• १४ वैशाख २०८१, शुक्रबार

चार वर्षमा तीन सयभन्दा बढी घरेलु हिंसाका घटना

blog

दोलखा समाचारदाता

दोलखा, पुस १ गते । दोलखामा गत चार वर्षको अवधिमा तीन सयभन्दा बढी घरेलु हिंसाका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय दोलखामा २०७६ सालदेखि हालसम्म घरेलु हिंसाका ३२८ वटा उजुरी दर्ता भएका कार्यालयले जनाएको छ । 

दर्ता भएकामध्ये १९० वटा घटनामा मिलापत्र भएको छ । श्रीमान्ले कुटपिट गरेको, अवहेलना गरेको, शारीरिक र मानसिक यातना दिएको भन्दै उजुरी लिएर पालिकाको न्यायिक समिति हुँदै प्रहरी कार्यालयसम्म आउने महिलाको सङ्ख्या धेरै रहेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७६/७७ मा १११ वटा घरेलु हिंसाका उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएकामा ६३ वटा उजुरीमा मिलापत्र भएको र सातवटा मुद्दा मिलापत्र हुन नसकेपछि अदालतसम्म पुगेको थियो । घरेलु हिंसाका उजुरी दिने ४१ जना भने उजुरी दिएपछि पुनः प्रहरीको सम्पर्कमा आएका छैनन् ।

आर्थिक वर्ष २०७७/७८ मा ९६ वटा उजुरी परेकामा ५४ वटा उजुरीमा मिलापत्र भएको र मिलापत्र नभएका १५ वटा मुद्दा अदालतसम्म पुगेको छ । २७ जना सम्पर्कमा नआएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । प्रहरी कार्यालयमा गत आर्थिक वर्ष २०७८/७९ मा ८१ वटा घरेलु हिंसाका उजुरी परेका थिए । तीमध्ये ४८ वटा उजुरीमा मिलापत्र भएको र आठवटा उजुरी अदालतसम्म पुगेको छ । उजुरी दर्ता गराएका २६ जना भने सम्पर्कमा छैनन् ।

प्रहरी निरीक्षक राजेश सिग्देलका अनुसार चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा मात्रै घरेलु हिंसाका ४० वटा उजुरी परेका छन् । तीमध्ये हालसम्म २५ वटा उजुरीमा मिलापत्र भइसकेको र तीनवटा मुद्दा अदालतमा पुगेको छ । १२ वटा उजुरीका विषयमा काम भइरहेको छ । 

यो तथ्याङ्क हेर्दा दोलखामा घरेलु हिंसासम्बन्धी घटना बढ्दो क्रममा रहेको देखिएको छ । उजुरी परेकाबाहेक पनि महिलाहरू घरेलु हिंसामा परेको अनुमान गरिएको छ । परिवार, समाजको डरले महिलाले खुलेर आफू हिंसामा परेको कुरा बाहिर ल्याउन र न्यायको पहुँचसम्म पुग्नै सकेका छैनन् । अधिकांश घटना मिलापत्रका नाममा गाउँमै गुपचुप राखिन्छ भने कतिपय घटना गाउँपालिका/नगरपालिकाको न्यायिक समितिसम्म पुगेर तथा कतिपय जिल्ला प्रहरी कार्यालयसम्म पुगेर  मिलापत्र गराइन्छ । प्रहरी हुँदै अदालतसम्म पुगेका घटनामा पनि पीडितले न्याय पाएका उदाहरण थोरै छन् । 

घरेलु हिंसाको घटना भएमा कसुर भएको ९० दिनभित्र उजुरी दिइसक्नुपर्ने कानुनी व्यवस्था छ । गम्भीर प्रकृतिका बाहेक सामान्य घरेलु हिंसा गरेमा त्यस्तो व्यक्तिलाई तीन हजारदेखि २५ हजार रुपियाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ । एक पटक घरेलु हिंसाको कसुरमा सजाय पाइसकेको व्यक्तिले पुनः सोही कसुर गरेमा पटकैपिच्छे दोहोरो सजाय हुने कानुनी व्यवस्था छ ।