• १३ साउन २०८१, आइतबार

'विद्यार्थी खोजौँ र विद्यालय बचाऔँ' अभियान सुरु

blog

गुणबहादुर रोका 

सुलीकोट, चैत १ गते । गोरखाको भीमसेन थापा गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न चैत १ गतेबाट लागु हुने गरी चैत १५ गतेसम्म ‘विद्यार्थी खोजौँ र विद्यालय बचाऔँ’ अभियान सुरु गरेको छ । 

बुधबार गाउँपालिकाको कार्यपालिका बैठकको निर्णय अनुसार सामुदायिक विद्यालयलाई थप व्यवस्थित र प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।

गाउँपालिकाले सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्न सूचना जारी गरिसकेको छ । गाउँपालिका भित्रका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षक अभिभावक सङ्घका पदाधिकारीका बालबालिकाहरूलाई आगामी शैक्षिक सत्रबाट अनिवार्य आफ्ना बाबु नानीहरूलाई सामुदायिक विद्यालयमा भर्ना गर्न सूचनामार्फत गाउँपालिकाले जानकारी गराएको छ । 

साथै गाउँपालिकाले पालिका भित्रका ८ वटा वडाका भित्रका सार्वजनिक पद धारण गरेका शिक्षक, कर्मचारी, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक सङ्घका पदाधिकारी लगायतका बालबालिकाहरू निजी वा संस्थागत विद्यालयमा अध्ययनरत छन् ती सबैको विवरण चैत १५ गते भित्र गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा घ्याम्पेसालमा पठाइदिनु हुन भनी अनुरोध गरी पत्राचार गरेको छ । 

आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गराई सामुदायिक विद्यालयको विकास र व्यवस्थापनमा विशेष योगदान गर्न गाउँपालिकाले सबै पिलकाबासीलाई हार्दिक अपिल समेत गरेको हो । सरकारले बनाएको बाटो राम्रो, सरकारी जागिर राम्रो, सरकारले बनाएको धारा पाटी पौवा राम्रो, तर सामुदायिक विद्यालयमा पढाउन नराम्रो भन्नी प्रचलन चिर्न पालिकाले यस्तो योजना ल्याएको उहाँले बताउनुभयो । 

बालबालिकालाई शिक्षामा गुणस्तरीय कायम गर्न गाउँपालिकाले जस्तो सुकै पनि सहयोग गर्न तयार रहेकाले बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउने काम अभिभावकको र उत्कृष्ट शिक्षा दिने काम गाउँपालिकाको भएकाले निर्धक्क भएर सामुदायिक विद्यालयमा आफ्ना बाबुनानीहरुलाई पढाउन गाउँपालिकाका अध्यक्ष बन्जराले गाउँवासीलाई अनुरोध गर्नुभएको छ ।