• २९ वैशाख २०८१, शनिबार

चार्जिङ स्टेसन सञ्चालन

blog

चितवन समाचारदाता

चितवन, पुस ५ गते । विद्युतीय सवारीसाधनका लागि चितवनको भरतपुर बसपार्कमा निर्माण गरिएको विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । 

भरतपुरको केन्द्रीय बसपार्कमा दुईवटा चार्जिङ बुथसहितको स्टेसन सञ्चालनमा आएको हो । मुग्लिनमा यसै हप्ताबाट चार्जिङ स्टेसन सञ्चालन आउने  नेपाल विद्युत् प्राधिकरण चार्जिङ स्टेसन परियोजना इन्जिनियर सागर ज्ञवालीले जानकारी दिनुभयो । 

९० लाख रुपियाँको लागतमा निर्माण गरिएको यो स्टेसन परीक्षणका लागि खुला गरिएको थियो  । दुई–दुईवटा बुथ रहेको यो स्टेसनमा एक पटकमा छवटा सवारीसाधन चार्ज गर्न मिल्छ । ज्ञवालीका अनुसार अहिले पूर्ण रूपमा सञ्चालनमा आएको यस स्टेसनमा सानाठूला सबै सवारीसाधन चार्ज गर्न मिल्ने व्यवस्था छ । नेपालमा उपलब्ध सवारीसाधनको क्षमताअनुसार एकदेखि डेढ घण्टासम्ममा चार्ज हुन्छ । चार्जको समय भने सवारीसाधनमा प्रयोग भएका ब्याट्रीको क्षमता र बाँकी भएको चार्जका आधारमा हुने उहाँले बताउनुभयो । 

चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर र अनलाइन बिलिङ प्रणाली जडान गरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०–६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरू राखिएको छ । यसबाट ठूला बससहित तीनवटा सवारीसाधन एकसाथ चार्ज गर्न सकिनेछ । 

आन्तरिक रूपमा विद्युत् खपत वृद्धि गर्न, पेट्रोलियम पदार्थको प्रयोग कम गराउन, विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि गरी वातावरणमैत्री यातायात प्रणालीको विकास गर्ने सरकारको उद्देश्यअनुसार स्टेसन निर्माण गरिएको इन्जिनियर ज्ञवालीले बताउनुभयो । 

स्टेसनमा चार्ज गर्दा ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् । स्टेसनमा पेट्रोल पम्पमा जस्तो मान्छे बसेर सेवा दिइरहनु पर्दैन । स्टेसनमा पुगेर गाडी चार्ज गर्नुअघि सवारीधनीले कार्ड स्वाइप गरेर पैसा तिर्नुपर्छ । कति मिनेटसम्म वा कति रुपियाँसम्मको चार्ज गर्ने हो, त्यसैअनुसार पैसा काटिन्छ र गाडी चार्ज हुन्छ । समय वा पैसा बराबरको चार्जिङ पूरा भएपछि उक्त गाडी थप चार्ज हुँदैन । 

बसपार्कमा सञ्चालनमा आएका चार्जिङ स्टेसनमा दैनिक सातवटासम्म सवारीसाधनले चार्ज गरेको तथ्याङ्क रहेको ज्ञवालीले बताउनुभयो । स्टेसन सञ्चालनमा आएको सबैलाई जानकारी नभएका कारण सवारीसाधनको सङ्ख्या वृद्धि नभएको उहाँले बताउनुभयो । 

प्राधिकरणले देशभर ३२ स्थानमा ५१ चार्जिङ स्टेसन निर्माणको तयारी गरेको छ । १२ वटा सञ्चालनमा आइसकेका र ३२ वटा जडान सम्पन्न भइसकेका छन् । बाँकी चार्जिङ स्टेसन निर्माणको अन्तिम चरणमा पुगेको प्राधिकरणले जानकारी दिएको छ । उपत्यकाबारिहका स्टेसनमा सवारीसाधनको चाप कम छ । काठमाडौँ उपत्यकामा चौबिसै घण्टा चार्जिङ स्टेसन प्रयोग हुने गरेको इन्जिनियर ज्ञवालीले बताउनुभयो ।