• १४ मंसिर २०८१, शुक्रबार

सचेत भएर कलम चलाउन आग्रह

blog

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन ३० गते । पत्रकारले लेख्ने सामग्रीले देशको प्रतिष्ठामा फरक पार्ने हुनाले सचेत भएर कलम चलाउन पर्ने सरोकारवालाहरुले आग्रह गर्नुभएको छ । प्रेस काउन्सिल नेपालमा बुधबार नयाँ सूचीकरण भएका अनलाइनका सञ्चालक र सम्पादकका लागि भएको अभिमुखीकरण कार्यक्रममा सरोकारवालाले सो सुझाव दिनुभएको हो ।

नेपाल पत्रकार महासङ्घका महासचिव रोसन पुरीले पत्रकारले लेख्ने समाचार सामग्रीले समग्र देशको प्रतिष्ठामा फरक पार्ने बताउनुभयो । आफूले लेख्ने सामग्रीबाट देशलाई अहित नहोस् भन्नेतर्फ पत्रकार सचेत भएर कलम चलाउन आवश्यक रहेको उहाँको भनाइ छ । पत्रकारले बदनियतपूर्वक लेख्ने वा अन्य कुनै काम गरे त्यस्ता कामले देशकै बदनाम हुने उहाँको चिन्ता छ ।अभिमुखीकरण कक्षामा महासचिव पुरीले पत्रकार आचारसंहिताका बुँदाबारे प्रष्ट पार्नुभयो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य रामप्रसाद दाहालले पत्रकारले आफ्नो धर्म बिर्सन नहुने बताउनुभयो । सत्य र सन्तुलित समाचार दिनु पत्रकारको मुख्य धर्म भएको उहाँको भनाइ छ । 

पत्रकार आचारसंहितासँग जोडिएका विभिन्न निर्देशिकाका प्रावधानबारे प्रष्ट पार्दै उहाँले पत्रकारिताको मर्मअनुसार नचले त्यो पत्रकार भइरहन नसक्ने बताउनुभयो । ३५ वटा अनलाइनका सञ्चालक र सम्पादकको सहभागिता रहेको कार्यक्रमको सहजीकरण काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले गर्नुभएको थियो । कार्यक्रममा सहभागीले उठाएका जिज्ञासाको जवाफ दिँदै सहप्रशासकीय अधिकृत बोहराले काउन्सिलले उजुरी र स्वअनुगमनका आधारमा सञ्चार माध्यमका सामग्रीमाथि अनुगमन गरिरहेको बताउनुभयो ।

काउन्सिलले २०७८ चैतदेखि नयाँ सूचीकरण हुने अनलाइनका सञ्चालक र सम्पादकलाई अभिमुखीकरण दिँदैआएको छ । हालसम्म ११ सय बढी अनलाइनका २ हजार बढी सञ्चालक र सम्पादकले यस्तो कक्षा लिएका छन् ।

पछिल्लो समय युट्युबमार्फत् भ्रमपूर्ण अतिरञ्जित सामग्री सम्प्रेषण गर्ने र समाचार हुबहु सार्ने (कपि एण्ड पेस्ट) समस्या बढेपछि काउन्सिलले सुक्ष्म अनुगमनलाई पनि तीव्र बनाएको छ ।