• १४ वैशाख २०८१, शुक्रबार

शुक्रबारदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

blog

खुल्यो कर्णाली राजमार्ग । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, माघ २३ गते । शुक्रबार साँझबाट बन्द भएको कर्णाली राजमार्ग सोमबार बिहानदेखि खुलेको छ । हुम्लाबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३५१८ नम्बरको ट्रकले दैलेखेको सिम भन्ने ठाउँमा ठक्कर दिएर दैलेख आठबिस नगरपालिका वडा नं. ४ का वर्ष ५५ का तिलक माझीको मृत्यु भएपछि स्थानीयले बन्द गरेको कर्णाली राजमार्ग खुलेको हो । 

शुक्रबार ६ बजेदेखि बन्द भएको कर्णाली राजमार्ग शनिबार राति १० बजे खुले पनि फेरि स्थानीयले सडक अवरोध गरेपछि आइतबार दिनभर तनावगस्त भएको थियो । आइतबार राति सहमतिपछि पीडित पक्षले केही नगद र केही राहत बापतको रकमको चेक प्राप्त गरेपछि सडक खुलेको बताइएको छ । 

आठबिस नगरपालिका उपप्रमुख कल्पना थापा चन्दले लामो समयको छलफलपछि बल्ल सहमति भएर कर्णाली राजमार्ग खुलाएको जानकारी दिनुभयो । सवारी धनीले शनिबार साँझ १४ लाख क्षतिपूर्ति दिन तयार भए पनि आइतबार पहिलो किस्ता बापत दिने भनेको रकम नदिएपछि मृतकका आफन्तले पुन राजमार्ग बन्द गराएका थिए । उपप्रमुख चन्दले दुवै पक्षसँग बसेर सहमति भएपछि सडक खुलेको सुनाउनुभयो । लामो समय राजमार्ग बन्द हुँदा कालिकोट, जुम्ला, मुगु, हुम्ला, बाजुरा जाने यात्रु र त्यहाँबाट मुलुकका विभिन्न सहरमा जाने यात्रु मर्कामा परेका थिए ।