• १३ वैशाख २०८१, बिहिबार

महोत्सवको पाँचौँ दिन

अडियो नाटक ‘ट्री कन्फेसन’

blog

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)को पाँचौँ दिन दुई नाटकसँगै नृत्य नाटिका र अडियो नाटक प्रस्तुत भएका छन् ।

अमेरिकी अडियो नाटक ‘ट्री कन्फेसन’मा हामीले बिर्सिसकेको मानव र बोटबिरुवाबीचको अन्तरसम्बन्धित पारिस्थितिक प्रणालीबारेको कथा एउटा रुखले बताउँछ । दर्शक/श्रोताले रुखको मुनि बसेर रुखको स्वीकारोक्ति सुन्न पाउनेछन् । नाटकलाई जेनी दिन बडरले लेख्नुभएको हो भने एरिन बी मिलेले निर्देशन गर्नुभएको हो । उरुग्वेको एन्ड्रेस फागियोलिनो र बेटिना डोमिन्गोएज निर्देशित नाटक ‘रियो’मा थिएट्रिकल क्लाउन पर्फमेन्समा खडेरीले पिरोलेको ठूलो क्षेत्र नजिक रहेको सहरको कथा देखाइएको छ । दुई जना मानिसलाई उक्त खडेरी पर्ने क्षेत्रको बारेमा पत्ता लगाउन पठाइन्छ, तिनीहरूको यात्राले मानवीयताका धेरै पत्र खुलाउँदै जान्छ । 

‘इम्ब्रिओनिक’ केदारनाथ पौडेलको लेखन तथा निर्देशन रहेको नाटक हो । नाटकले हृदय र मस्तिष्कबीचको विरोधाभाषसँगै अस्तित्वसम्बन्धी प्रश्न र आफूभित्रको विचारलाई फर्केर हेर्ने र त्यसबारे ससाना विवरण याद गर्ने प्रयास गराउँछ ।

बेलुकीपख महोत्सवमा ‘पाइतालाका यात्रा’ शीर्षकमा नृत्य नाटिका प्रस्तुत भएको थियो । नम्रता केसीको कोरियोग्राफीमा चरिया नाचबाट सुरु भएर दर्शकले हिमाल हुँदै तराईसम्म हाम्रो पाइला टेकेर यात्रा गर्नेछन् । प्रस्तुतिले सांस्कृतिक पहिचान संस्कृतिका विभिन्न पक्ष पछ्याइएको छ ।

नृत्य नाटिकामा मनीषा बस्नेत, कुन्ती सिमाली, रोज महर्जन, ऋतिका महर्जन, अनुपमा केसी, डिलासा गुरुङ, अनु गौतम, दीपिका खतिवडा, सुजाता गुरुङ, वर्षा ढकाल, ज्ञानु लामा, मेलिसा घिमिरे, सदीक्षा गौतम, सुजाता दास, मृणाल श्रेष्ठ, गणेश श्रेष्ठ, अनु गौतम, रिजवान थापा र सविना पोखरेलको प्रस्तुति रहेको छ ।