• १५ वैशाख २०८१, शनिबार

नेदरल्यान्ड्स नकआउटको सँघारमा

blog

दोहा, मङ्सिर १३ गते । विश्वकप फुटबलको उपाधि दाबेदारमध्ये एक नेदरल्यान्ड्स प्रिक्वाटरफाइनलमा सँघारमा रहेको छ। समूह ‘ए’मा नेदरल्यान्ड्सले समूह चरणको होडबाट बाहिरिसकेको आयोजक कतारविरुद्ध खेल्दै छ। कतारले सुरुका दुई खेल हारेको थियो।

नेदरल्यान्ड्सलाई तुलनात्मक रूपमा कमजोर कतारविरुद्ध बराबरी पनि पर्याप्त छ। कतारसँग हारे पनि यस समूहको अर्को खेलमा इक्वेडरले सेनेगललाई हराएमा नेदरल्यान्ड्स अगाडि बढ्नेछ। ७१ वर्षीय प्रशिक्षक लुइस भान गालले नेदरल्यान्ड्सलाई विश्वकप दिलाउन आफ्नो सन्न्यासलाई रोकिरहनुभएको छ। नेदरल्यान्ड्स तीन पटक फाइनलमा पुगेर पनि विश्व च्याम्पियन बन्न नसकेको अभागी टिम हो। सन् १९७४ मा पश्चिम जर्मनी, सन् १९७८ मा अर्जेन्टिना र सन् २०१० मा स्पेनसँग फाइनलमा हारेपछि नेदरल्यान्ड्स नजिक पुगेर पनि विश्वविजेता बन्नबाट वञ्चित भएको थियो। सन् २०१४ मा पनि नेदरल्यान्ड्सले तेस्रो स्थान हासिल गरेको थियो।

इक्वेडरलाई भ्यालेन्सियाको चिन्ता

सन् २०१४ पछि इक्वेडरले अहिलेसम्म विश्वकपमा गरेका छ गोल सबै इनर भ्यालेन्सियाको नाममा रहेको छ। चालू विश्वकपको उद्घाटन खेलमा कतारलाई २–० ले हराउँदा दुवै गोल भ्यालेन्सियाले नै गर्नुभएको थियो। दोस्रो खेलमा भ्यालेन्सियाको गोलको सहयोगमा इक्वेडरले नेदरल्यान्ड्सलाई १–१ ले बराबरीमा रोक्यो। भ्यालेन्सियाको यस प्रदर्शनले समूह ‘ए’मा दुई खेलबाट चार अङ्क बनाएको इक्वेडरलाई नकआउट चरणमा स्थान बनाउन मङ्गलबार सेनेगलविरुद्ध एक अङ्क पर्याप्त हुनेछ। तर नेदरल्यान्ड्सविरुद्ध घुँडामा चोट लागेपछि ३३ वर्षीय भ्यालेन्सियालाई स्ट्रेचरमा मैदानबाहिर लगिएको थियो। त्यसैले सेनेगलविरुद्ध भ्यालेन्सियाले खेल्नेबारे इक्वेडरले अहिलेसम्म केही बताएको छैन।

अफ्रिकी च्याम्पियन सेनेगललाई भने अगाडि बढ्न इक्वेडरलाई हराउनैपर्ने बाध्यता छ। पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–० ले हारेको सेनेगलले दोस्रो खेलमा घरेलु टिम कतारलाई ३–१ ले पराजित गरी नकआउट चरणमा पुग्ने सम्भावनालाई कायम राखेको थियो। एपी