नगदे बालीका रूपमा ‘रुख खेती’


नारायण तुम्बापो


treeफिदिम, कात्तिक २७ गते ।  हिजोआज पाँचथरका किसानले व्यावसायिक नगदे बालीका रूपमा रुख रोप्ने क्रम बढ्न थालेको छ ।  युवाको विदेश पलायनसंँगै कृषि श्रमिकको अभाव खड्किँदा बाँझिँदै गएका जमिनमा अन्य बालीसरह किसानले ‘रुख खेती’ गरिरहेका हुन् ।    
छिटो हुर्किने रुख जातका उत्तीस, मलातो, सउर, कटुसलगायका रुख किसानले खेती गर्ने गरेका हुन् ।  विगतमा यी जातका बोटबिरुवा वन क्षेत्रमा आफैँ हुर्किएर फैलिने गर्दथे ।  पछिल्लो समय सामुदायिक वन विस्तारका लागि रोप्ने चलन आएसँगै अहिले निजी जग्गामा गोलियाका लागि खेतीकै रूपमा रोप्न थालिएको हो ।  गाउँगाउँमा सडक विस्तार भएसँगै राम्रो आम्दानी दिनेगरी गोलिया बिक्दा किसानले यसलाई ‘नगदे  बाली’ का रूपमा खेती गर्न थालेका हुन् ।  यसरी विगत पाँच वर्षदेखि खेती थालिएको रुखले  पाँचथरका किसानले पाँच अर्व रुपियाँसम्म आम्दानी गरेका छन् ।  सीधा परेको ठूलो रुख ढालेर बोक्रा गोलाकारका रूपमा बनाइएको टुनालाई नै गोलिया भनिन्छ ।  यही गोलिया बिक्री उद्देश्यले उत्पादनका लागि छिटो हुर्कने जातका बोटबिरुवा रोपण गर्नुलाई किसानले गोलिया खेतीको रूपमा अथ्र्याउने गरेका हुन् ।  
राम्रो आम्दानी हुने देखेपछि पाँचथरमा छोटो अवधिमै धेरै किसान रुख खेतीमा आकर्षित भएको पाइएको छ ।  यहाँका १४ हजार १९६ घरधुरीमा २८ हजार ९३० घरधुरीमध्ये ८० प्रतिशत अर्थात् २३ हजार १४४ घरधुरी गोलिया खेतीमा लागिरहेका वन कार्यालयले जनायो ।  यसतर्फ अरू किसानको पनि आकर्षण बढ्दो क्रममा रहेको जिल्ला वन कार्यालय प्रमुख देवेशमणि त्रिपाठीले बताउनुभयो ।  उहाँले सामुदायिक वनको भन्दा धेरै क्षेत्रफल ओगट्ने गरी निजी जमिनमा रुख लगाउने  क्रम पनि बढिरहेको बताउनुभयो ।  सामुदायिक वन १३ हजार हेक्टर मात्र रहेकोमा निजी ३० हजार हेक्टरमा वनको रूपमा  ‘वन खेती ’ भइरहेको जनाइएको छ ।  ‘रुख खेती’ गर्ने चलनले किसानका लागि आवश्यक काठ दाउरासमेत उपलब्ध हुन जाँदा सरकारी वन विनास रोकिइरहेको बताइएको छ ।  रोपण गरेको सातदेखि दस वर्ष बीचमा किसानले गोलियाबाट आम्दानी लिने गरेका छन् ।  किसानले गोलिया कटान गरेपछि पुनः सोही ठाउँमा नयाँ बिरुवा रोपण गर्ने गरेका छन् ।  
गोलियाबाट अलि ढिलो आम्दानी मिले पनि यसले ठूलै काम  हुने गरी एकमुष्ट रकम हात लाग्ने किसान बताउँछन् ।  फिदिम नगरपलिका–१४ का नारद राईले यसपालि दस रोपनी जग्गामा हुर्काएको गोलिया बेचेर १० लाख रुपियाँ नै थापेको बताउनुभयो ।  यही जमिनमा अन्य बाली खेती गर्दा दस वर्षमा बल्लतल्ल ५÷६ लाख रुपियाँ मात्र हात लाग्थ्यो, उहाँले भन्नुभयो, त्यै पनि एकमुष्ठ थाप्न नपाउँदा सानातिना काममै मासिएर जान्थ्यो ।  
रुखका लागि बिरुवा रोप्नेबाहेक बारबेर, गोडमेल र सिँचाइको झन्झट नहुनुका साथै रोग कीराको पिरोलो नहुने किसान बताउँछन् ।  त्यसैले किसानले यसलाई सरल र भरपर्दो खेतीको रूपमा निजी जमिनमा लगाउने क्रम बढेको छ ।  यसले किसानका बाँझिएर अनुत्पादक बनेर बसेका जमिन उत्पादनशील समेत बनाउँदै लगेको छ ।  यहाँका किसानले पोहोर मात्र तेह्र लाख ३३ हजार क्यूफिट गोलिया बेचेर पाँच अर्व रुपियाँसम्म थापेको जिल्ला वन पैदावर सङ्घ अध्यक्ष रमेश राईले बताउनुभयो ।   ‘वन खेती’ ले आफूहरूको गाउँघरमा सडक सुविधासमेत ल्याइदिन सघाइरहेको किसान बताउँछन् ।  फिदिम–८ रानीटारका योगेन राईले गोलिया निकासीका लागि व्यापारीले आफूहरूको क्षेत्रमा सडक निर्माणसँगै मर्मत गरिदिने गरेको सुनाउनुभयो ।  यहाँका किसानले चिलाउने, सल्लालगायत बोटबिरुवा पनि हुर्काएर गोलियाका रूपमा बेच्ने गरेका छन् ।  व्यापारीले गोलिया सङ्कलन गरी लगेर झापाका प्लाइउड उत्पादक उद्योगलाई बेच्ने गरेका छन् ।  गोलाइको आधारमा प्रतिक्यूफिट तीन सयदेखि चार सय रुपियाँसम्म गोलियाको मूल्य किसानलाई दिने गरेको व्यापारी बताउँछन् ।  पाँचथरका यासोक, आङ्साराङ, नवमीडाँडा, इम्बुङ, फाक्तेप, रानीटार, फिदिम, सुभाङ, थर्पू, ओयामलगायत क्षेत्रमा गोलिया खेती हुने गरेको हो ।  गोलिया निकासी पैठारी कारोबारबाट मात्र बर्सेनि एक करोड ५० लाख रुपियाँदेखि दुई करोड रुपियाँसम्म राजस्व असुल हुने गरेको देखिएको छ ।  यसरी सरकारलाई समेत फाइदा हुने गरी बाँझिएका जमिनमा  ‘रुख खेती’ गर्ने किसानको आकर्षणलाई नयाँ सरकारी नीतिले प्रोत्साहन गर्नुपर्ने प्रमुख त्रिपाठीले बताउनुभयो ।  उहाँले गोलियालाई वन पैदावरका रूपमा नभएर कृषि उपजका रूपमा बेच्न पाउने गरी खेती गर्नमा किसानलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना