कलात्मक ढङ्गबाट निर्माण गरिएको हो । थप संरचना पुरातात्त्विक शैलीमा निर्माण गरिने अध्यक्ष खड्काको भनाइ छ । 

मन्दिर जीर्णोद्धार गर्न करिब २६ लाख रुपियाँ खर्च भएको छ । निर्माणाधीन सत्तल सम्पन्न गर्न ७० लाख रुपियाँ र हवकुण्ड निर्माणमा १३ लाख रुपियाँ खर्च हुनेछ । 

जीर्णोद्धार तथा थप संरचना निर्माणको लागि गुठी व्यवस्थापन समितिले स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकारसँग रकम माग गरे पनि प्राप्त नभएको अध्यक्ष खडकाले बताउनुभयो । हाल मन्दिरमा सङ्कलित भेटिबाट नै निर्माणको काम अघि बढेको छ । 

तत्कालीन पर्वतका राजना प्रतापी नारायण मल्लले वि.सं १५९० मा राज्यारोहण गरेका थिए । उहाँको विवाह १५९१ मा पाल्पाका राजना मणि मुकुन्दसेनकी छोरीसँग भयो । विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोको रूपमा बुवासँग मागेर आफूसँगै ल्याउनुभयो । 

पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल कालिका मन्दिर भएको ठाउँ बागलुङ नगरपालिका–१ मा बिसाएर उठाउँदा नउठेपछि राजदम्पत्तिले यस ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको किंवदन्ती छ । मन्दिरमा वर्षको दुई पटक वडा दशै र चैत दशैंमा विशेष पूजा हुने गर्छ ।