• १४ वैशाख २०८१, शुक्रबार

अवैध आयातले सङ्कटमा कुखुरापालन

blog

वसन्त पराजुली 

भरतपुर, पुस २९ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कुखुरापालन व्यवसायका समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

गृहमन्त्री लामिछानेले व्यवसायीका समस्या सुनेपछि प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई टेलिफोनबाट अवैध रूपमा भित्रिरहेको कुखुराको मासु रोक्न निर्देशनसमेत दिनुभयो । 

बिहीबार भरतपुरमा व्यवसायीलाई अवैध आयात रोक्ने आश्वासन दिँदै गृहमन्त्री लामिछानेले भन्नुभयो, “तपाईंहरूले पनि आईजीपी साबसँगको कुरा सुनिहाल्नुभयो । अब तपाईंहरूको समस्या समाधान हुन्छ । बरु तपाईंहरूले पनि प्रहरीलाई सूचना दिएर सहयोग गर्नुस् ।” भारतबाट अवैध तरिकाले भित्रिरहेको कुखुराको मासु नियन्त्रण गर्न व्यवसायीले माग गरेलगत्तै गृहमन्त्री लामिछानेले प्रहरी महानिरीक्षक सिंहलाई फोन गर्नुभएको हो । 

गृहमन्त्री लामिछानेले व्यवसायीले तिरेको करले नै राज्यको ढुकुटी बलियो हुने भएकाले व्यवसायीलाई सहयोग गर्ने दायित्व सरकारको भएको बताउनुभयो । 

नेपाल कुखुरा व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष गुणचन्द्र विष्टले गृहमन्त्री लामिछानेलाई समस्याबारे जानकारी गराउँदै पहिला जिउँदो कुखुरा आउने तर अहिले मासु नै भित्रिने गरेको बताउनुभयो । 

कोरोना महामारी सकिएसँगै आर्थिक गतिविधिमा सुस्तता आएको अवस्थामा भारतबाट अवैध रूपमा भित्रिने कुखुराको मासुका कारण समस्या थपिएको व्यवसायीले बताएका छन् । आत्मनिर्भर हुँदै गरेको कुखुराको मासुको अवैध रूपमा हुने आयात नरोकिनु समस्या देखिएको व्यवसायीको गुनासो छ । अहिले काठमाडौँमा दैनिक छ लाख केजी र काठमाडौँबाहिर पाँच लाख केजी कुखुराको मासु खपत भइरहेको छ । यसरी खपत भएको मासु आधाभन्दा बढी भारतबाट अवैध तरिकाले आयात भएको व्यवसायीको दाबी छ । सरकारले २०५६ सालदेखि पोल्ट्रीजन्य पदार्थको स्थल मार्गबाट आयातमा रोक लगाएको छ । 

नेपाल ह्याचरी सङ्घका केन्द्रीय अध्यक्ष ऋषिप्रसाद पौडेलले खुला रूपमा मासु आयात नरोकिएपछि गृहमन्त्रीसँग सहयोग माग्नु परेको बताउनुभयो । “कुखुराको मासुको अवैध आयात रोक्न किसानले प्रयास गरे पनि दीर्घकालीन योजना नहँुदा बजारमा आयातित मासु बढी बिक्री भइरहेको छ । त्यसलाई नरोक्ने हो भने नेपाली मासुले बजार पाउँदैन,” उहाँले भन्नुभयो । उहाँले नेपाली उत्पादनको बजार नहुँदा ह्याचरी उद्योग बन्द भइरहेको दाबी गर्नुभयो । उहाँका अनुसार नेपालमा भएका ३४८ ह्याचरी उद्योगमध्ये अहिले दुई सयभन्दा बढी बन्द भइसकेका छन् । 

नेपाल कुखुरा व्यवसायी मञ्चका पूर्वअध्यक्ष शङ्कर कँडेलले भारतीय कुखुराको मासुले नेपाली कुखुराको मासुको व्यवसायमा प्रभाव पारेको बताउनुभयो । “अहिले भारतीय नाका नेपालगञ्ज, भैरहवा, वीरगञ्जलगायतका भन्सार नाकाबाट भित्रिएको मासु काठमाडौँ गइरहेको छ,” उहाँले भन्नुभयो । उहाँले विशेष रूपमा तरकारी, फलफूल र सी फुड बोकेका कन्टेनरमा लुकाएर कुखुराको मासु आयात हुने गरेको पनि जानकारी दिनुभयो । 

पोल्ट्री सप्लायर्स सङ्घका केन्द्रीय अध्यक्ष मनोज रानाभाट बढ्दो भारतीय कुखुरा र यसको मासुका कारण नेपाली कुखुराको बजार प्रभावित भएको स्वीकार गर्नुभयो । अवैध मासु भित्रिनुमा खुला सिमाना नै प्रमुख कारण भएको उहाँको दाबी छ । सामान्य अवस्थामा नेपालमा वार्षिक ३६ लाख ५० हजार पेटी अन्डा र १२ करोड १३ लाख १३ हजार केजी कुखुराको मासु उत्पादन हुने गरेको थियो तर अहिले त्यसको तुलनामा अन्डा र मासुको उत्पादन ५० प्रतिशतले कमी आएको छ । 

यसैबीच गृहमन्त्री लामिछानेले बिहीबारदेखि सुरु भएको खिचरा महोत्सवको पनि उद्घाटन गर्नुभयो । थारू जातिको वेशभूषा रहनसहन र खानपिनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित सो महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुनेछ । 

यसैगरी गृहमन्त्री लामिछानेले बिहीबार नै चितवनका उद्योगी व्यवसायीको समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।