• १४ वैशाख २०८१, शुक्रबार

महिला हिंसा सहरमा पनि उत्तिकै : मन्त्री रेग्मी

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी ।

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर २५ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसाविरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताउनुभएको छ । उहाँले महिला हिंसा गाउँघरमा मात्रै नभई सहरी क्षेत्रमा पनि उत्तिकै रहेको छ भन्नुभयो । 

आइतबार नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यस्थलमा हुने लैङ्गिक हिंसा र न्यूनीकरणका उपाय विषयक अन्तरक्रियामा बोल्दै मन्त्री रेग्मीले महिला हिंसाविरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताउनुभएको हो । 

उहाँले अभियानको रूपमा बन्द कोठाभित्र कार्यक्रम गर्दा प्रभावकारी हुन नसकेको भन्दै उहाँले समाजलाई महिला हिंसाको सम्बन्धमा सचेत गराउनका लागि सडक र गाउँ–गाउँमा अभियान लिएर जानुपर्ने बताउनुभयो ।

उहाँले महिला हिंसा गाउँघरमा मात्रै नभई सहरी क्षेत्रमा पनि उत्तिकै भएको बताउनुभयो । मन्त्री रेग्मीले समाजलाई सचेत नगराई महिला हिंसाको अन्त्य नहुने बताउनु भयो । 

उहाँले राजनीतिक दलहरूले पनि महिला हिंसाको विरुद्धमा अभियान नै सञ्चालन गर्नुपर्ने उल्लेख गर्नुभयो । राजनीतिक दलहरूले घोषणापत्रमा लेखेर र भाषण गरेर मात्रै नपुग्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘यो समाजलाई सचेत नगरीकन महिला हिंसाको सरकारले गरेर मात्रै पनि भएन ।’’

उहाँले जति पढे लेखेको भए पनि हिंसा भएकै छ, दूरदराजको कुरा मात्रै होइन जान्ने, सुन्ने उच्च ओहोदा भएको ठाउँमा पनि हिंसा भएको बताउनु भयो । 

मन्त्री रेग्मीले भन्नुभयो, ‘‘हामीले अब अभियानको रूपमा सडकमा गर्ने हो कार्यक्रम । अब कोठाभित्र कार्यक्रम गरेर हुँदैन । सडकमा हिंसा विरुद्धको अभियानको रूपमा सडक नाटक होस् । अथवा ब्यानर, माइक लिएर बाजागाजा लिएर सडकको कामसम्म पुर्‍याउनुपर्ने अवस्था छ । कानुन हुँदाहुँदै पनि अपराधीले हातमा कानुन लिएर अपराध गरिरहेको छ । त्यसैले हामी सबै सचेत हौँ । समाजलाई सचेत नगराईकन यो हिंसाको अन्त्य हुँदैन । राजनीतिक दलले अभियानको रूपमा लिनैपर्छ । घोषणापत्रमा मात्रै लेखेर पुग्दैन । भाषण गर्दा मात्र भनेर पुग्दैन । अभियानको रूपमा राजनीतिक दलले यो समस्यालाई लिएको खण्डमा मात्रै न्यूनीकरण हुनसक्छ । समाज, राजनीतिक दल सबैलाई समेत गराऔँ ।’’

उहाँले ९५ प्रतिशत घरमा कुनै न कुनै रूपमा महिला हिंसा हुने गरेको बताउनु भयो । महिला हिंसाको सम्बन्धमा प्रशस्त कानुन भए पनि कानुन कार्यान्वयनको पक्ष भने फितलो हुने गरेको उहाँको भनाइ छ । मन्त्री रेग्मीले कानुनलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।