• २९ वैशाख २०८१, शनिबार

टेनिसको टिम स्पर्धामा गण्डकी र सेनालाई स्वर्ण

blog

टेनिसमा पदक विजेता खेलाडी । तस्बिर : गोरखापत्र

गोरखापत्र समाचारदाता

पोखरा, असोज ३० गते । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा टेनिसको ‘टिम इभेन्ट’ प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ नेपाली सेनाले स्वर्ण पदक जितेका छन् । पोखरा रगंशालास्थित टेनिस कोर्टमा भएको खेलमा नेपालको शीर्ष वरियताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मी माथि २–१ खेल जित्दै च्याम्पियन बनेको हो ।

टिम इभेन्टको पुरुष एकलको पहिलो खेलमा सेनाका अकि जुवेन रावतले गण्डकीका अनिल शाहीलाई  ६–३ र ६–३ सेटमा पराजित गर्नु भएको थियो भने गण्डकीका प्रदीप खड्काले सेनाका प्रनव खनाल माथि ६–३ र ७–५ सेटमा जित निकाल्नु भएको थियो । 

पुरुष डबल्सतर्फको प्रतिस्पर्धामा प्रदीप र अनिलको जोडीले प्रनव र अकिको जोडीलाई  २–६, ६–३ र १०–७ को सेटमा पराजित गरेपछि गण्डकी च्याम्पियन बनेको हो । पुरुषतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरीले कांस्य पदक जित्यो । 

यस्तै महिलातर्फ सेनाका अभिलाषा विष्टले सशस्त्रका सर्भानी श्रेष्ठलाई ७–५, १–६ र ६–१ को सेटमा पराजित गर्नु भएको थियो । 

सेनाका आइरा एम रावतले सशस्त्रका सुनिरा थापालाई ६–१, १–६ र ७–५ सेटमा पराजित गरेपछि सेना च्याम्पियन बन्दै स्वर्ण पदक जित्न सफल भएको हो । महिला टिम इभेन्टमा बागमती प्रदेश र नेपाल प्रहरीले कांस्य पदक जितेको हो ।