• १६ वैशाख २०८१, आइतबार

‘सुन साइँला’ ले चम्काएकी सपना

blog

काठमाडौँ, चैत २ गते । मिठो स्वरकी धनी सपना सुनामलाई नेपाली लोकदोहोरी क्षेत्रमा निकै चर्चा बटुल्न सफलता मिलेको छ । उहाँको नेपाली साङ्गीतिक क्षेत्रमा १३ वर्षदेखि सक्रियता रहँदै आएको छ । यस अवधिमा उहाँले दुई दर्जनभन्दा बढी गीतमा आवाज दिइसक्नुभएको छ । तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोकदोहोरी अवार्डबाट विजेता सपनाले सफलताको यो शिखर चुम्न जीवनमा धेरै सङ्घर्ष गर्नु पर्‍यो । 

ओखलढुङ्गाको सामान्य गाउँदेखि काठमाडौँका दोहोरी साँझ हुँदै उत्कृष्ट गीत गाएर दर्शकको मन मनमा बस्न सफल सपनाको सुमधुर स्वर सुन्ने जो पनि मोहित हुने गरेका छन् । २०६७ सालबाट कलाकारितामा प्रवेश गरेकी सपनाले २४ वटा लोकगीत गाएर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ओखलढुङ्गा अध्यक्षको जिम्मेवारी बहन गरिसक्नुभएको छ । भुल्थेँ सारा पीडा र दुःख, आकाशको जुन छुन पाए त, जान्न मत बर्दिया टाढा छ, तिसौँ पैसा चालिसौँ लाथ्यौँ गुन, तारा झारिदिन्छु (म्युजिक भिडियो) मा उहाँको स्वर रहेको छ । औँठाछाप, सुन साइँली, जिन्दगानी आखिर के रै छ र, ओखलढुङ्गैमा, बग्यो खोली आँसु बनेर, के छ खबर भन्नेलाई ठिकै छ, भक्तपुरको जुजु धौ, न कालापानी हाम्रै हो लिपुलेक हाम्रै हो, यस्तै छ जिन्दगीलगायत दर्जनौँ लोकगीतमा स्वर दिनुभएकी सपनाको राष्ट्रको लोकगीत संस्कृतिको रक्षा एवं विकास गर्ने सपना बोकेर दिनरात मेहनत गरिरहनुभएको छ । भारतको कोलकातामा कार्यक्रम गरिसक्नुभएको उहाँले नेपालमा दर्जनौँ  स्टेजमा आफ्नो प्रस्तुति दिइसक्नुभएको छ ।

कर्मलाई सर्वोपरि  सम्झने उहाँ कहिल्यै सम्मान पुरस्कारको पछि लाग्नुभएन । तै पनि उहाँले तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोकदोहोरी अवार्ड हात पार्नुभयो । चार वटासम्म देउडा वा ठाडी भाका रेकर्ड गर्न पनि उहाँले भ्याउनुभयो । साङ्गीतिक सिर्जनामा व्यस्त उहाँले आगामी दिनमा झनै जिम्मेवारीका साथ लोक संस्कृतिको जगेर्ना र त्यसको उत्तरोत्तर प्रगतिका लागि लाग्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।