• १४ असार २०८१, शुक्रबार

टी-२० विश्वकप : अष्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा

blog

जितपछि भारतका खेलाडी ।

सेन्ट भिँसेन्ट, असार १० गते । बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियालाई २४ रनले हराउँदै भारत आइसिसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले समूह विजेतको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो ।

सेन्ट लुसियामा सोमबार बिहान भएको खेलमा जितका लागि दुई सय ६ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८१ रनमा समेटिएको थियो । 

अष्ट्रेलियाका लागि टाभिस हेडले ७६ रन बनाएपनि टोलीको हार टरेन । यस्तै कप्तान मिचेल मार्सले ३७, ग्लेन म्याकवेलले २०, टिम डेभिडले १५ र प्याट कमिन्सले ११ रन बनाउनुभयो । बलिङमा भारतका अर्सदिप सिंहले तीन विकेट लिनुभयो । कुददिप यादवले दुई तथा जसप्रित बुमराह र असर पटेलले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय पाँच रन बनाएको थियो ।

भारतका लागि कप्तान रोहित शर्माले ९२ रन बनाउनुभयो । ओपनर उहाँले ४१ बलमा सात चौका र आठ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । सूर्यकुमार यादवले ३१, शिभम् दुवेले २८, हार्दिक पाण्डेयले अविजित २७ र रिसव पन्तले १५ रन बनाउनुभयो ।

बलिङमा अष्ट्रेलियाका मिचेल स्टार्क र माकर्स स्टोइनिसले दुई दुई तथा जोस हेज्लेउडले एक विकेट लिनुभयो । जितसँगै सुपर आठमा अपराजित रहेको भारतले तीन खेलबाट ६ अङ्क जोड्दै समूह विजेतको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो ।

तीन खेलबाट दुई अङ्क बनाएको अष्ट्रेलिया दोस्रो स्थानमा छ । यस हारले अष्ट्रेलियाको सेमिफाइनल सम्भावना कमजोर बनेको छ । सुपर आठको समूह ए मा अफगानिस्तानले पनि दुई खेलबाट दुई अङ्क बनाएको छ ।

अब अफगानिस्तान र बङ्गलादेशबीचको खेलले सेमिफाइनलमा पुग्ने अर्को टोलीको निर्धारण गर्नेछ । यदि अफगानिस्तानले बङ्गलादेशलाई हरायो भने अफगानिस्तान सेमिफाइनलमा पुग्नेछ ।

बङ्गलादेशले जितेमा अष्ट्रेलियाको भाग्य चम्किनेछ । अङ्कबिहिन बङ्गलादेश विश्वकपबाट बाहिरि सकेको छ ।