• १५ वैशाख २०८१, शनिबार

महेन्द्ररत्नलाई भलिबल उपाधि

blog

भलिबल उपाधिसहित महेन्द्र रत्न क्याम्पस टोली । तस्बिर : गोरखापत्र

काठमाडौं, असार ११ गते । महेन्द्ररत्न क्याम्पस ताहचलले प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । ताहचलस्थित घरेलु कोर्टमा शनिबार भएको फाइनल खेलमा महेन्द्ररत्नले रत्नराज्य लक्ष्मी क्याम्पसलाई ३–० को सोझो सेटमा हरायो । महेन्द्ररत्नले २७–२५, २५–२३, २५–२१ को जित निकालेको हो । 

७१औं मदन जयन्तीका अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रिय भलिबल विभागल आयोजना गरेको प्रतियोगितामा नेपाल कमर्स क्याम्पस तेस्रो भयो । कमर्स क्याम्पसले त्रिचन्द्र क्याम्पसलाई २५–१९, २२–२५, २५–१९, २५–२१ को सेटमा हरायो । 

उपाधिसंगै महेन्द्ररत्नले एक लाख रुपियाँ पुरस्कार पायो । उपविजेता रत्नराज्य लक्ष्मी क्याम्पसले ५० हजार र तेस्रो भएको नेपाल कमर्स क्याम्पसले २५ हजार रुपियाँ पुरस्कार पायो । महेन्द्ररत्नका हेमन्त मल्ल प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुनुभयो । 

सर्भरमा रत्नराज्यका रोहित थापा मगर, स्पाइकरमा रत्नराज्यका प्रदीप गुरुङ, ब्लकरमा कमर्सका सफल विक, सेटरमा कमर्सका सुवास कुँवर तथा लिफ्टरमा रत्नराज्य लवसन क्षेत्री उत्कृष्ट चुनिनुभयो । उत्कृष्ट सबैले नगद पुरस्कार प्राप्त गर्नुभयो । चारदिने प्रतियोगितामा ११ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव रमेशकुमार सिलवाल, राखेपका बोर्ड तथा कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, राखेपकी सदस्य चन्द्र बदाना राई, आयोजक विभागकी प्रमुख निलम वज्राचार्यलगायतले पुरस्कार प्रदान गर्नुभयो ।