• १६ वैशाख २०८१, आइतबार

नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्त्वपूर्ण स्थल

blog

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करणको उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै । तस्बिर : भेषराज कार्की/रासस

काठमाडौं, चैत १ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्त्वपूर्ण स्थल भएको बताउनुभएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सुरु भएको सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्नुहुँदै उहाँले छायाङ्कन स्थल र कथावस्तु दुवै हिसाबले नेपाल चलचित्रका लागि महत्त्वपूर्ण स्थल भएको बताउनुभयो ।

‘‘हिमाल, पहाड र तराईको भौगोलिक विविधताको अनुपम सङ्गम हुनुका साथै प्राकृतिक र सांस्कृतिक हिसाबले विश्वमै समृद्ध मुलुक नेपाल चलचित्र छायाङ्कनका लागि महत्त्वपूर्ण स्थल हो ।,’’ मन्त्री शर्माले भन्नुभयो, ‘‘यहाँका रमणीय प्राकृतिक सम्पदाको सामीप्यतामा गरिने छायाङ्कन मात्र होइन, कहिल्यै पराधीन बन्नु नपरेको नेपाल राष्ट्रको गौरवशाली इतिहास तथा सामाजिक सांस्कृतिक सम्पदाको अखण्ड विरासत चलचित्रका लागि महत्त्वपूर्ण कथावस्तु पनि हुन् ।’’


मानव जातिका दुःखका कारण र यसको समाधानको विधि पत्ता लगाएर विश्वलाई सुख र शान्तिको सन्देश दिने गौतम बुद्धको जन्मस्थल नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक रहेको औँल्याउँदै उहाँले नेपाली संस्कृतिको अभिन्न अङ्गको रूपमा रहेका मूर्त र अमूर्त सबै सम्पदाहरू चलचित्रका महत्त्वपूर्ण कथावस्तु र छायाङ्कनका लागि मनोरम स्थल रहेको बताउनुभयो ।

नेपाली चलचित्रले यहाँको सामाजिक, सांस्कृतिक, आर्थिक समुन्नति तथा आपसी सद्भाव कायम गर्न ठुलो योगदान दिँदै आएको उल्लेख गर्दै मन्त्री शर्माले थप्नुभयो, ‘‘नेपाली चलचित्र क्षेत्रलाई मर्यादित, व्यावसायिक बनाउन र मौलिक एवम् स्तरीय नेपाली चलचित्र निर्माणमा अभिप्रेरित गर्न तथा यसको बजारीकरणमा समयसापेक्ष विकास गर्दै लैजान सबैको उत्तिकै योगदान र सकारात्मक भूमिका अपरिहार्य रहन्छ ।’’

अब नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारीकरणमा ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिँदै मन्त्री शर्माले उच्चतम प्रविधिको प्रयोग गरेर गुणस्तरीय चलचित्र बनाउने र विश्व बजारमा नेपाली चलचित्रलाई विस्तार गर्ने दुवै काम महत्त्वपूर्ण भएको बताउनुभयो ।

‘‘नेपाली चलचित्रको विश्वव्यापी बजारीकरणले एकातिर चलचित्र क्षेत्रको आर्थिक उन्नयनमा टेवा पुग्नेछ भने अर्कोतिर पूर्वीय संस्कृतिको प्रवर्द्धन र विस्तारमा सहयोग पुग्नेछ,’’ मन्त्री शर्माले भन्नुभयो, ‘‘सूचना प्रविधिका कारण सिर्जित विश्वव्यापीकरणले नेपालजस्ता प्राचीन मुलुकहरूको मौलिक संस्कृति लोप हुने खतरा बढ्दै गएको छ । त्यसो हुन नदिन हाम्रा मौलिक संस्कृतिसँग जोडिएका कथावस्तुमा धेरैभन्दा धेरै चलचित्र निर्माण गर्ने र त्यसको अन्तर्राष्ट्रिय बजारीकरणमा ध्यान दिनुपर्ने आवश्यकता छ ।’’


सरकारले नेपाली चलचित्र क्षेत्रलाई थप रचनात्मक र सिर्जनशील बनाउन सहयोग पुग्ने गरी  स्टोरी बैङ्क स्थापना र ऐतिहासिक चलचित्र तथा वृत्तचित्र निमार्णलाई प्रोत्साहन, काभ्रेमा चलचित्र छायाङ्कन स्टुडियो र दोलखा चलचित्र नगरी आयोजना, बाल चलचित्र महोत्सव जस्ता कार्यक्रम अघि सारेको जानकारी दिँदै उहाँले यो वर्षदेखि चलचित्रको माध्यमबाट सामाजिक सांस्कृतिक रूपान्तरणमा योगदान पुर्‍याउने चलचित्रकर्मीहरूलाई सम्मानको कार्यक्रम पनि थालिएको बताउनुभयो ।

सरोकारवालासँगको परामर्शमा चलचित्र क्षेत्रसँग सम्बन्धित कानुन परिमार्जनमा सरकारले गृहकार्य सुरु गरेको जानकारी दिँदै मन्त्री शर्माले यस क्षेत्र आउने नीति र कानुनमा विरोध र समर्थन मात्रै भन्दा रचनात्मक सुझाव पनि विज्ञ र सरोकारवालाहरूलाई आग्रह गर्नुभयो । महोत्सव चैत ५ गतेसम्म चल्ने छ ।

नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्त्वपूर्ण स्थल नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्त्वपूर्ण स्थल नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्त्वपूर्ण स्थल नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्त्वपूर्ण स्थल