• ११ मंसिर २०८१, मङ्गलबार

समाज बदल्न युवा भूमिका

blog

विश्वविद्यालयबाट कहिल्यै दीक्षित हुन नपाएका एप्पल तथा पिक्सार एनिमेसनका प्रमुख कार्यकारी स्टिभ जब्स स्टान्फोर्ड विश्वविद्यालयको दीक्षान्त समारोहमा विशिष्ट वक्ताका रूपमा निम्त्याइए । दीक्षित युवामा भविष्यप्रति आशा र प्रेरणा जगाउन उनले आफ्नै कथा ‘कनेक्टिङ द डट’ लाई मार्मिक ढङ्गले प्रस्तुत गरे । भविष्यको निर्माण भनेको छरिएका बिन्दुहरूबिच सम्भावना खोजेर सरल रेखा बनाउनु जस्तै हो । दुःखद अवस्थालाई पृष्ठभूमिमा राखेर, परिस्थितिमा सम्भावना खोजेर, तिनलाई आशामा जोडेर एउटा वृत्तिपथ बनाउन सकिन्छ, बिन्दुहरू जोडेर सरल रेखा बने जस्तै । विश्वविद्यालय त भविष्य निर्माण गर्ने औपचारिक प्रतिष्ठान नै भए तर मस्तिष्कको प्रयोगशाला र मनको भावनालाई जोड्ने युवा आफ्नो भविष्य निर्माण गर्दागर्दै समाजको पुनर्निर्माण पनि गरिरहेका हुन्छन् । 

टेक्सास विश्वविद्यालयकी एन्थोनी ग्याल्सावाका अनुसार युवाभित्र उनीहरूले चाहेको विश्व हुन्छ, उनीहरूलाई सशक्तीकृत गरेर नै त्यो विश्व प्राप्त गर्न सकिन्छ । मस्तिष्कमा लुकेको विम्बलाई बाहिर ल्याउन प्रेरणा र वातावरण चाहिन्छ, संस्था र सरकारले गर्नुपर्ने त्यही हो । स्टिभ्स जब्सको मस्तिष्कमा रहेको विश्व (विम्ब) आजका युवाले उपभोग गरिरहेका डिजिटल ग्याजगेट्समा देखिएको छ । जब्स प्रतिनिधि पात्र मात्र हुन्, सबै युवामा सपना हुन्छ, सबैका सपना अर्थ खोजिरहन्छन् । एउटा सफलताले अर्को सफलतालाई सहज बनाउँछ र अर्को सफलतालाई आमन्त्रण गर्छ । गुगलका प्रमुख कार्यकारी सुन्दर पिचाइ वा इमेल सर्जक साविर भाटियाले देखेको सपना र सपना प्राप्तिको कथा जब्सका जस्तै छन् । नेपालका महावीर पुनको सपनाले इनोभेसन दियो, सन्दुक रुइतका सपनाले जीवन ज्योति । युवा वय सपना र साधनाको उर्वर अवस्था हो । 

सन् २००० पछि विश्वका प्रमुख व्यापारिक घरानाले प्रमुख कार्यकारी नियुक्तिमा युवालाई प्राथमिकतामा राखे । महाप्रबन्धक भनिने पदलाई प्रमुख कार्यकारी अधिकृतले विस्थापन ग¥यो । महाप्रबन्धकहरू सेवा उत्पादनको प्रबन्ध र बजारको व्यवस्थापनमार्फत नाफा कमाउँथे । प्रमुख कार्यकारी अधिकृतहरूले त्यति गरेर नपुग्ने भयो । परम्परागत प्रविधिमाथि चुनौती दिई निरन्तर नवप्रवर्तन परिवर्तन गरी उपभोक्ता स्वाद र सन्तुष्टि विस्तार गर्नुपर्ने दायित्व थपियो, प्रतिस्पर्धात्मक वातावरणमा आफैँसँग पनि स्पर्धा गरी औचित्य सिद्ध गर्नुपर्ने भयो । जसका लागि युवा नै कार्यकारी जिम्मेवारीमा पुग्नुपर्ने छ । किनकि सपना देख्ने सोच र सपना पूरा गर्ने सामथ्र्यमा युवाशक्ति अब्बल मानिन्छ । 

लगानीकर्ताको चाखलाई भन्दा उपभोक्ताको विश्वासलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष १०० बहुराष्ट्रिय कम्पनीका प्रमुख कार्यकारी अधिकृतको डाभोस भेलाले घोषणा गर्न पुग्यो । अब प्रमुख कार्यकारी अधिकृत कर्मचारीको सामान्य भूमिका इनोभेसन, इथिक्स र इन्स्पाइरेसनको रोल मोडेलमा स्तरोन्नति भयो । समुदायका मानिस मिलेर खोलिएको डेजार्डियन सहकारी युवा गाइ कोर्मिएरको नेतृत्वमा ‘आगामी पुस्ताका लागि हाम्रो प्रतिबद्धता’ को आदर्श स्थापित गरी क्यानडाको ठुलो रोजगारदाता बनेको छ । केही अघि ओपन एआईको प्रमुख कार्यकारीमा साम अल्टम्यानको पुनर्नियुक्तिले त्यो पनि पुष्टि ग¥यो कि प्रमुख कार्यकारीले आफ्नो दृष्टिकोणमा काम गर्छ, जागिर खाँदैन । 

गुुगलका सुन्दर पिचाइ, फेसबुकका मार्क जुकरवर्ग, माइक्रोसफ्टका सत्य नादेला, ओराकलकी साफ्रा काज, सेल्सफोर्सका मार्क विनिएफ, रिजेनेरनका लियोनार्ड स्लाइपर्ड, नेटफ्लिक्सका रिड ह्यास्टिङ, एन्भेडियाका जेनसेन हुआङ, एप्पलका टिम कुक, टेस्ला–स्पेस एक्सका एलोन मस्क उत्कृष्ट सिइओ आफ्ना युवाकालका सपना र त्यसलाई पूरा गर्ने अथक प्रयासका कारण बनेका हुन् । अमेजनका जेफ विजोसको दिमागी नतिजाले उनलाई ई–कमर्सको पायोनिएर बनायो, किताब बेच्ने कामबाट सुरु गरेको व्यवसायलाई किन्डल प्रविधिले भौतिक किताब नै विस्थापन गरिदिए । फायर फोनमा उनको सपना नभत्किएको भए थ्रिडी प्रविधि मानिसका हात हातमा हुने थियो । 

असफलताबाट सिक्दै सफलता विस्तार गर्ने अभियानले युवालाई प्रेरणाको बाटो देखाइरहेको छ । त्यसैले युवा शिक्षालाई सोच, सिप र सामथ्र्य विकासको आधार मानिरहेका छन्, आफूहरूलाई त्यो सामथ्र्यमा पु¥याउने शिक्षा मागिरहेका छन् । ठुलो उपाधिको शिक्षाभन्दा सिप र सिर्जना दिने शिक्षा मागिरहेका छन् । साठीको दशकमा ली क्वान युले ‘टिच लेस लर्न मोर’ को शिक्षा नीति लिएर सिङ्गापुर निर्माणको इतिहास रचे । कोरियामा पार्क चुुङ हीले १९६५ को दशकमा, चीनका देङ सियाओ पेङले १९७८ को दशकमा र २००० को दशकमा भारतीयले यो कुरा राम्ररी बुझे र युवा उपयोगको नीति ल्याए । परिणामतः यी मुलुक आर्थिक वृद्धिमा छन् । जुन मुलुक युवालाई सपना देख्न प्रेरणा गर्छ, त्यहाँका युवाले त्यो देशको पहिचान र परिभाषा नै बदलिन्छन् । 

स्टिभ जब्सको दीक्षान्त भाषणको सार विद्यार्थी समय खेर नफाल, आफ्नै सोचमा बाँच र अन्तरात्माको आवाज सुन, त्यसैलाई माया गर र कर्मबाट वृत्तिको फराकिलो मार्ग बनाऊ भन्ने हो । संयुक्त राज्य अमेरिकाले समुदायको परिवर्तनका लागि युवा परिचालन नीति लिएर लोकतन्त्रलाई धरातलमा संस्थागत गरेको कुरा सन् १८३२ मा नै फ्रेन्च नियात्राकार आलेक्सी डे टुकेभेलीले बताएका थिए । अमेरिकी बहुराष्ट्रिय कम्पनी युवा सोचको परिणाम हो । युवा सोचलाई कसरी प्रोत्साहन दिनु पर्छ भन्ने बुझेकै कारण अमेरिका अवसरको भूमि बनेको छ । अहिले पनि त्यहाँ नेक्स्ट जेनेरेसन कोएलिसन, स्टेम एजुकेसन, इनोभेटिभ गभर्नमेन्ट जस्ता रणनीतिमार्फत २५ वर्षमुनिका युवालाई प्रोत्साहन गरिएको छ । 

नेपालले पनि युवा शक्तिलाई उपयोग गर्ने अभिष्ट नराखेको होइन । पञ्चायतकालमा युवा शक्ति उपयोग गर्ने परस्पर प्रतिस्पर्धी दुई रणनीति थिए । प्रतिबन्धित लोकतान्त्रिक र वामपन्थी दलहरूले विद्यालय, विश्वविद्यालय, कारखाना र पेसा व्यवसाय स्थलहरूका युवामार्फत राजनीतिक शक्ति गोलबन्द गरी लोकतन्त्र स्थापना गर्ने सोचका साथ सङ्गठन गरेका थिए । पञ्चहरूको भने युवा परिचालन नीति चीनका देङको जस्तै थियो । पञ्चायत युवा विश्वास जित्न सक्षम भएन, युवा शक्ति उपयोगका नाममा राज्यस्रोतको दुरुपयोग गरियो । 

प्रतिबन्धित दल लोकतन्त्रको स्थापनाको पहिलो लक्ष्य पूरा गर्न सफल भए तर त्यसपछि युवा परिचालनभन्दा उपयोग गर्न उद्यत देखिए । परिणामतः युवाशक्तिको पहिचान नै भएन । अहिले पनि दलहरूसँग ठुलो युवाशक्ति छ, जुन सामथ्र्य पहिचानमा भन्दा दलीय स्वार्थ रक्षामा उपयोग छ । राजनीतिमा लागेको ठुलो युवा जमात भविष्य निर्माणको उत्साहमा होइन, नेताका अनुयायी बनेर आफ्नो र राष्ट्रको भविष्य निर्माणमा अलमलिएको छ । यसले परम्परा र विकृतिप्रति आक्रामक बन्ने युवा चरित्र नै उल्टाइदिएको छ । 

नेपालको शिक्षामा तहसोपान छ, शिक्षा आफैँ विभाजक बन्यो । शिक्षा, श्रम, सिप र समृद्धिको रचनात्मक सम्बन्धबाट बाहिरियो । सामथ्र्य नदिने शिक्षा व्यक्तिको लागि भार बन्ने नै भयो । ठुलो गर्भबाट जन्मेका, प्लेस, बर्थप्लेस र वंश प्रिमियम पाएकाहरू शासक र त्यो नपाएका सर्वसाधारणका सन्तान शासित र श्रमिक वर्गमा परेपछि स्वतन्त्रता र लोकतन्त्र देखावटी बन्न पुग्छ । नेपाली समाजमा अहिले पनि जातीय, वर्गीय, लिङ्गीय, भाषिक, साम्पत्तिक र वंशगत तहसोपानले जरा गाडेको छ, जन्मँदै भूमिकाको सीमाङ्कन देखिन्छ । 

यस अवस्थामा युवाले आफूभित्रको सपना पूरा गर्न ठुलो सङ्घर्ष गर्नु पर्छ, जुन स्टिभ जब्स, सुन्दर पिचाई, जेफ विजोसको सङ्घर्षभन्दा कैयन् गुणा ठुलो हुन्छ । यस अवस्थामा युवाशक्ति खेर जान्छ, पलायनको बाटो रोज्छ, कुण्ठा र विग्रह जन्माउँछ, अराजक बन्न बेर लगाउँदैन । त्यसैले युवाशक्तिको उन्नयनका लागि घर घरदेखि समुदाय, समाजदेखि राष्ट्रिय तहसम्मको विनिर्माण आवश्यक छ । बुझ्नुपर्ने के हो भने युवाशक्तिलाई धेरैबेर ढाकेर राख्नुहुन्न, आशा र सपना थुनिनु हुन्न । प्रेरणा र प्रोत्साहन गर्नु पर्छ । नेतृत्वको अर्को नाम नै आशाको निर्माण हो । 

ठुला राजनीतिक दलको साङ्गठनिक पृष्ठभूमि नै युवाशक्ति हो । वैकल्पिक शक्तिका नाममा स्थापित दल युवाकै बाहुल्यमा छन् । सबै दलको संस्थापित सोच शास्त्रीय छ, तथ्य, सिद्धान्त र सूत्रभन्दा कथामा ध्यान दिनु र आरोप संस्कृति विकास गर्नु प्रवृत्ति बनेको छ । नेपाली कांग्रेसले केही अघि १८–४० वर्षका युवालक्षित पोलिसी ह्याक्थन आयोजना गरी सानो सुरुवात गरेको थियो । ह्याक्थनमा गिग इकोनोमी र जलवायु दुई विषय समावेश थिए । ‘गिग वर्कर’ युवालाई परेको बाधा फुकाउन र जलवायु परिवर्तनसँग जुध्ने क्षमताका लागि स्थानीय, वित्तीय तथा नीति आधार पहिचान गर्न ह्याक्थनले केही सुरुवात ग¥यो । अन्य दलबाट पनि यस्तै नीतिशाला आयोजना गरेर रोजगारी र उत्पादनका लागि सम्भावना क्षेत्र उघार्ने काम हुनु पर्छ ।

युवा परिचालनमा नेपाल पोलिसी इन्स्टिच्युट जस्ता प्राज्ञिक मञ्च परिचालित हुन थालेका छन् । युवाको चाख, चाहना र प्राथमिकताले उनीहरू नेपालमा मात्र बसिरहेका छैनन् । बाध्यता र प्रदर्शन प्रभावले पनि नेपालबाहिर बस्ने युवाको सङ्ख्या निरन्तर बढेर नेपाली मन मुटु १७८ मुलुकमा पुगिसक्यो । बाध्यता आफ्नो ठाउँमा छ, व्यक्तिको स्वतन्त्रतालाई पनि सम्मान गर्नु पर्छ । 

नेपाल आमाले जन्माएका, हुर्काएका, सिप शिक्षामा लगानी गरेका, अझ कति त नेपालको सार्वजनिक सेवामा रहेर दक्षता कमाएका मानिस बाहिरिएका छन् । यो उचित थियो, थिएन भन्ने बहसभन्दा भएको अवस्थालाई स्वीकारेर कसरी फाइदा लिने भन्ने विषयमा ध्यान दिनु जरुरी छ । निरन्तर फैलिएको भर्चुएल नेपालबाट भौगोलिक नेपालले लाभ लिनु पर्छ । बाहिरिएको क्षमता र ज्ञान पनि नेपालकै हो, यसलाई नेपालको हितमा प्रयोग गर्न नेपाल पोलिसी इन्स्टिच्युटले विश्वव्यापी ज्ञान सञ्जाल खडा गरेको छ । जहाँ रहे पनि नेपाली मनले नेपालका लागि काम गर्न सक्छ र गर्नु पर्छ भन्ने अभिप्रायले सुशासन, शिक्षा, समावेशिता विकास र जलवायु परिवर्तनका क्षेत्रमा ज्ञानको सहजीकरण गर्ने काम सुरु भएको छ । सानो भए पनि यस्ता अभियानले राष्ट्र र डायस्पोराबिच सम्बन्ध सूत्रको काम गर्न सक्छन् । 

युवा अवस्था सम्भावना र जोखिमको अवधि हो । युवा छिटै आक्रोश, कुण्ठा र निराशामा पुग्छन् । युवाको स्वभावले स्थापित प्रक्रियाप्रति असहमति जनाउँछ; जसले सधैँ सृजनात्मक तनाव ल्याउँछ भन्ने छैन । युवावय आफैँमा अवसर खोज्ने, नयाँ जान्ने, उत्सुकता र कौतूहल हुर्काउने र परिवर्तनप्रति चाहना राख्ने गर्दछ । यी स्वभावजन्य चुनौतीलाई सकारात्मक रूपमा सम्बोधन गरेर नै युवाशक्तिको उपयोग गर्न सकिन्छ । उनीहरूको एटिच्युड सिफ्ट हुने अवस्थालाई सकारात्मक रूपमा लिएर व्यक्तित्व विकास र उत्साहलाई प्रेरणा दिने कार्य गर्न सकिएमा युवाशक्तिले समाज र राष्ट्रको परिभाषा बदलिदिन्छ ।   

Author

गोपीनाथ मैनाली