• १५ वैशाख २०८१, शनिबार
blog

काठमाडौँ, पुस १८ गते । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १७ निर्जीवन बीमा कम्पनीमध्ये १० वटाले सेयरधनीलाई लाभांश दिने घोषणा गरेका छन् । आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण हुने यस्तो लाभांशमा अधिकांश कम्पनीले यस पटक नगदभन्दा पनि बोनस सेयरमा जोड दिएका छन् । नियामक निकाय बीमा प्राधिकरणले पुँजी बढाउन जोड दिँदै कर प्रयोजनका लागि मात्रै नगद लाभांश वितरण गर्न सकिने व्यवस्था गरेअनुरूप कम्पनीहरूले बोनस सेयरमा जोड दिएका छन् ।

प्राधिकरणले कम्पनीहरूलाई चुक्ता पुँजी कायम गर्न दिएको समय नजिकिँदै छ । गत चैतमा जीवन र निर्जीवन बीमा कम्पनीको साढे दुई गुणाले पुँजी बढाएर एक वर्षभित्र कायम गरिसक्न निर्देशन दिएकामा तोकिएको पुँजी पु-याउन तीन महिना मात्र बाँकी छ । कम्पनीले पुँजी वृद्धिका लागि मर्जर तथा प्राप्ति र बोनस सेयर दिन सक्ने तर हकप्रद जारी गर्न नदिने प्राधिकरणले जनाएको छ ।

लाभांश वितरणको प्रस्ताव गर्ने निर्जीवन बीमा कम्पनीमध्ये अहिलेसम्म सर्वाधिक लाभांश दिनेमा शिखर इन्स्योरेन्स रहेको छ भने सबैभन्दा कम दिनेमा युनाइटेड इन्स्योरेन्स रहेको छ । गत वर्षको नाफाबाट सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले सर्वाधिक १६.८४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये १६ प्रतिशत बोनस र ०.८४ प्रतिशत नगद रहेको छ । 

शिखरलाई पछ्याउँदै दोस्रोमा नेको इन्स्योरेन्सले १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमध्ये १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद रहेको छ । तेस्रोमा रहेको प्रिमियर इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने भएको छ । जसमध्ये १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद रहेको छ । लाभांश प्रस्ताव र अन्य प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।

प्रिमियरलाई पछ्याउँदै चौथोमा रहेको सगरमाथा इन्स्योरेन्सले १३.१० प्रतिशत लाभांश दिने भएको छ । जसमध्ये १२.५० प्रतिशत बोनस र ०.६० प्रतिशत नगद रहेको छ । पाँचौँमा एनएलजी इन्स्योरेन्सले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद रहेको छ ।

सगरमाथापछि सिद्धार्थ इन्स्योरेन्सले ९.४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये ९ प्रतिशत बोनस र ०.४७ प्रतिशत नगद रहेको छ । नेपाल इन्स्योरेन्सले ८.४२ प्रतिशत लाभांश दिने भएको छ । जसमध्ये ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद रहेको छ । लुम्बिनी इन्स्योरेन्सले ७ प्रतिशत बोनस र ०.३५ प्रतिशत नगद गरेर ७.३५ प्रतिशत लाभांश दिने भएको छ । आईएमई जनरल इन्स्योरेन्सले ६.५० प्रतिशत बोनस र ०.३४ नगदसहित ६.८४ प्रतिशत लाभांश दिने भएको छ । युनाइटेड इन्स्योरेन्सले ५.२६ प्रतिशत लाभांश दिने भएको छ । जसमध्ये ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद रहेको छ ।

सूचीकृतमध्ये मर्जर प्रक्रियाले चारवटा कम्पनीको कारोबार रोक्का रहेको छ । अजोड इन्स्योरेन्सले भने गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीले लाभांशबिना नै पुस ३० गते पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ । यो कम्पनीले वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने सामान्य प्रस्ताव मात्रै पारित गर्ने तयारी गरेको छ ।

लाभांश प्रस्ताव गरेकामध्ये तीनवटा कम्पनीले मात्रै साधारण सभा बोलाएका छन् । साधारण सभा आह्वान गर्नेमा युनाइटेड इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स रहेका छन् । नेपाल इन्स्योरेन्सले पुस ८ गते साधारण सभा सम्पन्न गरिसकेको छ भने युनाइटेड इन्स्योरेन्स पुस १७ गते, सिद्धार्थ इन्स्योरेन्सले पुस १८ गते र प्रिमियर इन्स्योरेन्सले पुस २९ गते साधारण सभा बोलाएका छन् । यता पाँचवटा कम्पनीले लाभांश प्रस्ताव गर्न बाँकी रहेको छ । राष्ट्रिय बीमा कम्पनी, हिमालयन एभरेस्ट इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, सानिमा एसजीआई इन्स्योरेन्स, प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट अझै लाभांश प्रस्ताव गरेका छैनन् ।