• १३ साउन २०८१, आइतबार

आगलागीबाट तीन घर जलेर नष्ट

blog

धनकुटा नगरपालिका–१० धर्मशालामा भएको आगलागी । तस्विर : कविराज घिमिरे

कबिराज घिमिरे 

हिले, चैत १ गते । धनकुटा नगरपालिका–१० धर्मशालामा आगलागी हुँदा तीन घर पूर्णरुपमा जलेर नष्ट भएको छ । दुई घरमा आंशिक क्षति पुगेको छ । 

स्थानीय कमला मोक्तानको घरबाट करिब १०:३० मा आगलागी सुरु भएको थियो । चुल्होमा रहेको आगोबाट दाउरामा सल्किएर आगलागी भएको प्रहरीको अनुमान छ । आगो अढाई घण्टापछि करिब नियन्त्रणमा आएको छ । 


आगलागीबाट कमला मोक्तानको एक तथा मेहरमान मोक्तानको दुई वटा घर जलेर पूर्णरुपमा नष्ट भएको स्थानीयको भनाइ छ । त्यस्तै, चन्द्रकुमारी अधिकारी र रत्न ठाडा मगरको घरमा आंशिक रूपमा क्षति पुगेको छ । 

आगो नियन्त्रणमा लिन अधिकारी र मगरको घर भत्काइएको प्रहरीले जनाएको छ । घरमा रहेका अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालयका इन्चार्ज नारायण भट्टराईले जानकारी दिनुभयो । 

मेहरमान मोक्तानको घरमा रहेको किराना पसल समेत जलेर पसलको सबै सामग्री नष्ट भएका छ । आगलागीबाट करिब ४० लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । 


आगो स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेनासहित पाख्रीबास र धनकुटा नगरपालिकाको दमकल सहयोगमा नियन्त्रणमा लिएको धनकुटा नगरपालिका १० का वडाध्यक्ष नगेन्द्र पाण्डेले जानकारी दिनुभयो ।