• १४ वैशाख २०८१, शुक्रबार

जोखिम मोलेर यात्रा गर्न बाध्य

ग्रामीण सडकमा सुरक्षाको चुनौती

blog

पहाडी क्षेत्रको सडकमा यात्रा गर्दै स्थानीय। तस्बिर : मीना कँडेल

मीना कँडेल

कावासोती, मङ्सिर २५ गते। नवलपुरको ग्रामीण सडकमा दुर्घटना बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालयले सडक सुरक्षा नीतिमा चासो देखाएको छ। जिल्ला प्रहरी कार्यालयको समन्वयमा सुरक्षाकर्मी, पालिका प्रतिनिधि, यातायात व्यवसायी, नागरिक समाजसहितको संयुक्त बैठकले जिल्लाको पहाडी क्षेत्रमा प्रहरी र ट्राफिकसहित पाँच स्थानमा प्रहरी बिट थप गरिने भएको छ।

एक महिनाको अन्तरालमा पहाडी सडक खण्डमा दुई ठूला सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएपछि सो खण्डको सुरक्षाको विषयमा विभिन्न निर्णय गरेको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जनकारी दिनुभयो। 

जीर्ण सडकका कारण पहाडी क्षेत्रका बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। जीर्ण सडक र सवारीमा यात्रुको चाप धेरै हुँदा यात्रा कष्टकर मात्रै नभई जोखिमपूर्ण हुने गरेको बुलिङटारका स्थानीय पूर्ण थापाले गुनासो गर्नुभयो।

बौदीकाली, बुलिङटार र हुप्सेकोटका विभिन्न क्षेत्रको एउटै रुट हुँदै चल्ने सवारी साधन चेकजाँच गर्नको निमित्त देवचुली नगरपालिकाको मुण्डे र कुमसोत, बुलिङटार गाउँपालिकाको बोझा पोखरी र कोखे साथै बौदिकाली गाउँपालिकाको देवीथानमा चेकपोष्ट स्थापना गरेर नियमित चेकजाँच सुरु गरेको प्रहरी उपरीक्षक तिवारीले बताउनुभयो।

नगरपालिका तथा गाउँपालिकाभित्र रहेका सडकको स्थानीय पालिका र सडक डिभिजन कार्यालयले नियमित सडक मर्मत सम्भारको व्यवस्था मिलाउने निर्णय गरेको बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले जानकारी दिनुभयो। पहाडी सडकमा चल्ने सवारी साधनलाई यातायात व्यवस्था कार्यालय, यातायात समिति, ट्राफिक प्रहरी, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयले संयुक्त अनुगमन तथा नियमित जाँच गर्ने निर्णय गरिएको छ।