• १५ वैशाख २०८१, शनिबार

अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन हुँदै

blog

काठमाडौँ, कात्तिक २४ गते । आउँदो शनिबारदेखि दोस्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय सम्मेलन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र अङ्ग प्रत्यारोपण समाज नेपालको संयुक्त अयोजनामा हुन लागेको हो ।

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अन्तर्राष्ट्रिय अङ्ग प्रत्यारोपण सम्मेलनमा अमेरिका, जापान, भारत, बङ्गलादेश, स्लोभानिया तथा नेपालका ख्याति प्राप्त प्रत्यारोपण विज्ञहरू सहभागी हुने जानकारी दिनुभयो । डा. श्रेष्ठका अनुसार ‘विकासोन्मुख मुलुकहरूका लागि मृत्युपर्यन्त अङ्गदान र प्रत्यारोपण’ भन्ने नारा दिइएको सम्मेलनको मुख्य उद्देश्य जनचेतना अभिवृद्धि र अङ्ग प्रत्यारोपणसम्बन्धी अनुभवको आदानप्रदान गर्नु हो । 

सम्मेलनबाट विकासोन्मुख मुलुकमा रहेका अङ्गदानसम्बन्धी रहेका समस्या र त्यसको समाधान तथा मृत्युपश्चात् अङ्ग दिन सकिने प्रावधानको व्यापक प्रयोग हुने र विदेशी मुलुकमा जस्तै अङ्ग प्रत्यारोपण कार्य सुचारु गर्ने विषयमा छलफल हुनेछ । सम्मेलनमा नेपालका तर्फबाट १६ वटा कार्यपत्र र विदेशी विज्ञहरूबाट १२ वटा कार्यपत्र प्रस्तुत हुने जानकारी पनि उहाँले दिनुभयो ।