• १४ वैशाख २०८१, शुक्रबार

लुम्बिनी विकास कोषद्वारा बौद्ध सर्किटको अवलोकन

blog

बौद्ध सर्किटको अवलोकनमा गएको लुम्बिनी विकास कोषको टोली। तस्बिरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, पुस १९ गते। लुम्बिनी विकास कोषले कपिलवस्तु क्षेत्रका बौद्ध सर्किटको अवलोकन गरेको छ। कोषका उपाध्यक्ष भिक्षु मैत्तेय, कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराईसहितको टोलीले तिलौराकोट दरबार, सगरहवा र सिसहनियाको स्थलगत अवलोकन गरेको हो।

विश्वसम्पदामा सुचीकृतको तयारीमा रहेको तिलौराकोटको व्यवस्थापन, सिसहनियाको संरक्षण एवम् सगरहवालाई बौद्धकालीन पार्कका रूपमा विकास गर्न राष्ट्रिय कार्यशालामा जुट्न पदाधिकारीले निर्देशन दिएका छन्।

कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले बौद्धकालीन सभ्यताका प्रशस्त अवशेष कपिलवस्तुमा रहेकाले उत्खनन, संरक्षण र विकासका लागि कोषले क्रमशः काम गर्दै अघि बढ्ने बताउनुभयो। उहाँले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकृत गर्ने तयारीका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भएको बताउनुभयो।

अवलोकनका क्रममा कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जगदीशपुर ताल नजिकै रहेको शाक्यको वध भएको स्थल सगरहवामा प्रस्तर राष्ट्रिय कार्यशाला गर्ने तयारी स्वरूप स्थलगत अवलोकन गरिएको बताउनुभयो। सगरहवा ताललाई स्थानीय तह, स्थानीय बासिन्दाको समेत अपनत्व हुने गरी बौद्धकालीन सभ्यतालाई प्रस्तरमा उतारेर पर्यटकीय गन्तव्य बनाउने योजना अनुसार कार्यशाला गर्ने परिषद्ले निर्णय गरिसकेको बताउनुभयो।

अवलोकनपछि तिलौराकोट, सगरहवा र सिसहनिया क्षेत्रको संरक्षणका लागि पहिलो चरणमा तत्काल पर्खाल निर्माण सुरु गर्नुपर्ने आवश्यकता देखिएकाले सुरु गर्ने सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो।

अनुगमनमा योजना प्रमुख सरोज भट्टराई, कोषका बोर्ड सदस्य विश्वराज पौडेल, अर्का बोर्ड सदस्य रामनरेश कोहांर, परिषद् सदस्य गोपी कृष्ण शर्मा, कोषका पुरातत्त्व विभागका प्रमुख हिमाल उप्रेती लगायतको उपस्थिति रहेको थियो।