• १५ वैशाख २०८१, शनिबार

गुन्डुवासीलाई माला बनाउन चटारो

blog

शिवा तामाङ

काठमाडौँ, असोज २८ गते । सूर्यविनायक नगरपालिका–७, गुन्डुका बासिन्दालाई तिहार पर्व नजिकिँदै गर्दा मखमली, सयपत्री फूल टिप्न र माला बनाउने कामले व्यस्त बनाएको छ । 

दशैँलगत्तै यहाँका किसान तथा फूल व्यवसायीलाई धानसँगै आली, कान्ला तथा खेत, बारीका पाटोमा लगाएको मखमली र सयपत्री फूल सङ्कलन तथा माला उन्ने कामको चटारो हुन्छ । त्यहाँका स्थानीय हरेक घरका आँगनमा मखमली, सयपत्रीको फूलको माला उन्ने काममा परिवारका पूरै सदस्यसहित जुटिरहेको भेटिन्छन् ।  

फूल व्यवसायी रञ्जना बस्नेत भन्नुहुन्छ, “गुन्डुका किसानले नगदेबालीका रूपमा परम्परागत खेती गर्दै आएको फूल खेती पछिल्लो समय टनेल बनाएर व्यावसायिक रूपमा समेत रोप्न थालेपछि फूलकै माध्यमबाट गाउँमा प्रशस्त नगद भित्रिन थालेको छ ।” 

बस्नेतले करिब पाँच रोपनीमा टनेलको व्यवस्था गरी लगाएको फूलखेती यस वर्ष भने हावाहुरीका कारण प्लास्टिक उडाएर नोक्सान भए पनि गत वर्ष सम्पूर्ण खर्च कटाएर करिब सात लाख रुपियाँ आम्दानी गर्न सफल भएको बताउनुभयो ।

त्यसैगरी स्थानीय गौरी थापा, शर्मिला विष्टले पनि घर वरपरका जग्गामा मखमली रोपेर वार्षिक करिब ५० हजार रुपियाँको मखमली बेच्दै आउनुभएको छ । 

बस्नेत, थापा र विष्टलगायत गुन्डुका सबै किसान तथा फूल व्यवसायीले फूलको मालाबाट यस सिजनमा प्रतिपरिवार २० हजारदेखि दसौँ लाख रुपियाँ आम्दानी गरिररहनुभएको छ । 

सूर्यविनायक नगरपालिका–७ का अध्यक्ष रवीन्द्र सापकोटाले गुन्डुका किसानले करिब २० वर्षभन्दा अगाडिदेखि परम्परागत रूपमा खेती गर्दै आएको फूल खेतीलाई व्यवसायिक रूपमा अगाडि बढाउन किसानलाई फूलका बेर्ना, कृषि सामग्रीमा अनुदान प्रदान गर्न थालेको बताउनुभयो । 

अध्यक्ष सापकोटाले किसानको घरघरमै माला तथा फूल सङ्कलक आएर लैजाँदा किसानले पनि कम पैसा पाउने र उपभोक्ताले पनि बढी तिर्नुपर्ने अवस्थाको अन्त्यका लागि स्थानीय सहकारी, किसान समूहले नै सङ्कलन गर्ने र बजारमा पु¥याउन सके किसान र उपभोक्ताले उचित मूल्य पाउन सक्थे । 

सूर्यविनायक नगरपालिका–७, गुन्डुस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले विगत तीन वर्षदेखि स्थानीय फूल व्यवसायी र सहकारीका महिला सदस्यका लागि सयपत्री फूलको खेतीका लागि बेर्नामा अनुदान दिँदै आएको छ । 

सो सहकारीका अध्यक्ष अम्बिका भण्डारीले यस वर्ष स्थानीय किसानका लागि ५५ हजार वटा सयपत्रीको बेर्ना वितरण गरेको जानकारी दिनुभयो ।