• ११ असार २०८१, मङ्गलबार

अफ्रिकामा शरणार्थीहरु सङ्कटपूर्ण अवस्थामा रहेका राष्ट्रसङ्घको भनाइ

blog

जेनेभा, कात्तिक ९ गते । संयुक्त राष्ट्रसङ्घले अफ्रिकी देशहरुमा पछिल्लो समयमा देखिएको राजनीतिकलगायतका सङ्कटका कारण यहाँका शरणार्थीहरुको अवस्था निकै सङ्कटपूर्ण रहेको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घले यहाँ सरकारहरुले राखेका तथ्याङ्कमा भन्दा पनि बढी शरणार्थीहरु रहेका र उनीहरुका समस्या पनि निकै धेरै रहेका बताएको हो ।

साथै यहाँ पछिल्ला दिनहरुमा शरणार्थी बढ्दै गएका र आगामी दिनमा यो सङ्ख्या थप बढ्ने चेतावनी पनि संयुक्त राष्ट्रसङ्ले दिएको छ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो ग्रान्डीले सो कुरा बताउनुभएको हो । उहाँका अनुसार अफ्रिकी देशहरुमा शरणार्थीहरुको सङ्ख्या बढ्दै गएसँगै कतिपय स्थानमा उनीहरुको अवस्था पनि अज्ञात रहेको उहाँको भनाइ छ ।

सोमालिया र केन्याको पाँचदिने भ्रमण सकेसँगै मङ्गलबार दिनुभएको प्रतिक्रियामा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले यहाँका शरणार्थीहरुका कैयौँ समस्या रहेका, उनीहरुले सङ्कटपूर्ण अवस्थाबाट दिन काट्नु परिरहेको भन्दै यसका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभएको हो ।

विश्वले नै यो संवेदनशील विषयमा ध्यान दिनु जरुरी छ र विश्वका दाता एवम् अन्य राष्ट्रहरुले सहयोगको हात बढाउनुपर्ने अवस्था छ– उहाँले भन्नुभएको छ ।सोमालियमा मात्र यस वर्ष कम्तीमा दश लाख नागरिक खडेरीका कारण विस्थापित भएका तथ्याङ्क संयुक्त राष्ट्रसघसँग रहेको उहाँले बताउनुभयो ।

उच्चायुक्त फिलिपोले सोमालियमा नै आन्तरिक राजनीतिक विवाद र हिंसाका कारण विस्थापित भएकाहरुको सङ्ख्या कम्तीमा पनि पाँच लाख रहेको जानकारी दिनुभयो । त्यसैगरी उहाँले केन्याका दबाद र काकुनामा रहेका शरणार्थी शिविरहरुको भ्रमण गर्नुभएको थियो । ती शिविरमा रहेका कम्तीमा पनि ५० हजार शरणार्थीलाई तत्कालै अत्यावश्यक सहयोगको खाँचो रहेको बताउनुभएको थियो । रासस/सिन्ह्वा