• १५ वैशाख २०८१, शनिबार

इच्छुकको स्मृति दिवसको अवसरमा अक्षयकोष घोषणा

blog

चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ १३ गते ।
प्रेस सेन्टर नेपाल ताप्लेजुङले कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसको अवसरमा दुई लाख रुपियाँको अक्षयकोष घोषणा गरेको छ । शुक्रबार इच्छुकको २० औं स्मृति दिवसको अवसर पारेर प्रेस सेन्टर नेपाल जिल्ला शाखाले अक्षयकोषको घोषणा गरेको हो ।

जिल्लामा उत्कृष्ट पत्रकारिता गर्ने पत्रकारलाई पुरस्कृत गर्नेगरी अक्षयकोषको स्थापना गरिएको प्रेस सेन्टर नेपाल ताप्लेजुङले जनाएको छ । प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष जीवन कालिकोटेका अनुसार अक्षयकोष रकमको ब्याजबाट आगामी वर्षदेखि पुरस्कार प्रदान गरिने छ ।

प्रेस सेन्टर नेपालमा आवद्ध सदस्य तथा अन्य महानुभावको सहयोगबाट अक्षयकोषको शुरुवात गरिएको पनि कालिकोटेले जानकारी दिनुभयो । आगामी दिनमा सबैको सहयोगबाट अक्षयकोषलाई थप व्यवस्थित गरिने र कोषबाट प्राप्त हुने ब्याज रकमले पत्रकारिता पुरस्कारसँगै अन्य रचनात्मक क्रियाकलाप गर्दै जाने उद्देश्य राखिएको समेत उहाँले बताउनुभयो । 

यता कृष्ण सेन इच्छुकको स्मृति दिवसमा अक्षयकोष घोषणा साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । प्रेस सेन्टर नेपाल जिल्ला शाखाले आयोजना गरेको अन्तक्रियामा नेकपा (माओवादी केन्द्र) प्रदेश १ समितिका सचिवालय सदस्य तथा ताप्लेजुङ सहइन्चार्ज मिङ्माडण्डु शेर्पालगायतले सेनले गरेको योगदानको चर्चा गर्नुभएको थियो ।

नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, समाजवादी प्रेस सङ्गठन लगायत सञ्चार संस्थाका जिल्ला नेतृत्व तथा प्रतिनिधिले अन्तक्र्रियामा आफ्नो भनाइ राख्नुभएको थियो । कार्यक्रममा शहीद कृष्ण सेन इच्छुकको तस्बिरमा माल्यार्पणसमेत गरिएको थियो ।