• १४ वैशाख २०८१, शुक्रबार

चितवनमा टिक्न नसकेर दाहाल गोरखा : अध्यक्ष ओली

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक १९ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवनमा टिक्न नसक्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचन लड्न गोरखा जानुपरेको टिप्पणी गर्नुभएको छ । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा शनिबार उद्घाटन गर्दै उहाँले सो टिप्पणी गर्नुभएको हो ।

दाहालले आफ्नै नेतृत्वमा चलाएको युद्धका कारण धेरै नेपालीले बेसहारा जीवन गुजार्नुपरेको उहाँले बताउनुभयो । सशस्त्र युद्धका कारण पीडामा परेकालाई बेवास्ता गरेर आफ्ना परिवार र आफ्न्तको हितमा मात्रै नेताहरुले काम गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘देशमा १७ हजार मानिस मारिए । बेसहारा बुबा, आमाहरु धेरै छन्, शरीरमा गोली लिएर, अङ्गभङ्ग भएर ह्वील चियरमा लौरा टेकेर, बैशाकी टेकेर धेरैलाई हिंड्नुपरेको छ, उहाँहरुको चिन्ता किन भएन ?” 

अध्यक्ष ओलीले आगामी निर्वाचनपछि एमाले एक्लैले बहुमत सरकार बनाउने दाबीसमेत गर्नुभयो । सत्तारुढ गठबन्धनले आगामी निर्वाचनमा जनमत पाएमा देश आर्थिक रुपमा झन् कमजोर बन्ने उहाँको आरोप छ । उहाँले भन्नुभयो, ‘यो गठबन्धन सरकारले जनता र देशको पक्षमा काम गर्न सकेन, आउने निर्वाचनबाट जनताले यसलाई विस्थापित गरेर एमाले नेतृत्वमा सरकार गठन गर्ने मत दिनुहुन्छ ।”

मङ्सिर ४ को निर्वाचनमा जनताले सही फैसला गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । देश बनाउने पार्टी एमाले रहेको उहाँले दाबी गर्नुभयो । देश बनाउन नेपाललाई बलियो राजनीतिक शक्तिको आवश्यकता रहेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले त्यो शक्ति एमाले बनेमात्र देश विकास सम्भव रहेको बताउनुभयो । नेकपा एमालेको अघि सारेको मिसन, भिजनअनुसार नै देश समृद्ध हुने उहाँले चर्चा गर्नुभयो ।

अध्यक्ष ओलीले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने योजना, नीति र कार्यक्रम आफ्नो पार्टीसँग मात्रै भएको भन्दै आगामी निर्वाचनमा नेपाली जनताले सरकार बनाउनेगरी साथ दिनुपर्ने बताउनुभयो ।