• २१ असार २०८१, शुक्रबार

अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माण अन्तिम चरणमा

blog

बुटवल मण्डपमा बनिरहेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र । तस्वीर : गोरखापत्र

कपिल ज्ञवाली

सिद्धार्थनगर,पुस ६ गते । बुटवल मण्डपमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मण्डपमै निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पश्चिमतर्फ एक अर्ब दुई करोडको लागतमा प्रदर्शनी केन्द्रको निर्माण कार्य भइरहेको हो । अहिले करिब ७२ प्रतिशत काम सम्पन्न भैसकेको निर्माण आयोजनाले जनाएको छ ।

६ दशमलव ४ बिघा क्षेत्रफलमा सहरी विकास मन्त्रालयमार्फत् निर्माणाधीन प्रदर्शनी केन्द्र सरकारीस्तरको नेपालको सबभन्दा ठूलो प्रदर्शनी केन्द्र रहेको दाबी गरिएको छ । यहाँ एउटा ठूलो प्रदर्शनी हल साथै दुइवटा बैठक हल,  प्रशासनिक भवन र खाजा घर, टीकट काउन्टर, फूलबारी बगैँचा लगायतको निर्माण कार्य तीब्र पारिएको छ ।

१२ हजार स्क्वायर मिटरमा निर्माण जारी ठूूलो प्रदर्शनी हलमा चार स्क्वायर मिटरका साढे तीन सय स्टल अटाउँछन् । बैठक हल भने एउटा साढे तीन सय स्क्वायर मिटर र अर्को साढे दुई सय मिटर स्क्वायर मिटरका निर्माण भइरहेका छन् । यी सबै हलको निर्माण कार्य सम्पन्न हुँदा झण्डै साढे ८ सय स्टल राखेर मेला संचालन गर्न सजिलो हुनेछ । 


बाहिरबाट हेर्दा तीन वटा भवन देखिने गरी डिजाइन गरिएको प्रदर्शनी केन्द्रमा आवश्यकता अनुसार अलग/अलग गर्न मिल्ने गरी डिजाइन गरिएको छ । जहाँ प्रदर्शनी हल र बैठक हलमा गरेर करिब २० हजार जनाले अवलोकन गर्न सक्नेछन् । 

निर्माण सकिदा ८ सय स्टल राख्न मिल्ने निर्माण कम्पनी क्यापासिट इन्फ्रा प्रोजेक्ट्स–गौरी पार्वती जेभी कम्पनीका अध्यक्ष रामकुमार थापाले गोरखापत्रलाई बताउनुभयो । ‘असार मसान्तसम्म समय बाँकी नै छ, हामीले धमाधम काम गरिरहेका छौं, निर्धारित मितिमै काम सकेर हस्तान्तरण गर्छाैँ, पुस ७ देखि सोहि स्थानमा मेला पनि लाग्दैछ,’ उहाँले भन्नुभयो ।

दुई हजार जनाले एकैपटक खाजा खाना सक्ने गरी फुड कोर्ट पनि निर्माण भइरहेका छन् ।  बुटवल मण्डपको लागि जग्गा छुट्टाएपछि कम्पाउण्ड वाल निर्माण गर्दा नै बुटवल उपमहानगरपालिकासँगै रूपन्देही उद्योग संघ, बुटवल उद्योग वाणिज्य संघ र रूपन्देही व्यापार संघले शुरुवाती ५/५ लाख रुपियाँ लगानी गरेको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले बताउनुभयो ।

यहि संरचनाभित्र पहिलोपटक राष्ट्रिय औद्योगिक,कृषि,पर्यटन महोत्सव हुदैछ । यी संरचना रहेको बुटवल मण्डपलाइ गिरिजाप्रसाद कोइराला बुटवल मण्डप नामाकरण गर्ने बुटवल उपमहानगरपालिकाले प्रस्ताव समेत गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । 


‘हामीले गिरिजाबाबु प्रधानमन्त्री हुदाँदेखि नै बुटवलमा स्थायी प्रदर्शनी केन्द्र बनाउन जग्गा प्राप्ती लगायतका काम गरेका हौँ,’ उहाँले भन्नुभयो । यो प्रदर्शनी केन्द्रको पूर्व अर्थमन्त्री तथा रुपन्देहीका सांसद विष्णु पौडेलले बिस २०७६ जेठ १३ गते सोमबार शिलान्यास गर्नुभएको थियो । २७ महिनामा निर्माण सम्पन्न गर्ने गरी थालिएको केन्द्रको कामअझै सकिएको छैन । अहिले दोस्रो पटक म्याद थपपछि निर्माण कार्य जारी छ । २०८० असार मसान्तभित्र काम सकेर हस्तान्तरण गरिने निर्माण आयोजनाको तयारी छ ।

नेपाल सरकारको सहरी विकास मन्त्रालय, सहरी विकास र भवन निर्माण विभाग अन्तर्गत प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइले ग्लोबल टेन्डर आह्वान गरेर क्यापासिट इन्फ्रा प्रोजेक्ट्स–गौरी पार्वती जेभी कम्पनीले ठेक्का लिएको थियो ।

यसपटक स्थायी संरचनामै मेला हुँदै 

स्थायी प्रदर्शनी केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको र पहिलो पटक स्थायी प्रदर्शनी केन्द्रमा प्रदर्शनी आयोजना गर्न पाउँदा उद्योगी व्यवसायीले निकै खुसी देखिएका छन् ।

रूपन्देहीले उद्योग संघले बिस २०४५ सालमा पहिलो पटक काठमाडौंबाहिर बुटवलमा औद्योगिक प्रदर्शनीको आयोजना गरेको थियो । स्थायी संरचना बन्नु अघि पनि यही स्थानमा यहाँका रूपन्देही उद्योग संघ, बुटवल उद्योग वाणिज्य संघ र रूपन्देही व्यापार संघले हरेक वर्ष आलोपालो रूपमा औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्दै आएका छन् ।


समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने नाराका साथ पुस ७ गतेदेखि १९ गतेसम्म प्रदर्शनी गर्ने तयारी सकिएको रूपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले बताउनुभयो । प्रदर्शनीमा ६ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ ।