• १३ असोज २०८१, आइतबार

प्रदेशस्तरीय ब्याडमिन्टनमा तेह्रथुमका नवीन र विवेकको जोडी प्रथम

blog

प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताका विजेता खेलाडीसहितको सामूहिक तस्बिर।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत १ गते। ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा सम्पन्न प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगितामा तेह्रथुमका नवीन सिलवाल र विवेक कन्दङ्वाको जोडी प्रथम भएको छ। 

पाँचथरका दीपक आङ्देम्बे र दिवस शङ्खरको जोडीलाई हराउँदै मेन्स डबल सिनियरतर्फ नवीन र विवेकको जोडी प्रथम भएको हो।

प्रथम अर्थात विजेता बनेको नवीन र विवेकको जोडीले ३० हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र हात परेको छ। उपविजेता बनेको पाँचथरका दीपक र दिवसको जोडीले ट्रफी, पदक र प्रमाणपत्रसाथ नगद २० हजार रुपियाँमा चित्त बुझाउनुपरेको छ।

यस्तै मेन्स डबल भेट्रान्स (४५ वर्षमाथि) तर्फ पाँचथरको गणेशबहादुर राई र दीपक आङ्देम्बेको जोडी प्रथम भएको छ। ताप्लेजुङको सन्तोष चोङ्बाङ र गजेन्द्र थलङको जोडीलाई हराउँदै विजेता बनेको गणेशबहादुर र दीपकको जोडीले ट्रफी, पदक र प्रमाणपत्रसहित २० हजार रुपियाँ नगद पुरस्कार पाएको छ। उपविजेता बनेको सन्तोष र गजेन्द्रको जोडीले नगद १५ हजार रुपियाँ प्राप्त गरेको छ।

सरकारी कर्मचारी डबलतर्फ आयोजक पाथीभरा याङ्वरक गाउँपालिकाका शिवकुमार काम्बाङ र केशव पौड्यालको जोडी प्रथम भएको छ। मिक्वाखोला गाउँपालिकाका गजेन्द्र थलङको जोडी द्वितीय भएको छ। यस खेलमा प्रथम र द्वितीय बनेका खेलाडीले क्रमशः ट्रफी, पदक, प्रमाणपत्रसहित नगद २० हजार रुपियाँ र १५ हजार रुपियाँ प्राप्त गरेका छन्।

त्यस्तै मिक्स डबलतर्फ प्रेम माबो र भावनादेवी केदेमको जोडी प्रथम तथा लासाङ तामाङ र शिवकुमार काम्बाङको जोडी द्वितीय बनेको छ। प्रथम बनेको जोडीलाई १५ हजार र द्वितीयलाई १० हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक, प्रमाणपत्र प्रदान गरिएको छ। यसैगरी ब्याडमिन्टन प्रतियोगितामा मेन्स डबल जुनियर, मेन्स डबल स्थानीय तहजस्ता खेलको वर्गीकरण गरी प्रतिस्पर्धा गराइएको थियो।

पाथीभरा याङ्वरक गाउँपालिकाले आफ्नो सातौं स्थापना दिवसको अवसरमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो। 

आइतबार सुरु भई बुधबार सम्पन्न भएको प्रतियोगिताका बिजेतालाई गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, उपाध्यक्ष रनमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत अभिषेक घिमिरे लगायतले पुरस्कार वितरण गर्नुभयो। गाउँपालिकाका अनुसार प्रतियोगितामा ३० जोडीभन्दा खेलाडीले विभिन्न वर्गअन्तर्गतका खेलमा सहभागिता जनाएका थिए।