• १५ वैशाख २०८१, शनिबार

प्रतिनिधि सभा सुनसरी क्षेत्र नं. ४

गणक फेरिए, कार्कीको अग्रता कायमै

blog

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की

जयकृष्ण यादव 

इनरुवा, मङ्सिर १३ गते । शनिबार दिउँसोबाट स्थगित भएको सुनसरीको निर्वाचन क्षेत्र नं. ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना कार्य तीन दिनपछि सुरु भएको छ ।

मतगणनामा त्रुटि भएकाले पुनः मतगणनाको माग गर्दै नेपाली कांग्रेसका उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिनुभएको निवेदन उपर सुनुवाइ गर्दै निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि मतगणना कार्य सुरु भएको हो । 

मंगलबार सर्वदलीय बैठक बसेर दिउँसो साढे ४ बजेबाट मतगणना कार्य सुरु भएको छ ।

उम्मेदवारहरूसहितको सर्वदलीय बैठकबाट सिसिटिभी फुटेज हेर्ने प्रस्ताव आएकाले त्यसै अनुसार सिसिटिभी फुटेज हेर्ने काम मध्याह्नसम्म भएको थियो । 

यसअघि जारी गरिएको गणक परिचयपत्र खारेज गरी नयाँ परिचयपत्र जारी भएको छ । गणनामा खटिएका यसअघिका सबैलाई निकालेर सुनसरी जिल्ला अदालतका मात्रै कर्मचारीलाई गणनामा खटाएर दिउँसोबाट मतगणना कार्य सुरु भएको सहायक निर्वाचन अधिकृत मोहनबहादुर अधिकारीले जानकारी दिनुभयो ।

यस क्षेत्रमा हालसम्मको मतगणनामा कांग्रेसका उम्मेदवार कार्कीले २३ हजार ४३९ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ । 

नेकपा (एमाले) का उम्मेदवार जगदीशप्रसाद कुसियैतले २३ हजार ३४१ मत प्राप्त गर्नुभएको छ । मतगणना सुरु भएको र पहिलो एक सय गन्दा ५१ रुख र ३१ सूर्यमा मत प्राप्त भएको छ ।