• २१ वैशाख २०८१, शुक्रबार

पाठ्यपुस्तकमा निजीको मनोमानी

रङको तामझाम, मूल्यको भारी

blog

काठमाडौँ, जेठ २७ गते । निजी प्रकाशकहरूले बढी मूल्य कायम गरेर विद्यार्थीलाई पाठ्यपुस्तक भिडाउने गरेका छन् ।प्रतिपृष्ठका आधारमा पाठ्यपुस्तकको मूल्य निर्धारण गर्न पाउने सरकारी व्यवस्थाले निजी प्रकाशकहरूलाई बढी मूल्य लिन सहयोग मिलेको छ ।

पाठ्यक्रम विकास केन्द्रले श्यामश्वेत (एक रङ) को पाठ्यपुस्तकका लागि प्रतिपृष्ठ एक रुपियाँ १० पैसा, दुई रङका लागि प्रतिपृष्ठ एक रुपियाँ २५ पैसा र बहुरङ (रङ्गीन) का लागि प्रतिपृष्ठ एक रुपियाँ ४५ पैसा मूल्य निर्धारण गरेको छ । 

तर निजी प्रकाशकहरूले यो दरअनुसार मूल्य निर्धारण गरेका छैनन् । नियमन गर्ने निकायले पनि यसलाई देखेको नदेख्यै गर्छ । गत वर्ष पाठ्यपुस्तकसम्बन्धी देखिएका विकृतिबारे केन्द्रले त अध्ययन गरेको थियो तर त्यसको प्रतिवेदन नै हालसम्म पनि सार्वजनिक गरिएको छैन ।पुस्तक व्यापारमा अधिकांश निजी विद्यालयको बेग्लाबेग्लै प्रकाशनसँग सम्बन्ध हुन्छ । तिनीहरूले अभिभावकलाई तोकेकै प्रकाशन वा पसलमा तोकेकै मूल्यमा किन्न बाध्य पार्छन् । 

मेघा प्रकाशनले छापेको कक्षा ९ को सामाजिक अध्ययनको रङ्गीन पाठ्यपुस्तकमा ३८४ पृष्ठ छ । तोकिएको मूल्यअनुसार ५५६ रुपियाँ ८० पैसामा बिक्री गर्नुपर्नेमा सो पुस्तकमा ५८० रुपियाँ उल्लेख छ । अभिभावकले खरिद गरेको बिलमा पनि ५८० रुपियाँ नै उल्लेख छ ।

सोही प्रकाशनले छापेको कक्षा ९ कै गणितको पुस्तक ३२४ पृष्ठको छ । प्रतिपृष्ठ एक रुपियाँ ४५ पैसाका दरले ४६९ रुपियाँ ८० पैसा मूल्य लिनुपर्नेमा प्रकाशकले ४८५ रुपियाँ असुलेका छन् । वेदान्त प्रकाशनले छापेको कक्षा ९ को सामाजिक अध्ययनको पाठ्यपुस्तक पनि कायम रहेको मूल्यभन्दा सात रुपियाँ बढी लिइएको छ ।

विद्यार्थी पुस्तक भण्डारले कक्षा ९ को सामाजिक अध्ययनको पुस्तक २९८ पृष्ठको छापेको छ र यसको मूल्य ४३२ रुपियाँ १० पैसा कायम गर्नुपर्नेमा ४४७ रुपियाँ लिएको छ । पुस्तक प्रकाशन गृहले कक्षा ३ को २०८ पृष्ठ रहेको इङ्लिस रिडर ३०१ रुपियाँ ६० पैसामा बिक्री गर्नुपर्नेमा ३१८ रुपियाँ उल्लेख गरेको छ ।

तलेजु प्रकाशनले कक्षा ९ को अङ्ग्रेजी ग्रामर ३९४ पृष्ठमा छापेको छ र यसको बिक्री मूल्य ५७१ रुपियाँ ३० पैसा हुनुपर्नेमा ५८८ रुपियाँ असुलेको छ । ओएसिस पब्लिकेसनले दुई रङमा छापेको कक्षा १० को गणित (३६६ पृष्ठ) को बिक्री मूल्य ४५७ रुपियाँ ५० पैसा लिनुपर्नेमा ४७१ रुपियाँमा आँखा चिम्लिएर बिक्री गरिरहेको छ  । ऐरावत प्रकाशनले कक्षा ५ को मेरो प्यारो नेपाली २७८ रुपियाँ ४० पैसामा बिक्री गर्नुपर्नेमा २८५ रुपियाँ ढुक्कसँग असुलेको छ ।

मूल्य नै अङ्कित हुँदैन

सामान्यतः पुस्तक खरिद गर्दा कम्तीमा १० प्रतिशत छुट दिने चलन छ तर स्कुलले पाठ्यपुस्तकमा छुट दिने गरिएको छैन । पुस्तक पछाडि अङ्कित मूल्यमै खरिद गर्न अभिभावक बाध्य छन् ।

कतिपय पाठ्यपुस्तकमा त मूल्य नै अङ्कित छैन । जेबीडी पब्लिकेसन भोटाहिटीले छापेको पाठ्यपुस्तक देखाउँदै अभिभावक रेश्मा भट्टराईले भन्नुभयो, “किताबमा मूल्य छापिएको छैन । स्कुलले किताबसँग बिल पठाएको छ । अब खुरुक्क रकम बुझाउनुभन्दा अरू उपाय छैन ।

” सरकारी मुद्रक जनक शिक्षा सामग्री केन्द्रले छापेका पाठ्यपुस्तकमा पनि मूल्य उल्लेख छैन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष डीके ढुङ्गानाले पाठ्यपुस्तक पसल तोक्न नमिल्ने बताउनुभयो । 

आर्थिक भार

कक्षा १० सम्मकै पाठ्यपुस्तक रङ्गीन हुनुपर्ने नीतिका कारण पाठ्यपुस्तकको मूल्य बढ्न पुगेको छ । यस नीतिका कारण अभिभावक तथा विद्यार्थीले प्रतिपृष्ठ ३५ पैसाका दरले बढी रकम तिर्नुपरेको छ । 

सामाजिक अध्ययन विषयका पाठ्यपुस्तक लेखक तथा हात्तीवनस्थित लिटिल एन्जेल्स स्कुलका शिक्षक मात्रिका लम्सालले तल्लो तहका विद्यार्थीलाई बहुरङले आकर्षित गर्ने गरे पनि माथिल्ला कक्षामा यो आवश्यक नरहेको बताउँदै भन्नुभयो, “पाठ्यपुस्तक रङ्गीन हुँदैमा यसले सिकाइमा फरक पार्दैन ।”

नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधरले माथिल्लो तहमा रङ्गीन पाठ्यपुस्तक आवश्यक होइन भन्दै थप्नुभयो, “जनक शिक्षाले रङ्गीन छाप्दा त्यसको आर्थिक भार सरकारमाथि पर्छ । सरकारमाथि भार पर्नु भनेको करदातामाथि भार पर्नु हो । तसर्थ सुधार गर्नु बेस हुन्छ ।

” नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले पाठ्यपुस्तकका नाममा आर्थिक शोषण भएको फेला पारिएको बताउनुभयो ।पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले एक वा दुई रङको मात्र गर्दा सस्तो पर्ने भए पनि आकर्षण र पढ्न मन लाग्ने भएकाले पाठ्यपुस्तक रङ्गीन गर्नुपरेको दाबी गर्नुभयो ।