• १५ वैशाख २०८१, शनिबार

हेलिकोप्टरबाट नुन ढुवानी

blog

खडिखेतबाट सिमकोट विमानस्थलमा हेलिकोप्टरबाट ढुवानी भएर आएको नुन अनलोड गरिँदै । तस्बिर : राजन रावत

हुम्ला चैत १ गते । सल्ट ट्रेडिङ कर्पोरेसनको ढुवानी अनुदानको नुन हेलिकोप्टरबाट ढुवानी कार्य सम्पन्न  भएको छ । दश दिनयता माउन्टेन एयरको हेलिकोप्टरले सो नुन ढुवानी सम्पन्न गरेको हो ।

कर्पोरेशनद्वारा यस वर्षको निर्धारित कोटाको आयोडिन युक्त नुन ढुवानीको जिम्मा पाएको माउन्टेन एयरका प्रतिनिधि रामचन्द्र भुसालले ढुवानी कार्य सम्पन्न भएको बताउनुभयो । सुर्खेतबाट पैदल मार्गमा ट्रकमा ढुवानी भएर आएको नुन सर्केगार्ड गाउँपालिका–६ को खडिखेतमा ढुवानी भएर आएको नुन सो स्थानबाट भने हेलिकोप्टरले ढुवानी गरेको हो । उहाँले ढुवानी सुरु गरेको दस दिनमा दैनिक तीस उडान भरेर नुन ढुवानी गर्ने कार्य भएको बताउनुभयो ।

कर्पोरेसनका हुम्ला प्रमुख राजबहादुर लामाले यस वर्षको एक हजार ६८४ क्विन्टल नुन ढुवानी भएको बताउनुभयो । विगतमा नुन ढुवानी कार्य ढिलो हुने गरेको थियो । यस वर्ष हेलिकोप्टरले जिम्मा लिएको कारण छोटो समयमा ढुवानी कार्य भएको हो । हेलिकोप्टरले एक उडानमा सात क्विन्टल नुन ढुवानी गर्ने गरेको छ । खडिखेतदेखि सिमकोट विमानस्थलसम्म एक सटलमा चौध मिनेट समय लाग्ने गरेको छ । यसअघि कर्पोरेनको पैदल मार्गको कोटाको नुन एक हजार सात ७७० क्विन्टल ढुवानी भएर आइसकेको छ । 

सो नुन ताँजाकोट, अदानचुली, सर्केगार्ड र चङ्खेली गाउँपालिकालाई बिक्री गरिएको छ । हुम्ला जिल्लामा ढुवानी अनुदानको नुन भएको कारण प्रतिकेजी नौ रुपियाँमा बिक्री हुने गरेको छ । 

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।