• २६ वैशाख २०८१, बुधबार

ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण तुला राशिले हेर्नै नहुने

blog

सांकेतिक तस्बिर

काठमाडौं, कात्तिक ८ गते । ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण तुला राशिमा लाग्ने भएकाले तुला राशिका मानिसहरुले हेर्नै नहुने खगोलविद् एवम् वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा. जयन्त आचार्यले बताउनुभयो ।

कात्तिक कृष्ण औँसीका दिन आज (मङ्गलबार) ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्दै छ । ग्रहण आज दिउँसो ४ बजेर ५३ मिनेटमा स्पर्श भइ ५ बजेर २६ मिनेटमा अन्त्य हुनेछ ।

वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा. आचार्यले खण्डग्रास सूर्यग्रहण नेपालको पूर्वी भेगभन्दा पश्चिमी क्षेत्रबाट राम्रोसँग देखिने बताउनुभयो । यो सूर्यग्रहण नेपालमा भन्दा युरोपबाट राम्रोसँग देखिने जानकारी उहाँले दिनुभयो ।

ग्रहण जम्मा ३३ मिनेटको रहेकाले ग्रहण सुरु हुनुभन्दा ४ घण्टा अघिबाट खानेकुरा खान छोड्नुपर्ने बताउनुभयो ।

ग्रहण वृष, सिंह, धनु, मकर राशिलाई राम्रो रहेको बताउनुभयो । वृष राशिका मानिसले आजको ग्रहण हेर्दा सुख प्राप्ति हुने, सिंहलाई धन लाभ, धनु राशिलाई लाभ र मकर राशिलाई सुख प्राप्ति हुने योग रहेको उहाँले उल्लेख गर्नुभयो । खगोलविद् डा. आचार्यले मेष राशिलाई स्त्री पीडा, मिथुन राशिलाई चिन्ता, कर्कट राशिलाई व्यथा, कन्या राशिलाई क्षति, तुला राशिको लागि घात, वृश्चिकलाई धन क्षय, कुम्भ राशिलाई मान, इज्जत जाने भनिएको छ, मीन राशिलाई कष्ट हुने बताउनुभयो ।

वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा. आचार्यका अनुसार तुला राशिका लागि घात भनेको मृत्यु नै हुनसक्छ । यो ग्रहण तुला राशिमा लाग्ने भएकाले तुला राशिका मानिसहरुले हेर्नै हुँदैन ।

धर्मशास्त्रलाई मान्ने हो भने सुतक लागेकाे १२ घण्टा अघिबाट खानुहुँदैन । तर छोटो समयको लागि सानो ग्रहण भएकाले मध्यान्हकालदेखि निषेध गरिएको छ । यो वृद्धवृद्धाहरुका लागि छुट छ । सूर्यास्त भइसकेपछि खान सकिन्छ । यसको स्नान सुरु हुँदा, मध्याह्न र अन्त्यमा स्नान गर्दा राम्रो हुन्छ ।