• १५ वैशाख २०८१, शनिबार

लोप हुँदै चर्खा

blog

लोप हुने अवस्थामा पुगेको चर्खा चलाउँदै हुम्लाका एक महिला । तस्बिर: गोरखापत्र

हुम्ला, फागुन २७ गते । कपासको धागो बटारने चर्खा लोप हुने अवस्थामा पुगेकाे छ । कपासबाट तयार भएका कपडाहरू स्थानीयले लगाउन छोडेपछि कपास खेती हराएको कारण चर्खा लोप भएका हुन । 

अदानचुली गाउँपालिका– १ को कल्खे गाउँका नरजित महताराले घरघरमा कपासको धागो तयार गर्ने चर्खाहरू हाल लोप भएको बताउनुभयो । उहाँले नयाँ चर्खा निर्माण नहुने र घरघरमा भएका पुराना चर्खा जीर्ण अवस्थामा पुगेको बताउनुभयो । ती चर्खाहरू घरमा कवाडी सामानका रूपमा रहेका छन् । उहाँले पहिले एउटै घरमा सात वटासम्म चर्खा हुने गरेको बताउँदै यसबाट स्थानीयले धागो तयार गर्ने गरेका चर्खाहरू इतिहासमा परिणत भएको बताउनुभयो । उहाँले पहिले कपास खेती गाउँभरि हुने गरेको कारण कपास उत्पादन धेरै हुने गरेको बताउनुभयो । तर अहिले यसरी कपासबाट तयार भएको कपडाबाट ( ठेटुवा ) तयार हुने महिला तथा पुरुषका कपडा प्रयोग हुन छोडेपछि कपास खेती हराएको बताउनुभयो ।

दक्षिणी हुम्लाका साबिकका श्रीनगर, कालिका, मैला र मदाना गाउँ विकास समितिका स्थानीयले स्थानीय उत्पादन भएका कपडाबाट उत्तरी हुम्लाका बिक्री गरेर राम्रो कमाई गर्दै आउनु भएको थियो । पहिले यी सबै क्षेत्रमा कपास खेती राम्रो हुने भएको कारण खेती गरिएको जग्गा सेताम्मे देखिने गर्थ्यो । अदानचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहले तर अहिले ती कपडाहरू लगाउनै छोडेको कारण स्थानीयको आम्दानी घटेको र कपडाका लागि धागो तयार पार्न छोडिएको बताउनुभयो । यसको संरक्षण हुनु आवश्यक रहेको बताउँदै उहाँले स्थानीय बासिन्दाहरूले स्थानीयले आफ्नै परम्परागत सीपबाट तयार पारिएका कपडा लगाउने चाहाना राख्नु आवश्यक रहेको बताउनुभयो ।

कपडाको प्रयोग गर्न छोडिएपछि कपास खेती हराएको कारण धागो तयार पार्ने परम्परागत चर्खा पनि लोप हुनु स्वाभाविक भएको उहाँले बताउनुभयो । उहाँले हाल चर्खाको प्रयोग हुन छोडेपछि पछिल्लो पुस्ताले यसको बारमा जानकारी समेत पाउन मुस्किल हुने बताउनुभयो । यसले गर्दा स्थानीयको सीप र प्रविधि हराएको छ भने आम्दानीको राम्रो श्रोत गुमेको छ । स्थानीय कपडा हराएपछि अहिले महिलाले लगाउने गाउन र अविवाहित युवतीले लगाउने दौडा पनि लोप हुने अवस्थामा पुगेको छ । 

लोप हुँदै चर्खा लोप हुँदै चर्खा लोप हुँदै चर्खा
Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।