• १४ वैशाख २०८१, शुक्रबार

नारायणगढ–मुग्लिङ सडकमा ३ बजेसम्म सवारी आवागमन ठप्प

blog

निर्माणाधीन चिरेन्सी, कालिखोला र सिमलतालमा निर्माण हुँदै गरेका पुलहरू । तस्बिर : शान्ता अधिकारी

शान्ता अधिकारी

चितवन, पुस ५ गते । नारायणगढ मुग्लिङ सडक खण्डका पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएकाले आज (मङ्गलवार) ११ बजेदेखि यस क्षेत्रको यातायात दैनिक चार घण्टा रोक्न सुरु गरिएको छ ।

भौगोलिक रूपमा कठिन ठाउँमा रहेका चिसेन्जी खोला, कालीखोला, सिमलताल, तुइन खोलाका पुल निर्माणका लागि पहाड काट्न पर्ने र काटेर खस्न सक्ने पहाडलाई हटाउने समयको लागि सवारी आवागमन रोक्न लागिएको हो । 

केही दिन अघि जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार काममा अवरोध नहोस् भन्ने हेतुले मङ्गलवार (आजै) बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिनेछ ।

बैठकले कुन सवारी साधनलाई कुन समयदेखि कुन समयसम्म कहाँ रोक्ने भन्ने विषयमा पनि कार्यपालिका (सेडुल) बनाइसकेको छ । 

उक्त निर्णय अनुसार नारायणगढतर्फबाट मुग्लिङतर्फ जाने यात्रुवाहक बस, मिनी, माइक्रो बस, साना सवारी साधनलाई पन्ध्र किलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजेदेखि रोकिनेछन् । मालवाहक ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्याङ्कर लगायतका भारी सवारी साधनलाई भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः५० बजेदेखि नै रोकिनेछ ।

काठमाडौँतर्फबाट चितवन आउने यात्रुवाहक सवारीलाई मुग्लिङ बजारदेखि मनकामना केबलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई खैरहनी बेनी टारदेखि पावर हाउससम्म बिहान १०ः५५ बजे रोकिने भएको छ । यस्तै, काठमाडौँतर्फबाट आउने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरहनीमा नै बिहान १०ः४५ बजे नै रोकिनेछ ।

बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यक सवारीलाई अनुकूलता हेरी छोड्ने र योे समयमा पृथ्वी राजमार्ग क्षेत्रमा चल्ने सवारी साधनलाई ट्राफिक कार्यालयले समन्वय गर्ने र सञ्चालन गराइनेछ ।