• १४ वैशाख २०८१, शुक्रबार

ताप्लेजुङका २३ मतदानस्थल ‘अति संवेदनशील’

blog

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ। तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज २७ गते। जिल्ला सुरक्षा समिति ताप्लेजुङले जिल्लाका २३ मतदानस्थललाई ‘अति सम्वेदनशील’ सूचीमा राखेको छ। मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएकामध्ये २३ मतदानस्थललाई जिल्ला सुरक्षा समितिले अति सम्वेदनशील सूचीमा राखेको हो। 

जिल्ला सुरक्षा समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार ७५ मतदानस्थलमध्ये २३ वटा मतदानस्थललाई अति सम्वेदनशील सूचीमा राखिएको हो। समितिले सामान्य अवस्थाको भनेर २९ मतदानस्थललाई औंल्याएको छ।

यसअघि वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा ७३ वटा मतदानस्थल कायम थिए। प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भने फुङ्लिङ नगरपालिका-९ हाङ्देवको शिव आधारभूत विद्यालय र मिक्वाखोला गाउँपालिका-५ पापुङस्थित सिम्बुक आधारभूत विद्यालयमा गरी दुई वटा मतदान स्थल थप भएका छन्। नयाँ भएका मतदानस्थल पनि सम्वेदनशीतलाको दृष्टिकोणले सामान्य अवस्थाको भएको सुरक्षा समितिले जनाएको छ।

समितिका अनुसार विगतका निर्वाचनमा भएका गतिविधि, भौगोलिक विकटता, सुरक्षा सम्वेदनशीलता लगायतका अवस्थालाई विश्लेषण गरी मतदानस्थलको वर्गीकरण गरिएको हो। विगतको निर्वाचनसँगै भविष्यमा हुनसक्ने गतिविधि समेतलाई आधार मानी मतदानस्थलको वर्गीकरण गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो।