मेलमिलाप काँग्रेसमै आवश्यक

dharmendra jhaधर्मेन्द्र झा

 

नेपाली काँग्रेसका संस्थापक महानायक वीपी कोइराला आठ वर्षको भारत निर्वासनपछि स्वदेश फर्केको दिनलाई नेपाली काँग्रेसले राष्ट्रिय मेलमलिाप दिवसका रूपमा मनाउँदै आएको छ । नेपाली काँग्रेसले यस वर्ष पनि हालै यो दिवस मनाएको छ । १९६८ मा भारत गएका वीपी ३० डिसेम्बर १९७६ का दिन स्वदेश फर्कनु भएको थियो । त्यो दिन २०३३ सालको पुस १६ गते थियो । वीपी नेपाल फर्केको कुराको काँग्रेसलगायत प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास गर्ने धेरैले स्वागत गरेका थिए । उहाँको अनुपस्थितिका कारण रिक्त स्थानको लाभ उठाउँदै टाउको उठाउन थालेको वामपन्थले भने वीपीको स्वदेश आगमनलाई रुचाएको थिएन । वीपी नेपालबाट जाँदा र फर्कंदाका बीचमा स्थानीय राजनीतिक परिदृश्यमा निकै फरक आइसकेको थियो । राजा महेन्द्र, जसले नेपालमा वामपन्थ बढ्न सहयोग गरे भन्ने मानिन्छ, को अवसान भइसकेको थियो । भू–राजनीति नयाँ ढङ्गले विकसित भइरहेको थियो । चीनको परिवर्तित राजनीतिक अवस्थाको प्रभाव नेपालमा परेको थियो । भारतीय लोकतन्त्र क्रमशः संस्थागत भइरहेको थियो र प्रभाव विस्तारको प्रयासमा थियो । पूर्वी र पश्चिमीको विवादमा पाकिस्तान अल्झेको थियो । बङ्गलादेशको स्थापनाको सन्दर्भ थियो । यी सबैको प्रभावबाट नेपाल अछुतो थिएन । यतिमात्र होइन शीतयुद्धकालीन विश्व दुई धु्रवमा विभाजित थियो । नेपाली काँग्रेसले विगतमा प्रारम्भ गरेको सशस्त्र सङ्घर्षको औचित्यमाथि काँग्रेसभित्रै प्रश्नचिह्न उठाइरहिएको थियो । विश्व असंग्लग्न आन्दोलनमा सहभागी भएर नेपाली राजतन्त्रले आफ्नो औचित्य प्रमाणितको प्रयास गरिरहेको थियो । यस्तोमा वीपीको नेपाल आगमन भएको थियो जसले ताìिवकरूपमा निकै ठूलो अर्थ राख्दथ्यो ।
केही विश्लेषकका अनुसार उपर्युक्त पृष्ठभूमिमा त्यतिबेला राष्ट्रियता सङ्कटमा पर्न खोजेको आँकलन गरिएको थियो र वीपी राजासँग मिलेर भए पनि राष्ट्रियताको संरक्षण–सम्बद्र्धन गर्न सकिन्छ भने गर्नुपर्छ भन्ने अभिप्रायले स्वदेश फर्कनु भएको थियो । अर्को कुरा, वीपीको अनुपस्थितिमा नेपाली राजनीतिले एक नयाँ ‘कोर्स’ लिने प्रयास त गरिरहेको थियो नै सँगै निर्वासित भूमिका जिम्मेवारसँग पनि उहाँको दूरी बढिरहेको आँकलन त्यसबेला गरिएको थियो । जवाहरलाल नेहरूपुत्री इन्दिरा गान्धी १९७५ को इमरजेन्सीमार्फत् निकै शक्तिशाली बनेकी थिइन् । विमान अपहरणको आरोपमा दुर्गा सुवेदी र सुशील कोइरालालाई भारत सरकारले पक्राउ गरेको थियो । यस्तो अवस्थामा शायद वीपीलाई भारतमा रहिरहँदा आफ्नो राजनीतिमा बाह्य निगरानी र नियन्त्रण बढ्न सक्ने सम्भावनाले पनि गाँजेको हुन सक्छ । वीपीको स्वदेश फिर्तीका अनेक कारण हुन सक्छन् । एक कारण निश्चितरूपमा के हो भने, सम्भवतः वीपीले स्वदेशमै बसेर लोकतन्त्रको आन्दोलन हाँक्न सहज हुने अनुमान गर्नु भएको थियो । शायद त्यतिबेलाको राष्ट्रिय राजनीतिको आवश्यकता बोध गरेर वीपीबाट लिइएको अनिवार्य तर परिपक्व निर्णय थियो, भारत निर्वासन र नेपाल आगमन । जे होस, यो बहसको फरक विषय हो । निश्चित के हो भने मेलमिलापको औचित्य स्वीकार गर्दै वीपी नेपाल फर्केपछि आन्तरिक राजनीतिले नयाँ धार र दिशा लिएको भने पक्कै हो ।
वीपीको नेपाल आगमनको सन्दर्भलाई आजको अवस्थामा नयाँ ढङ्गले विश्लेषण गरिनु आवश्यक छ । वीपी नेपालका पूर्व प्रधानमन्त्री र नेपाली काँग्रेसका सभापति हुनुहुन्थ्यो । यसर्थ उहाँको नेपाल आगमनलाई किन अस्वाभाविक मान्ने भन्ने प्रश्न गर्न सकिन्छ तर नेपालको आन्तरिक राजनीतिक कारणले निर्वासनमा रहेकाले वीपीले नेपाल आगमन हेतु त्यही समय किन रोज्नुभयो भन्ने प्रश्न महìवपूर्ण छ । यस सन्दर्भमा माथिका आधारमा विश्लेषण गर्ने हो भने नेपाल आगमनको त्यो समयलाई वीपीले रणनीतिकरूपमा प्रयोग गरेको रूपमा बुझ्न सकिन्छ । त्यसबेलामा राष्ट्रिय राजनीतिका सन्दर्भमा सम्भवतः वीपीका सामु विद्यमान अवस्था विश्लेषणयोग्य थिए । पहिलो, राजा महेन्द्रको अवसान भई तुलनात्मकरूपमा प्रजातन्त्रमा विश्वास गर्ने राजा वीरेन्द्रको उदय भइसकेको थियो । अतः हिजोको राजासँगको व्यक्तित्वको लडाई अन्त्य गरेर नयाँ राजासँग सम्बन्ध सुधार गरी नेपालमा प्रजातन्त्रको सङ्घर्षको नयाँ अध्याय प्रारम्भ गर्न सकिन्थ्यो । वीपीको मेलमिलाप नीतिको विश्लेषण गर्ने हो भने यो राजालक्षित थियो भन्न सकिन्छ । उहाँले राष्ट्रियता संरक्षणको कुरा उठाउँदै राजाको घाँटी र आफ्नो घाँटी जोडिएको उल्लेख गरेबाट पनि उहाँको रणनीतिक सोचको विश्लेषण गर्न सकिन्छ । दोस्रो, आफ्नो अनुपस्थितिमा रिक्त स्थानमा टाउको उठाउन थालेको वामपन्थी प्रभावलाई रोक्न जरुरी थियो । प्रजातानन्त्रिक आन्दोलन कमजोर हुँदा वामपन्थी आन्दोलन फस्टाउन सक्थ्यो र शीतयुद्धकालीन विश्वमा नेपाल कुनै खास खेमामा आबद्ध हुन सक्थ्यो । तेस्रो, मूलधारबाट धेरै समय टाढा रहँदा राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव कमजोर हुन सक्थ्यो र नेपाली काँग्रेसमाथिको नियन्त्रण र प्रभाव नै पनि समस्यामा पर्न सक्थ्यो । र चौथो, नेपालमा बढ्दो आन्तरिक कट्टरवादी प्रभाव र विदेशी स्वार्थलाई रोक्नु जरुरी थियो ।
यी यस्ता आधार थिए जसले वीपीलाई त्यही समयमा नेपाल फर्कन पे्ररित ग¥यो तर जे होस् तात्कालीन राष्ट्रिय राजनीतिमा वीपीको मेलमिलाप नीतिको सकारात्मक प्रभाव परेको थियो । सबभन्दा महìवपूर्ण कुरा वीपी स्वदेश फर्केपछि आमजनतामा नयाँ आशाको सञ्चार भएको थियो भने काँग्रेसले नै पनि नयाँ रूप प्राप्त गर्ने प्रयासको प्रारम्भ भएको थियो । वैचारिक दृष्टिले काँग्रेस तुलनात्मकरूपमा केही परिपक्व भएको अनुभव गरियो । आज नेपालमा राजतन्त्र छैन । वामपन्थी आन्दोलन पनि हिजोको अवस्थामा छैन र यसले नयाँ उचाई तथा कलेवर प्राप्त गरेको छ । विश्वमा असंलग्न आन्दोलन कमजोर भएको छ र प्रत्यक्षतः शीतयुद्धको अवस्था छैन । यस्तोमा प्रश्न उठ्छ, के वीपीको राष्ट्रिय मेलमिलापको नीति आजको अवस्थामा पनि सान्दर्भिक छ ? नेपालमा उदारवादी राजनीतिको प्रणेता मानिने वीपी र नेपाली काँग्रेसको यो नीति, आज नेपाललगायत विश्वमा कट्टरपन्थले स्थान ओगटिरहेको अवस्थामा, को औचित्य छ ? यसको जवाफ हो, बरु हिजोको दिनभन्दा आज यो नीति अझै बढी सान्दर्भिक र महìवपूर्ण छ ।
मेलमिलाप नीतिको सबभन्दा बढी आवश्यकता आज वीपीको आफ्नै पार्टी नेपाली काँग्रेसलाई छ भनेर भनियो भने त्यो अस्वाभाविक हुने छैन । हालका दिनमा काँग्रेस एउटा सिङ्गो पार्टीभन्दा पनि गुट–उपगुटको समूहका रूपमा परिवर्तित हुन पुगेको छ भन्दा अन्यथा ठहर्दैन । यसका नेताले पार्टीको नेतृत्व गर्नुभन्दा पनि विविध गुटको नेतृत्व गरिरहेको आरोप लागिरहेको छ । एकले अर्कालाई गाली गर्नु र आलोचना गर्नु सामान्य बनिसकेको छ । यी तथ्य हुन्, यसलाई अस्वीकार गर्न सकिने अवस्था छैन । पछिल्लो समयमा, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजयपछि काँग्रेसको विग्रह सतहमा छताछुल्ल हुन पुगेको छ । पार्टीको पराजयको कारण सामूहिक र संस्थागत रूपमा खोज्नेभन्दा पनि अर्कामाथि जिम्मेवारी पन्छाएर आफू ओभानो हुन खोज्ने प्रवृत्ति उत्कर्षमा छ । सबैभन्दा बढी पार्टी सभापति र शीर्ष नेतृत्वमा रहेका केही नेतालाई मनोगतरूपमा पराजयको जिम्मेवारी पन्छाएर केही चर्चित नेता आफू ‘लोकप्रिय’ बन्ने होडमा देखिएका छन् । हो, नेतृत्वमा रहेका कारण पराजयको सबभन्दा धेरै जिम्मेवारी शीर्षले नै लिनुपर्छ । यो अत्यन्त स्वाभाविक हो । तर अरुको कुनै जिम्मेवारी नै छैन भनेर कसरी भन्न सकिन्छ ? हिजो गुटमा विभक्त भएर पार्टीलाई कमजोर बनाउने प्रयासको स्व–जिम्मेवारी लिने कि नलिने ? हिजोका दिनमा पार्टीमा देखिएको सैद्धान्तिक विचलन रोक्ने कुनै प्रयास नगरेको आत्मबोध गर्ने कि नगर्ने ? पार्टी र सरकारले विगतमा विवादित निर्णय गरिरहँदा त्यसको फड्के किनाराको साक्षी बसिएछ भनेर स्वीकार्ने कि नस्वीकार्ने ? इमानदार र निष्ठावान कार्यकर्ताको पटकपटक मानमर्दन हुँदा हिजो किन मौन बसिएछ भनेर पछुतो मान्ने कि नमान्ने ? यस्ता अनेक प्रश्न छन्, जसको उत्तर अपेक्षित छ । मेलमिलापको नीतिका आधारमा पार्टीका जिम्मेवार सबै नेताले यी प्रश्नको उत्तर खोज्नु जरुरी छ । जबसम्म अन्तरिकरूपमा मेलमिलापको नीति अख्तियार गरिँदैन र पार्टीको सुदढीकरणको नयाँ नीति बनाइँदैन तबसम्म एकले अर्कालाई गाली र आलोचनाको गर्नुको अर्थ पार्टीलाई थप कमजोर बनाउनुमात्र हुनेछ ।

प्रकाशित मिति: २०७४/९/२८

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना