दिगो विकासमा युवा

कमल सुवेदी


 

विश्वमा युवा अधिकारको बारेमा चिन्तनको शुरुवात सन् १९३० को दशकमा देखापरेको विश्व आर्थिक मन्दीबाट शुरु भएको पाइन्छ ।  विश्वलाई आर्थिक मन्दीबाट बचाउन युवाको जोश, जाँगर र प्रतिभाको भरपुर सदुपयोग गर्नुपर्ने आवश्यकता बोध हुन थालेपछि युवा अधिकार र अन्तरपुस्ता समन्वयको अवधारणाले मूर्तरूप लिएको हो ।  द्वितीय विश्वयुद्धपछि संयुक्तराष्ट्र सङ्घको स्थापना भई अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको विकाससँगै युवा अधिकारबारे राष्ट्रभित्र पनि चिन्तन र बहस शुरु भएको पाइन्छ ।
अन्तर्राष्ट्रिय युवा दिवस १९९९ देखि विश्वभरिका राष्ट्रले उत्सवको रूपमा मनाउँदै आइरहेका छन् ।  संयुक्तराष्ट्र सङ्घले युवाका मुद्दालाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा  घोषणा गरेको छ ।  युवाका विषयमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जगारुक गराउन यो दिवसको मनाउने गरिन्छ ।  यसवर्ष शान्ति निर्माणमा युवा मूल नाराकासाथ विश्वभर युवा दिवस मनाइँदै छ ।    
सामान्य अर्थमा व्यक्तिलाई उमेरका आधारमा गरिने पहिचान अनुरूप बाल्यावस्था पार गरिसकेका र प्रौढावस्थामा पुगिनसकेका समूहका व्यक्तिलाई युवा भनिन्छ ।  युवा त्यो उमेर समूह हो, जसमा राष्ट्रको भविष्यका कर्णाधार वर्तमानका साझेदार तथा विकास र परिवर्तनका संवाहकको सामथ्र्य रहेको हुन्छ ।  राष्ट्र निर्माणमा सबै उमेर र अवस्थाका व्यक्तिको भूमिका महŒवपूर्ण मानिने सन्दर्भमा युवाको भूमिकालाई अझ अर्थपूर्ण र क्रियाशील रूपमा हेरिन्छ ।  युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रूपमा विकसित हुने अवसर राज्यले सिर्जना गर्नुपर्छ ।  हरेक देशमा भएका आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनमा युवा शक्तिको निर्णायक सहभागिताका कारण परिवर्तन सम्भव भएको हो ।  राज्यले निर्माण गर्ने कानुन, नीति एवम् कार्यक्रममा युवा र उनीहरूका सरोकारका विषय सम्बोधन हुन आवश्यक छ ।  युवालाई राज्य सञ्चालन प्रक्रियामा समावेश गर्न नसकेमा राष्ट्रले उनीहरूको ऊर्जा र प्रतिभाबाट लाभ लिनुको सट्टा कुलत, विकृति, द्वन्द्व र अस्थिरताको सामना गर्नुपर्ने स्थिति आउन सक्छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार, १६–४० वर्ष सम्मका कुल युवा जनसङ्ख्या एक करोड छ लाख ८९ हजार ८४२ अर्थात् ४०.३ प्रतिशत रहेको छ ।  नेपालको कुल युवा जनसङ्ख्याको ५४.५ प्रतिशत महिला र ४५.८ प्रतिशत पुरुष रहेका छन् ।  त्यसैगरी, १६ देखि २५ वर्ष उमेर समूहका युवाको साक्षरता दर ८० प्रतिशत रहेको छ भने २६ देखि ४० वर्ष उमेर समूहका युवाको साक्षरता दर ६१.३ प्रतिशत छ ।  कुल युवा जनसङ्ख्यामध्ये सात लाख ४८ हजार पुरुष र छ लाख ४४ हजार महिलाले एस.एल.सी. वा सो सरह उत्तीर्ण गरेका छन् ।  
कुल युवा जनसङ्ख्याको १४ प्रतिशत अर्थात् १४ लाख ७५ हजार ६९२ युवा रोजगारी र शिक्षाका लागि विदेशमा रहेका छन् ।  त्यसैगरी, एक लाख ६२ हजार ५४८ वा १.५२ प्रतिशत  युवा  अपाङ्गता रहेको देखिएको छ ।  जसमध्ये ५५ प्रतिशत पुरुष र ४५ प्रतिशत महिला रहेका छन् ।  युवा संलग्नरत क्रियाकलापका आधारमा हेर्ने हो भने १६–२५ वर्ष उमेर समूहका ५०.०६ प्रतिशत पुरुष अध्ययनमा र २६ देखि ४० वर्ष उमेर समूहका ३७.२१ प्रतिशत पुरुष ज्यालादारी÷तलबसम्बन्धी काममा संलग्न रहेको देखिएको छ ।  त्यसैगरी, १६ देखि २५ वर्ष उमेर समूहका ३७.५३ प्रतिशत महिला अध्ययनमा संलग्न छन् भने १६ देखि ४० वर्ष उमेर समूहका ३९.२ प्रतिशत महिला घरायसी कामकाजमा संलग्न रहेको देखिन्छ ।  
त्यसैगरी, १६ देखि २५ वर्ष उमेर समूहमा कुल युवा जनसङ्ख्याको करिब ५० प्रतिशत पुरुष र ४२ प्रतिशत महिला तथा २६ देखि ४० वर्ष उमेर समूहमा कुल युवा जनसङ्ख्याको करिब ९४ प्रतिशत पुरुष र ६६ प्रतिशत महिला आर्थिक रूपमा सक्रिय रहेको देखिएको छ ।  
  मुलुकको आर्थिक, सामाजिक, राजनीतिक र राजनीतिक रूपान्तरणमा युवा वर्गको भूमिका महŒवपूर्ण रहेको छ ।  युवा शक्ति विकासका लागि आवशयक ऊर्जाका स्रोत हुन् ।  कृषि तथा उत्पादनमूलक क्षेत्र र श्रम क्षेत्रमा पनि युवाको उपस्थिति ठूलो छ ।  अध्ययन, रोजगारी, जीविकोपार्जन र अवसरको खोजीका लागि धेरै युवा शहर केन्द्रित मात्र होइन विदेश पलायन भएको यथार्थता हाम्रो सामु टड्कारो रूपमा छ ।  विगतमा युवा र उनीहरूका सरोकारका विषयलाई राज्यका नीति, कानुन एवम् कार्यक्रमले सही रूपमा सम्बोधन गर्न नसक्दा अवसरको खोजीमा विदेश जाने र उतै पलायन हुने समस्याले विज्ञ र विशेषज्ञको सेवा एवम् ऊर्जाबाट मुलुक स्वयम् वञ्चित हुन पुगेको छ ।  रोजगार बजारमा उपलब्ध दक्ष र योग्य युवालाई देशभित्र अवसर सिर्जना गर्न नसक्नुको मुख्य कारण जनशक्तिको माग र शिक्षाबीच सामञ्जस्य कायम हुन नसक्दा धेरै युवा बेरोजगार हुनु परेको र त्यसको समाधानका लागि विदेशिने गरेको पाइन्छ ।
राज्यका नीति, कानुन एवम् कार्यक्रमले युवाका सरोकारका विषयमा प्राथमिकतासाथ उल्लेख गर्न सकेको देखिँदैन ।  राज्यबाट युवा मन्त्रालयको स्थापना, राष्ट्रिय योजना आयोगद्वारा सञ्चालित राष्ट्रिय विकास स्वयम्सेवक सेवा, युवा स्वरोजगार कार्यक्रम जस्ता युवा केन्द्रित केही कार्यक्रम सञ्चालन भएको पाइन्छ तर ती कार्यक्रम पूर्ण छैनन् ।  त्यसैगरी, गैरसरकारी क्षेत्रबाट पनि युवामा चेतना अभिवृद्धि, सशक्तीकरण, दुव्र्यसन रोकथाम, पुनःस्थापना, व्यावसायिक सीप विकास, जस्ता युवा लक्षित कार्यक्रम सञ्चालन भएको पाइन्छ ।  यद्यपि, बर्सेनि लाखौँ युवा रोजगारीका लागि विदेशिन बाध्य छन् ।  कठोर श्रम र ऊर्जाशील समय विदेशी भूमिमा खर्चेका छन् ।  कुल युवाको जनसङ्ख्या झण्डै ४१ प्रतिशत रोजगारीकै लागि विदेशिनु र देशको कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्सको हिस्सा ३० प्रतिशतको हाराहारीमा हुनुले देशको अर्थतन्त्र सङ्कटोन्मुख रहेको सङ्केत गर्छ ।  यसरी युवा शक्ति विदेशिनुले देश विकासको गति सुस्त हुन्छ र कालान्तरमा हामीलाई अझै परनिर्भर बनाउँछ ।  त्यसैले युवा शक्तिलाई देश विकास संलग्न गराउन राज्यले स्पष्ट नीति तथा कार्यक्रम सञ्चालन गर्नुपर्छ ।   
युवा राष्ट्रका भविष्य हुन् ।  युवाहरू वास्तविक अर्थमा समाज परिवर्तनका संवाहक शक्ति हुन् ।  युवा राष्ट्र निर्माणका पूर्वाधार हुन् ।  देशको जानसाङ्ख्यिक तथा श्रम शक्तिको दृष्टिले सबैभन्दा बढी र सबल क्षेत्रको रूपमा रहेको युवाशक्तिको राज्यले सही रूपमा पहिचान र उपयोग गर्न राज्यले सकेको छैन ।  देशमा शिक्षा, रोजगारी तथा अन्य अवसरको अभावमा देशको प्रमुख ऊर्जाको रूपमा रहेका युवा विभिन्न कारणले पलायन हुने अवस्था ज्यादै चिन्ताको विषय हो ।  युवाले विदेशमा गएर कमाएर पठाएको विप्रेषणको रकम तत्काललाई नेपालको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको भए पनि यस्तो श्रम शक्तिलाई स्वदेशमा नै परिचालन गर्ने प्रयास हुन नसकेमा भविष्यमा यसबाट देशले ठूलो नोक्सानी व्यहोर्नुपर्ने निश्चित छ ।
सहभागिता र अवसरका दृष्टिले नेपालका युवाको अवस्था सन्तोषप्रद छैन ।  त्यसमा पनि महिलाको अवस्था अझ नाजुक रहेको छ ।  युवाका विभिन्न अधिकारलाई सही रूपमा सम्बोधन गरी उनीहरूको ज्ञान, सीप र अनुभव र सिर्जनशीलतालाई राष्ट्रिय विकासमा मूल प्रवाहिकरण गर्नेतर्फ राष्ट्रका नीति तथा कार्यक्रम निर्देशित हुनु जरुरी छ ।  युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकका रूपमा विकसित हुने अवसर राज्यले प्रदान गर्नका लागि राज्यले युवाका चासोलाई समुचित ढङ्गले सम्बोधन गर्न आवश्यक देखिन्छ ।  यसका लागि राष्ट्रिय स्वतन्त्रता, न्याय र शान्ति स्थापनाका लागि युवा शक्तिको परिचालन, देशको समग्र क्षेत्रमा युवाको समानुपातिक सहभागिता, युवाबीच अवसर र रोजगारीका समान अवसर, विदेशमा रहने युवाको संरक्षण र सम्बद्र्धनको व्यवस्था, राष्ट्रिय विकासमा युवाका ज्ञान, सीप र क्षमताको उपयोग जस्ता विषय प्रमुख रूपमा राज्यले सम्बोधन गर्नुपर्छ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds