• १५ वैशाख २०८१, शनिबार

एमाले उम्मेदवारको उम्मेदवारी फिर्ता

blog

पुष्कर भण्डारी

डडेल्धुरा, असोज २६ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुभएको छ । प्रतिनिधि सभातर्फ एक मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा एमालेका उम्मेदवार चक्रप्रसाद स्नेहीले उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।  

डडेल्धुरामा एमालेका स्नेहीसहित ५ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले बताउनुभयो । उहाँका अनुसार प्रतिनिधि सभातर्फ उम्मेदवारी दर्ता गर्नुभएका तीन र प्रदेश सभातर्फ उम्मेदवारी दर्ता गर्नुभएका दुई जनाले उम्मेदवारी फिर्ता गर्नुभएको छ । प्रतिनिधि सभातर्फ एमाले उम्मेदवार स्नेही, स्वतन्त्र उम्मेदवार दानबहादुर पाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कालिप्रसाद जोशीले उम्मेदवारी फिर्ता लिनुभएको उहाँले बताउनुभयो । 

यस्तै, प्रदेश सभा (क) मा नेपाली कांग्रेस बीपीका गणेश जोशी र प्रदेशसभा (ख) मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जयराज अवस्थीले उम्मेदवारी फिर्ता लिनुभएको छ । प्रतिनिधि सभातर्फ तीन जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएसँगै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेल्धुरामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित ८ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । 

देउवासँगै प्रतिनिधिसभा सदस्य पदमा कांग्रेस बीपीबाट कर्णबहादुर मल्ल, एमालेबाट बागी उम्मेदवार विक्रम शाही, राप्रपाबाट गोविन्द खडायत, जनता समाजवादी पार्टीबाट श्याम सिनाल, स्वतन्त्रबाट कर्णसिंह रावल, सागर ढकाल र लालबहादुर कठायत उम्मेदवार रहनुभएको छ ।

एमाले केन्द्रीय समितिबाट फिर्ता लिने आदेशपछि स्नेहीको उम्मेदवारी फिर्ता लिइएको एमाले डडेल्धुरा कमिटी सचिव गजेन्द्रबहादुर शाहीले बताउनुभयो । दुई वटा प्रदेशसभा क्षेत्रमा अब १२ जना उम्मेदवार रहनु भएको छ । सत्ता गठबन्धन दलबाट डडेल्धुरामा प्रदेश (क) मा माओवादी केन्द्रका खगराज भट्ट (ख) र कांग्रेसका गोविन्दराज बोहराको उम्मेदवारी छ । 

एमालेबाट प्रदेश (क) मा पठानसिंह बोहरा र (ख) मा गजेन्द्र शाही, प्रदेश (ख) मै नेकपा (एकीकृत समाजवादी) बाट बागी उम्मेदवार डा. तारा जोशीको उम्मेदवारी छ । प्रदेश (क) मा राप्रपाबाट पदमराज जोशी, स्वतन्त्र महेश धामी र धनबहादुर बोहराको उम्मेदवारी छ । प्रदेश (ख) मा राप्रपाबाट खेमराज पनेरु, जसपाबाट नरभान पार्की, स्वतन्त्रबाट तेजबहादुर कठायत र नवराज धितालको उम्मेदवारी छ ।