• ११ मंसिर २०८१, मङ्गलबार

‘कामबाट प्रमाणित गर्न प्रतिबद्ध छु’

blog

सम्माननीय सभामुख महोदय,

नेपाली कांग्रेसले सरकारमाथिको समर्थन फिर्ता लिएपछि संविधानतः विश्वासको मत लिन म यो रोस्ट्रममा उभिएको छु । सरकार पुनर्गठन र नयाँ समीकरणको आवश्यकताबारे मैले यसअघि नै सम्मानित सांसदलाई जानकारी गराइसकेको छु । त्यसको औचित्य आज यो सम्मानित संसद्मा भाषणबाट होइन, मेरा कामबाट प्रमाणित गर्न प्रतिबद्ध छु । त्यसका लागि यो सार्वभौम संसद्को विश्वास चाहन्छु ।

प्रधानमन्त्रीका रूपमा मैले समस्याग्रस्त अर्थतन्त्र जिम्मा लिएको थिएँ । अर्थतन्त्र सुधारका लागि म सुरुदेखि नै अनवरत रूपमा लागेँ । पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकांश सूचक राम्रा हुँदै गएका छन् । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा २९७ अर्ब ७२ करोड रुपियाँले शोधनान्तर बचत छ भने विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले वृद्धि भई झन्डै १८ खर्ब ४५ अर्ब रुपियाँ बराबर पुगेको छ । व्यापार घाटा १.८ प्रतिशतले घटेको छ । आन्तरिक अर्थतन्त्रतर्फ सात महिनाको अवधिमा मुद्रास्फीति ५.१ प्रतिशतमा सीमित गरिएको छ भने कर्जा प्रवाह ४.७ प्रतिशतले बढेको छ । यो तालिकालाई सरकारको ठुलो उपलब्धिका रूपमा व्याख्या गर्न नसकिने होइन तर आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा अपेक्षित प्रगति हुन सकेको छैन । पुँजीगत खर्च पनि अपेक्षा अनुसार बढाउन सकिएको छैन । राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजनालाई थप द्रुतता दिने, पुँजीगत खर्च बढाउने र सार्वजनिक सेवा प्रवाहमा थप सुधार गर्ने मेरो उद्देश्य छ । प्रशासन यन्त्रलाई चुस्तदुरुस्त बनाउनु, प्रव्रिmयागत अवरोध हटाउनु र निजी क्षेत्रको क्षमताको पूर्ण उपयोग हुने वातावरण सिर्जना गर्नु मेरो प्राथमिकता हुने छ ।

बैङ्‍क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्‍कहरूको आधार ब्याजदर एकल अङ्‍कमा आएको छ भने ऋणको ब्याजदर पनि घटेको छ । व्यापार घाटामा कमी आएको छ तर निर्यात बढाउन सकिएको छैन । विप्रेषण त बढेको छ तर योसँगै भित्रिने सिप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउन सकिएको छैन । 

मेरो भारत भ्रमणका क्रममा १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्यका साथ दीर्घकालीन जलविद्युत् सम्झौताको प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको छ । हाम्रो समृद्धिका लागि यो नेपाली इतिहासकै सबैभन्दा ठुलो र दूरगामी महत्वको सहमति हो भन्ने मेरो विश्वास छ । भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि हामी विद्युत् व्यापारको नजिक पुगेका छौँ । नेपालबाट बङ्‍गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुँदै छ । चीनतिर पनि विद्युत् व्यापारको ढोका खुल्दै छ । यो पनि सानो उपलब्धि होइन तर यो सम्भावना हासिल गर्न हामीले विद्युत् पूर्वाधारमा निकै धेरै काम गर्नु छ । 

जलवायु न्याय र समानताको अवधारणामा नेपालले अब आफूलाई विश्वमञ्चको केन्द्रमा ल्याएको छ । संयुक्त राष्‍ट्रसङ्घका महासचिवको नेपाल भ्रमण र दुबईमा सम्पन्न ‘कोप–२८’ मा नेपालको प्रस्तुतिबाट हामीले सन्देश दियौँ, अब जलवायु सङ्कटबाट प्रभावित पर्वतीय मुलुकहरूको आवाजलाई नेपालले नेतृत्व गर्ने छ । 

सरकारका उपलब्धिको सूची सानो छैन तर देशका आवश्यकता र सम्भावना हासिल गर्न यति उपलब्धि पर्याप्त थिएनन् । म प्रधानमन्त्रीका रूपमा जस्तो सङ्कल्पका साथ सक्रिय थिएँ, टिम त्यही गतिको नभएको मेरो अनुभव रह्यो । सरकारको गेयर परिवर्तन गर्ने हो भने सरकार र गठबन्धन पुनर्गठन गर्नैपर्ने मेरो बाध्यता रह्यो । 

सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि नेपाली कांग्रेसका केही साथीहरूले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो । खासमा म यी आक्षेपहरूको ठुलो प्रतिवाद गर्न चाहन्नथेँ । निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद् उपयुक्त ठाउँ होइन भन्ने मेरो मान्यता थियो र छ । अझ आज विश्वासको मत लिने दिनमा त यस्तो विषयमा प्रवेश नै नगर्नु राम्रो हुने थियो तर संसदीय रेकर्डमै रहेका आरोपको प्रतिवाद नगर्दा इतिहासमा गलत सन्देश जाला भन्ने चिन्ताले मात्रै म आफ्नो पक्ष राख्न चाहन्छु । 

नेपाली कांग्रेसका साथीहरूले कुनै बेला यही रोस्ट्रममा उभिएर मलाई राजनेता घोषणा गर्नुभएको थियो । मेरो त्यो पदवी अहिले पनि सम्मानित संसद्को रेकर्डमा सुरक्षित छ । त्यही राजनेता सरकार पुनर्गठनसँगै आज ठुलो विश्वासघाती र धोकेबाज भएको छ । निरन्तर सङ्घर्षरत नेपाली कांग्रेसभित्रका विचार समूहहरूले युद्धविराम नै गरेर मप्रतिको निन्दा अभियानमा प्रतिस्पर्धा गरिरहेका छन् । पछिल्लो एक वर्षमा कांग्रेसका विचार समूहहरूको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट आजित भएको म आज कांग्रेसभित्रको आन्तरिक एकत्वको कारक बन्न पाएकोमा खुसी नै छु । साथीहरूलाई आग्रह छ, यो युद्धविरामलाई स्थायी शान्तिमा बदल्नुस् र नेपाली कांग्रेसलाई एकीकृत गर्नुस् । त्यसो हुँदा ममाथिको अन्यायपूर्ण निन्दा पनि कांग्रेसका लागि योगदान नै हुन सक्छ । 

विगतमा म नेपाली कांग्रेसको समर्थनमा केवल एक पटक प्रधानमन्त्री भएको छु तर माओवादी केन्द्रको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुई पटक प्रधानमन्त्री हुनुभएको छ । मैले राजनीतिक सहमतिको पूर्ण पालना गर्दै प्रधानमन्त्री पद नेपाली कांग्रेसलाई हस्तान्तरण गरेको थिएँ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीमा मलाई दिएको वचनमा विश्वासघात ग¥यो । आज मलाई गाली गरिरहेका साथीहरूलाई म सोध्छु, मैले कहिल्यै यो संसद् र बाहिर धोकाको शोकगीत गाएँ ? मैले कहिल्यै कसैलाई आरोप लगाएँ ? मैले कहिल्यै कुनै कार्यक्रममा नेपाली कांग्रेसका साथीहरूको मानमर्दन गरेँ ? गरिनँ । मैले त बरु राष्ट्रिय सहमतिको आधार तयार गर्न नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गरेँ । त्यसले मलाई प्रधानमन्त्री बनाएको गठबन्धनमा अविश्वास पैदा भयो । धोकाको आरोप बरु मलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका दलहरूले लगाउन मिल्छ, नेपाली कांग्रेसले मिल्दैन । 

धोकाकै कुरा गर्ने हो भने हामीसँग लामो फेहरिस्त छ । माओवादीले मुख्यमन्त्री पाउने सहमति भइसकेको कोशी प्रदेशमा कांग्रेसको एउटा समूहको विद्रोह र पार्टी केन्द्रबाट त्यसको अनुमोदन माओवादीका लागि धोका थियो कि थिएन ? राष्ट्रिय सभा निर्वाचनमा माओवादी उम्मेदवारमाथिको अन्तरघात धोका थियो कि प्रेम ? महासमिति बैठकमा बिना सन्दर्भ गठबन्धनको निन्दा र भत्र्सना सहयात्रीको अवमूल्यन हो कि होइन ? महासमिति बैठकमा धर्मका नाममा हस्ताक्षर अभियान र त्यसलाई नेतृत्वको संरक्षण संविधानमाथिकै धोका हो कि होइन ? तर म यस्ता विषयको निजीकरण गर्न र नेतृत्वमाथि व्यक्तिगत आव्रmमण गर्न चाहन्नँ । राजनीतिक विषयको प्रतिवाद राजनीतिक ढङ्गबाटै हुनु पर्छ । नेपाली कांग्रेसका साथीहरूबाट पनि म त्यही अपेक्षा गर्दछु । 

यावत् आक्षेपकै बिचमा पनि म फेरि दोहो¥याउँछु, प्रधानमन्त्रीका रूपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासकै लागि प्रतिबद्ध छु । अहिलेको शक्ति विन्यासमा हामी सबैको स्वामित्व र अपनत्व छ । राष्ट्रपति हुनुहुन्छ, नेपाली कांग्रेसको पृष्ठभूमिबाट । उपराष्ट्रपति हुनुहुन्छ जनता समाजवादी पार्टीबाट । सभामुख हुनुहुन्छ, नेकपा (एमाले) को पृष्ठभूमिबाट । राष्ट्रिय सभा अध्यक्ष हुनुहुन्छ माओवादी केन्द्रको पृष्ठभूमिबाट । उपसभामुख हुनुहुन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीको पृष्ठभूमिबाट । सबैको सम्मानपूर्ण यो प्रतिनिधित्वमा मेरो निर्णायक भूमिका छ र त्यसमा मलाई गर्व छ । सम्मानित संसद्लाई मेरो अपिल छ, राष्ट्रिय समस्याहरूको समाधानका लागि पनि हामी सबै एक ठाउँमा उभिनै पर्छ र राष्ट्रका सम्भावना हासिल गर्न पनि हामीले राष्ट्रिय एकता कायम गर्नै पर्छ । 

सभामुख महोदय,

सरकार गठनमा सहभागी दलहरूबिच न्यूनतम साझा कार्यक्रमका लागि कार्यदल बनेको छ र सम्भवतः आज बेलुकासम्म त्यो सार्वजनिक हुने छ । त्यही कार्यव्रmम सरकार सञ्चालनको मूल आधार हुने छ । सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धि सरकारको मूल अठोट हुने छन् । राजस्वको लक्ष्य पूरा गर्न, पूँजीगत खर्च बढाउन र बेरुजु घटाउन सरकारले नयाँ कार्यक्रम ल्याउने छ । आर्थिक गतिविधिको विस्तार र समष्टिगत आर्थिक स्थायित्व सरकारको प्राथमिकता हुने छ । 

सरकार पुनर्गठनसँगै पुँजीबजारमा आएको सकारात्मक परिवर्तनलाई मैले सरकारप्रति जनअनुमोदन र समर्थनका रूपमा बुझेको छु । सोमबार मात्रै मिटर ब्याज पीडितहरूसँग चारबुँदे सहमति भएको छ । वित्तीय अनुशासन, प्रशासनिक खर्चमा मितव्ययिता, उत्पादकत्व वृद्धि र राजस्व चुहावटमा स्थायी नियन्त्रणबाट राष्ट्रको आर्थिक जीवनलाई अझ बलियो बनाउने सरकारको अठोट छ । रोजगारी सिर्जना र आयात प्रतिस्थापन सरकारका प्राथमिकता हुने छन् । पर्यटनमा अहिले देखिएको सुधारलाई कायम राख्दै पर्यटक सङ्ख्या कम्तीमा दोब्बर बनाउने लक्ष्य लिइने छ । वैदेशिक रोजगारीमा जानेलाई बैङ्कको ऋणको व्यवस्था गरिने छ  र स्वदेश फर्केकालाई पनि सिप अनुसारको व्यवसायका लागि सुलभ ऋणको ग्यारेन्टी गरिने छ । सङ्घीयता कार्यान्वयन, राष्ट्रिय हितको रक्षा गर्ने स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन सरकारको प्रतिबद्धता हुने छ । शान्ति प्रव्रिmयाको निरूपण सरकारको प्राथमिकता हुने छ । सार्वजनिक सेवा प्रवाह चुस्त र नागरिकमैत्री हुने छ । राज्यका सबै संरचनामा सदाचार र जवाफदेहिता कायम गरिने छ । अहिले सु्न्दा अविश्वसनीय लाग्ला तर निजी क्षेत्रसमेतको सहभागितामा हजारौँ उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गरिने छ । 

संविधानको भावनाविपरीतका थरीथरीका विचलन रोक्न म संसद्सँग विश्वासको मत माग्दछु । अर्थतन्त्रमा व्यावसायिक वातावरण सुधार गर्न, राजनीतिक अस्थिरताले सिर्जना गरेको सामाजिक अराजकता, आक्रोश र नकारात्मक सोचमा परिवर्तन ल्याउन पनि सरकारले विश्वासको मत पाउन जरुरी छ । पछिल्ला सबै आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै राष्ट्रियता, स्वाभिमान र सार्वभौमसत्ताप्रति गौरवबोध गर्न मलाई संसद्को समर्थन चाहिएको छ । 

म सम्मानित संसद्लाई विश्वास दिलाउँछु हजारौँ नयाँ स्टार्टअप र उद्यमशीलता केही महिनामै सुरु हुने छन् । आत्मनिर्भरताको व्यवस्थित प्रयास हुने छ । म सरकारलाई तथ्याङ्क केन्द्रित गर्ने छु । देशमा महामारीका रूपमा फैलिएको पलायन र निराशा रोक्ने छु । सुशासनमा अहिलेसम्म भएका प्रयासले लोकतन्त्रप्रति जनताको आस्था पुनःस्थापित गरेका छन् । तिनमा गुणात्मक परिवर्तन ल्याइने छ । सार्वजनिक सेवा प्रवाह र सुशासनबाट नागरिकमा राज्यप्रति भरोसा जगाइने छ । सुस्त कर्जा प्रवाह, मध्यमवर्गीय उपभोगमा आएको गिरावट र पुँजीगत खर्चको न्यूनता अन्त्य गर्न नीतिगत सुधार गरिने छ । 

सभामुख महोदय,

मैले निरन्तर भनिरहेको छु, अघिल्लो सत्ता–गठबन्धनमा म व्यक्तिका रूपमा अप्ठ्यारोमा थिइनँ । प्रधानमन्त्री पद पनि असुरक्षित थिएन । सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल नगरेको पनि होइन तर देश आज औसत उपलब्धिहरूमा रमाउन सक्ने अवस्थामा छैन । औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गर्नभन्दा जोखिम उठाएरै भए पनि देश र जनताको हितमा युगान्तकारी काम गर्ने मेरो सङ्कल्प छ । आउँदा दिनमा सरकारका काम र परिणामबाट म त्यो प्रमाणित गर्ने छु । मेरो प्रतिबद्धतामा यो सम्मानित संसद्ले विश्वासको मोहोर लगाउने छ भन्ने मेरो विश्वास छ । धन्यवाद ।

(सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा फागुन ३० गते प्रतिनिधि सभामा विश्वासको मत लिनुअघि गरिएको सम्बोधन)