• २१ वैशाख २०८१, शुक्रबार

महिला फुटबलरको सफलता सराहनीय : गगन थापा

blog

फाइल तस्बिर ।

काठमाडौँ, फागुन २८ गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कठिन अवस्थामा नेपाली महिला फुटबल खेलाडीले प्राप्त गरेको सफलता सराहनीय भएको बताउनुभएको छ । भर्खर बाफ महिला च्याम्पियनसिप फुटबलको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई साेमबार सम्मान गर्दै नेता थापाले यस्तो बताउनुभएको हो । 

लोयल्टी एकेडेमीले मन्डिखाटारमा एक कार्यक्रमबिच च्याम्पियनसिपको उपविजेता टोलीका २३ खेलाडी र आठ अफिसियललाई तीन लाख ६१ हजार आठ सय रुपियाँ बराबरको सम्मान गरेको हो । टोलीलाई नेता थापा र लोयल्टीका संस्थापक विजय साम्बाहाम्फेले सम्मानपत्र र नगदसहित सम्मान गर्नुभयो । 

लोयल्टीले बाफ च्याम्पियनसिप खेल्ने प्रत्येक खेलाडीसहित सम्मान गरेको छ । सोही टोलीका प्रशिक्षक राजेन्द्र तामाङ, सहायक प्रशिक्षक उज्ज्वल मानन्धर, गोलकिपर प्रशिक्षक उज्ज्वल मानन्धरसहित अफिसियललाई जनही पाँच हजार एक सय रुपियाँबाट सम्मान गरियो । 

गत फेब्रुअरी २९ मा साउदी अरेबियामा सम्पन्न बाफ च्याम्पियनसिपको फाइनलमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा ५–३ गोलले पराजित भएको थियो । नेपालले आमन्त्रित टोलीको रूपमा बाफ खेलेको हो ।