• १३ साउन २०८१, आइतबार

डढेलो नियन्त्रणमा आएन

blog

सल्ला वनमा लागेको डढेलो । तस्बिरः रेखीराम राना

रेखीराम राना

तानसेन, फागुन ३० गते । जिल्लाको रिव्दीकोट–४, भैरवस्थान मन्दिरनजिक लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । दुई दिनदेखि मन्छिप सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा नआएको हो ।  

स्थानीय वन समूहका उपभोक्ता, जनप्रतिनिधि, सुरक्षा निकाय मिलेर वनमा लागेको डढेला नियन्त्रणमा लिए पनि पुनः डढेलो फैलिएको स्थानीय बासिन्दाले बताएका छन् । सो सामुदायिक वनमा १० हेक्टर क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी संयोग बस्नेतले जानकारी दिनुभयो । 

यो वर्ष हालसम्म तीनवटा सामुदायिक वनमा डढेलो लागेको छ । रिव्दीकोट भैरवस्थाननजिक रहेका मन्छिप, मसुरे र तुल्सीगैरा सामुदायिक वनमा डढेलो लाग्दा २७ हेक्टर वन क्षेत्र सखाप बनेको उहाँले बताउनुभयो । 

डढेलो नियन्त्रणका लागि जनचेतना अभिवृद्धि, डढेलो लगाउने कारण पत्ता लगाउने काम भइरहेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । मन्छिप सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आउन नसक्दा बस्तीमा आगो पस्ने त्रास फैलिएको स्थानीय बासिन्दा तुलबहादुर अधिकारीले बताउनुभयो । सल्लाको वनमा लागेको डढेलो नियन्त्रण गर्न समस्या परेको उहाँले बताउनुभयो ।