• २६ वैशाख २०८१, बुधबार

प्रदेश सभातर्फ नयाँ अनुहार

blog

लीलाधर वली 

घोराही, असोज २८ गते । दाङमा प्रदेश सभाका छवटा निर्वाचन क्षेत्रमा मुख्य दलहरूले अधिकांश नयाँ अनुहार उम्मेदवार दिएका छन्। साना पार्टी र स्वतन्त्रबाट पनि नयाँ अनुहार नै छन्। 

दाङ निर्वाचन क्षेत्र नं. १ (क) मा इन्द्रजित चौधरी र क्षेत्र नं. ३ (क) मा डिल्लीबहादुर चौधरीबाहेक अन्य क्षेत्रमा सबै नयाँ अनुहार छन्। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रहनुभएका इन्द्रजित चौधरी गठबन्धबाट माओवादी केन्द्र र पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी गठबन्धनअन्तर्गत कांग्रेसबाट सोही क्षेत्रमा दोहोरिनुभएको छ। डिल्लीबहादुरसँग एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डे निर्वाचनमा भिड्दै हुनुहुन्छ। तुलसीपुर उपमहानगरपालिकाका पूर्वनगरप्रमुख पाण्डे पहिलो पटक प्रदेश सभा निर्वाचन लड्दै हुनुहुन्छ। यस क्षेत्रमा ६६ हजार ४८६ मतदाता छन्। जसमध्ये ३२ हजार १६६ पुरुष तथा ३४ हजार ३२० महिला मतदाता छन्। २१ मतदान स्थल र ७४ मतदान केन्द्र छन्। यस क्षेत्रमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ३, ४, ५, ६, ७, ८, ९, १२, १३, १४ र १५ वडा पर्दछन्।

त्यसै गरेर एमालेले निर्वाचन क्षेत्र नं. १ (क) मा गङ्गाराम भट्टराईलाई उम्मेदवार बनाएको छ। भट्टराई स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट एमालेमा प्रवेश गर्नुभएको थियो। उहाँलाई एमाले प्रदेश सभा उम्मेदवार बनाएको छ। यो क्षेत्रमा ७० हजार दुई सय ६७ मतदाता छन्। ३५ हजार तीन सय ७९ पुरुष तथा ३४ हजार आठ सय ८७ महिला मतदाता छन्। यो निर्वाचन क्षेत्रमा राप्ती गाउँपालिका, गढवा गाउँपालिकासँगै राजपुर गाउँपालिका वडा नं. १, २ र ३ नम्बर पर्छन्। यस क्षेत्रमा २४ वटा निर्वाचनस्थल र ७८ वटा निर्वाचन केन्द्र छन्।

क्षेत्र नं. १ (ख) मा मुख्य पार्टीले नयाँ अनुहारलाई उम्मेदवार बनाएका छन्। यस क्षेत्रमा गठबन्धनले अनुराग खड्कालाई उम्मेदवार बनाएको छ भने एमालेले कुलबहादुर केसीलाई उम्मेदवार बनाएको छ। खड्का नेपाली कांग्रेसका स्वर्गीय नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काका छोरा हुनुहुन्छ भने केसी लमही नगरपालिकाका पूर्वप्रमुख हुनुहुन्छ। यो क्षेत्रमा ६४ हजार ४६६ मतदाता छन्। जसमा ३२ हजार दुई सय ६२ पुरुष र ३२ हजार दुई सय चार जना महिला मतदाता छन्। यो क्षेत्रमा २७ मतदानस्थल र ७४ मतदान केन्द्र छन् भने लमही नगरपालिका, राजपुर गाउँपालिका वडा नं. ४, ५, ६ र ७ नम्बर वडासँगै घोराही उपमहानगरपालिका वडा नं. १, २, ३ र ५ नम्बर यो क्षेत्रमा पर्दछन्। 

क्षेत्र नं. ३ (ख) मा गठबन्धनले धनबहादुर मास्केलाई उम्मेदवार बनाएको छ। एमालेले हुकुमबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ। बस्नेत नेकपा एमाले दाङका अध्यक्ष हुनुहुन्छ। यो निर्वाचन दुवै उम्मेदवारका लागि नयाँ हो। प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार यस क्षेत्रमा ७९ हजार ९८९ मतदाता छन्। जसमा ३९ हजार ५०९ पुरुष र ४० हजार ४८१ महिला मतदाता छन्। यसक्षेत्र बबई गाउँपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिकासँगै तुलसीपुर उपमहानगरपालिका वडा नं. १, २, १० र ११ नम्बर पर्दछन्। यो क्षेत्रमा ३३ वटा मतदानस्थल र ९३ वटा मतदान केन्द्र छन्। 

क्षेत्र नं. २ (क) मा गठबन्धनले कांग्रेसका लुम्बिनी प्रदेश समिति उपसभापति राजु खनाल र एमालेले पनि लुम्बिनी प्रदेश कमिटी सदस्य बलिभद्र रानालाई उम्मेदवार बनाएको छ। खनाल २०७० सालको संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। राना भने पहिलो पटक निर्वाचनमा होमिँदै हुनुहुहुन्छ। यो निर्वाचन क्षेत्रमा ३० हजार ५५३ पुरुष र ३२ हजार ७६९ जना महिला मतदाता गरेर ६३ हजार ३२२ मतदाता छन्। २५ मतदानस्थल र ६८ मतदान केन्द्र छन्। यस क्षेत्रमा बङ्गलाचुली गाउँपालिकासँगै घोराहीका ४, १३, १४, १५, १७, १८ र १९ नम्बर पर्छन्। 

दाङ क्षेत्र न २ (ख) मा गठबन्धनबाट कांग्रेसका लुम्बिनी प्रदेश प्रवक्ता प्रचण्डविक्रम न्यौपाने र एमालेका प्रदेश कमिटी सदस्य गिरिराज केसीबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। न्यौपाने र केसीका लागि यो निर्वाचन संसदीय अभ्यासका लागि नयाँ हो। यस क्षेत्रमा ७० हजार चार सय २६ मतदाता छन्। पुरुष ३४ हजार ४१ र महिला ३६ हजार ३८५ छन्। २३ मतदानस्थल र ७८ मतदान केन्द्रहरू रहेको यस क्षेत्रमा घोराही उपमहानगरपालिका वडा नं. ६, ७, ८, ९, १०, ११, १२, १६ र तुलसीपुर उपमहानगरपालिका वडा नं. १६, १७, १८ र १९ नम्बर वडा पर्छन्।