• ११ मंसिर २०८१, मङ्गलबार

विद्यालयमा सिसी क्यामरा

blog

मैवाखोला माध्यमिक विद्यालयमा सिसी क्यामरा जडान।

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन ३० गते। शैक्षिक गुणस्तर तथा व्यवस्थापनमा सुधार गर्ने उद्देश्यसहित ताप्लेजुङको मैवाखोला गाउँपालिकाका विद्यालयमा सिसी क्यामरा जडान गर्न थालिएको छ। शैक्षिक सुधारका लागि विद्यालयमा सिसी क्यामरासँगै बायोमेट्रिक इ–हाजिरी र स्मार्ट बोर्डसमेतको व्यवस्था गर्न सुरु गरिएको हो।

पछिल्लो समय खस्किँदै गएको शैक्षिक अवस्थालाई दृष्टिगत गरी शिक्षा क्षेत्रलाई गुणस्तरीय, व्यवस्थित, अनुशासित तथा मर्यादित बनाउनसमेत विद्यालयमा सिसी क्यामरा लगायतका प्रविधि जडान गरिएको हो। 

मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघुको मैवाखोला माध्यमिक विद्यालय तेम्बेमा सिसी क्यामरा जडान गरिएको छ। विद्यालयका अनुसार विद्यालय परिसर, कार्यालय, कक्षाकोठा लगायतको निगरानी गर्न सकिने गरी क्यामरा जडान गरिएको हो।

यसअघि मैवाखोला गाउँपालिका–३ साँघुस्थित नारायणी नमुना माध्यमिक विद्यालयमा सिसी क्यामरा, इ–हाजिरी र स्मार्टबोर्ड जडान गरिएको छ। गाउँपालिकाको नमुना विद्यालय विकास कार्यक्रमअन्तर्गत सिसी क्यामरा लगायतका प्रविधि जडान गरिएको पालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो। 

अध्यक्ष वनेमका अनुसार नेपाल सरकारको नमुना विद्यालय विकास तथा शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत नारायणी मावि साँघुमा सिसी क्यामरा जडान गरिएको थियो। उहाँले गाउँपालिकाको छुट्टै नमुना विद्यालय विकास कार्यक्रमअन्तर्गत मैवाखोला माविमा पनि उक्त प्रविधि जडान गरिएको जानकारी दिनुभयो। पालिकाभित्रका अन्य माध्यमिक विद्यालयमा पनि क्रमशः इन्टरनेट सेवा विस्तार गरी नमुना विद्यालय विकास कार्यक्रम लागू गर्दै जाने गाउँपालिकाको योजना रहेको अध्यक्ष वनेमले बताउनुभयो।