• १५ वैशाख २०८१, शनिबार

मुटुरोग परीक्षणसम्बन्धी शिविरबाट १५ सय बिरामी लाभान्वित

blog

अमृतप्रसाद पौडेल

बेनी, बैशाख १८ गते । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित निःशुल्क मटुरोग परीक्षणसम्बन्धी शिविरबाट कुल १५ सय जनाभन्दा बढी नागरिकले सुविधा लिएका छन् । शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको शिविरमा १ हजार ५ सय ५ जनाले मुटुको परीक्षण तथा औषधि उपचारको सेवा लिएका हुन् ।

सेभ द हार्ट काठमाडौंंको आयोजना एवम् म्याग्दीको ओमकुमारी शान्ति कोष, म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतार र ईशा फाउण्डेशनको सहआयोजना तथा मनमोहन कार्डियोथेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौंं, बेनी अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा म्याग्दी जेसीज, बरंजा छात्रवृत्ति अक्षयकोष, लायन्स क्लब अफ बेनी पिस सिटी, धौलागिरि कालिका हाईड्रो, म्याग्दी प्रवासी नेपाली सङ्घ मोना बहराईन र हङकङले सहयोग गरेका थिए ।

दुई दिनसम्म चलेको उक्त शिविरमा परीक्षण गरिएकामध्ये ४९ जनामा मुटुरोगको समस्या पहिचान भएकोमा ४१ जनाको तुरुन्तै उपचार गर्नुपर्ने देखिएको सेभ द हार्ट काठमाडौंका अध्यक्ष एवम् एशोसियट प्रोफेसर वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टराईले बताउनुभयो । शिविरमा ८ सय ६३ जनाको मुटुको इसिजी, २१ जनाको मुटुरोग पहिचान र १३ जनामा हार्टअट्याक पत्ता लागेकोमा १६ जना अप्रेसन गरेका बिरामीको फ्लोअप उपचार गरिएको जानकारी दिनुभयो ।

शिविरमा मुटुमा समस्या देखिएका बिरामीलाई काठमाडौंमा उपचार गर्न बोलाइएको आयोजकको भनाइ छ । साथै उच्च रक्तचापका बिरामी पनि म्याग्दीमा उल्लेख्य भेटिएको डाक्टर भट्टराईले बताउनुभयो । शिविरमा म्याग्दीसहित छिमेकी जिल्ला पर्वत, बागलुङ र मुस्ताङबाट सेवा लिन बिरामीहरु आएका थिए । शिविरमा चेकजाँचको क्रममा मुटुको केही न केही समस्या देखिएकाले आगामी दिनमा पनि शिविर सञ्चालन गर्नुपर्ने अवस्था रहेको डा. भट्टराईले बताउनुभयो । 

उपचारमा खट्ने चिकित्सकसहित स्वास्थ्यकर्मी टोलीलाई कदरपत्र, सहयोगीदातालाई सम्मान र स्वयंसेवकलाई प्रशंसापत्र प्रदान गरिएको थियो । चिकित्सक, सहयोगी र स्वयंसेवकलाई सम्मान गर्दै ओमकुमारी शान्ति कोष म्याग्दीका अध्यक्ष राजेश शाक्यले भविष्यमा जिल्लाका सर्वसाधारण नागरिकलाई लक्षित गरेर विभिन्न किसिमका स्वास्थ्य शिविरहरु निःशुल्क रुपमा सञ्चालन गरिने जानकारी दिनुभयो ।

शिविरमा निःशुल्क रुपमा मुटुको परीक्षण, इको कार्डियोग्राफी, इसिजी र औषधी वितरण गरिनुका साथै परामर्श सेवा पनि उपलब्ध गराइएको थियो । शिविरमा विशेषज्ञ डाक्टर, चिकित्सक, स्टाफनर्स, स्वास्थ्यकर्मीसहित ४० जनाको टोलीले बिरामीको उपचार गरेको थियो । सेभ द हार्टको आयोजनामा हालसम्म नेपालको २३ वटा जिल्लामा निःशुल्क मुटुरोगको शिविर आयोजना गरिएको बताइएको छ ।