• १२ असोज २०८१, शनिबार

आठराई त्रिवेणीको बजेट ५० करोड ५४ लाख

blog

आठराई त्रिवेणीको बर्खे अधिवेशनमा बजेट प्रस्तुत गर्नुहुँदै उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङ ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार १० गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कूल ५० करोड ५४ लाख रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार सम्पन्न वर्षे अधिवेशनमार्फत आठराई त्रिवेणी गाउँपालिकाले उक्त बजेट सार्वजनिक गरेको हो ।

अधिवेशनमा गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङ्वुहाङले आगामी आवको बजेट प्रस्तुत गर्नुभएको छ । उपाध्यक्ष आङ्बुहाङले सार्वजनिक गर्नुभएको बजेट अनुसार सङ्घीय सशर्त अनुदानतर्फ १० करोड ९४ लाख १५ हजार रुपियाँ रहेको छ । यस्तै, वित्तीय समानीकरणतर्फ १० करोड ३० लाख रुपियाँ र प्रदेश सरकारबाट ६४ लाख १५ हजार रुपियाँ बजेट रहेको राखिएको छ । 

यस्तै, राजस्व बाँडफाँडतर्फ सात करोड नौ लाख रुपियाँ रकम रहेको छ । सङ्घीय सरकारबाट प्राप्त एक करोड ५० लाख र प्रदेश सरकारबाट प्राप्त एक करोड रुपियाँ गरी दुई करोड ५० लाख रुपियाँ पूर्वाधार निर्माणमा खर्च गर्नेगरी बजेट विनियोजन भएको छ । त्यस्तै सङ्घीय सरकारबाट प्राप्त २० करोड १९ लाख पाँच हजार र प्रदेश सरकारबाट प्राप्त ५१ लाख ५० हजार रुपियाँ रकम सर्तअनुसार खर्च गर्ने गरी कार्यक्रम विनियोजन गरिएको छ । सङ्घीय सरकारबाट प्राप्त विशेष अनुदान बापतको रकम एक करोड ५० लाख रुपियाँ धोद्रे खानेपानी आयोजनामा खर्च गर्नेगरी गाउँपालिकाले योजना बनाएको छ । 

आन्तरिक आयतर्फ ३५ लाख रुपियाँ अनुमानित रकम निःशुल्क विद्युत कार्यक्रममा खर्च गर्ने गाउँपालिकाले प्रस्ताव गरेको छ । गत वर्षको नगद मौज्दात आठ करोड ७२ लाखसमेत नौ करोड सात लाख ७० हजार रुपियाँलाई कुल आन्तरिक आय मानेर शीर्षकगत कार्यक्रम तय गरिएको छ । गाउँपालिकाले गत वर्षदेखि पालिकावासीको विद्युत महसुल तिर्दै आएको छ । 

उक्त कार्यक्रमलाई निरन्तरता दिएको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमूले जानकारी दिनुभयो । जिल्लाका नौमध्ये आठाराई त्रिवेणी गाउँपालिकासहित सात स्थानीय तहले सोमबार आगामी आवको बजेट सार्वजनिक गरिरहेका छन् । अन्य दुई स्थानीय तह फक्ताङ्लुङ गाउँपालिकाले गएको शनिबार र मैवाखोला गाउँपालिकाले आइतबार नै बजेट सार्वजनिक गरिसकेका छन् ।